कुनै जङ्गलको बीचमा एक पोखरी थियो। जङ्गलको पानीको मुख्य स्रोत बनेको पोखरी वर्षैभरी जङ्गलका सम्पुर्ण जनावरहरूलाई पानीको आपुर्ति गर्दथ्यो। अझ पोखरीको वरीपरी दलदले जमिनले बनाएको सिमसार अनि त्यसको पाखामा भएको सुख्खा जमिन त्यहाँका रैथानेहरूको लागि स्वर्ग थियो।

पोखरीमा जलचरहरू आनन्दले बसेका थिए। दलदले जमिनमा कहिले पोखरीको छेवैमा, कहिले बाहिर घाम तापेर सिमसारका रैथानेहरू तथा उभयचरहरू विचरण गरिरहेका थिए। कहिले जङ्गलभित्र आहाराको खोजीमा कहिले दलदलको चिसो माटोमा लडिबुडी खेल्दै, कहिले जङ्गलका रूखैरूख सोइसल्ला खेल्दै अनि थकान तथा तिर्खा मेट्न पोखरीको पानीको शीतलताले तृप्त हुँदै अन्य जङ्गली जनावरहरू आरामसाथ बसिरहेका थिए। पानीभित्रबाट जलचरहरू र बाहिरबाट उभयचर तथा स्थलचरहरू आफ्नो दुःख-सुख साटासाट गर्थे। उनीहरूको मित्रताको उपमा दिइन्थ्यो। जङ्गलमा शान्ति थियो।

त्यस जङ्गल अनि पोखरीको नजिकैको अर्को एक पोखरीमा केही गोहीहरू बस्ने गर्दथे। वर्षामास पानीले भरिभराउ हुने पोखरी वर्षको अधिकतम समय सुख्खा रहन्थ्यो। कताकति भएको छिपछिपे पानीको सहायताले जसोतसो सुषुप्तावस्था पार गर्ने गर्दथे। सकसपूर्ण जीवनबाट छुटकारा पाउन गोहीहरूको समूहले एउटा नाइके छान्यो र जङ्गलमा वैकल्पिक वासस्थान खोज्नको लागि पठायो। नाइकेले जङ्गलको बीचको पोखरी आफूहरूको निमित्त उपयुक्त भएको ठहर गऱ्यो र समूहमा खोजको प्रतिवेदन पेश गऱ्यो। समूहका केही अन्य सदस्यहरूले त्यहाँका रैथानेहरूको मेलमिलापको बारेमा जानकार भएकाले आफूहरूले त्यहाँ प्रवेश पाउने कुरामा शंका गरे। नाइकेले भन्यो मित्रहरू त्यसको लागि मलाई दुई दिनको समय दिनुहोस म त्यसको व्यवस्था गर्नेछु।

भोलि पल्ट बिहानै नाइके जङ्गल तिर आफ्नो कूटनैतिक भ्रमणका लागि प्रस्थान गऱ्यो। बिहान जङ्गलका स्थलचरहरू भेला गराएर आफ्ना कुराहरू राख्यो। दिउँसो उभयचर तथा सिमसारका जनावरहरूसँग वार्ता गऱ्यो र साँझ जलचरहरूसँग भेटघाटको चाँजोपाँजो मिलायो र रात पर्दा नपर्दै आफ्नो पोखरी तर्फ फर्क्यो।

भोलिपल्ट बिहान जङ्गलमा मानौँ कुनै प्रलय भयो। एक हुल उभयचरहरू पोखरीभित्र पसेर जलचरहरूसँग घमासान गर्नथाले भने अर्को हुल स्थलचरहरूसँग भिड्न थाले। स्थलचरहरूले पनि सिमसारका जनावरहरूमाथि उपद्रो मच्चाए। इतिहासले नदेखेको रक्तपात भयो। हेर्दाहेर्दै शान्त जङ्गल मसानघाट बन्यो। गोहीको योजना सफल भयो दोस्रो दिन रात पर्दा नपर्दै उनीहरू मुख मिठ्याउँदै जङ्गलको बीचको पोखरीतिर सपरिवार प्रवेश गरे।

२०७२ श्रावण ३१ गते शनिबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “शान्ति (लघुकथा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *