(सहरको एक कुनामा एउटा चिटिक्क परेको पक्की घर छ । सुन्दर बस्तीका छेउको यो घरलाई आफ्नो आँखामा नसजाई जाने बटुवाहरू कमै हुन्छन् । यस घरका प्रत्येक कोठाहरू महङ्गा सजावटका सामानहरूले सजाइएको छ । कोठामा टेलिभिजन, दराज, ओच्छ्यान, किताब ¥याक, सोफा, कम्प्युटरजस्ता सामानहरू ठिकठिक ठाउँमा राखिएको छ । भित्तामा फुटबल, व्याडमिन्टन खेलाडीहरूका पोस्टर टाँसिएका छन् । गितार, व्याडमिन्टन ¥याकेट पनि झुण्ड्याइएको छ । साँझको समय भएकाले बत्ती बलिरहेको छ । यही कोठामा एकातिर राखेको कुर्सीमा बसेर टेबलमा हात अड्याएर नरेश किताब पढिरहेको छ ।)
नरेश : …… मान्छेको जीवनमा कतिसम्म कहालीलाग्दा दिनहरू आउन सक्छन् । मानिसले ती दिनहरूलाई सामना गर्दै जानुपर्दछ । उनीहरूले आफ्ना प्रत्येक दिन फरक फरक कामहरू गरेर बिताउन चाहन्छन् । तर………, सबैले चाहेजस्तो त कहाँ हुन्छ र ? कोही समाजसेवामाा दिन बिताउन चाहन्छन् । (हाइ काढ्दै) कोही दिनभर जुवा, तास खेलेर, जाँडरक्सि खाएर त कोही डिस्कोतिर गएर मनोरञ्जन गरेर पनि बिताउन चाहन्छन् । हरेकको चाहना र वाध्यताहरू पनि त फरकफरक हुन्छन् । कसैको वाध्यता अकैँ हुन्छ भने चाहनाहरू पनि फरकफरक हुन्छन् । सबै कुराका सबैजना पूर्ण हुन्छन् भन्ने पनि त छैन । कसैलाई नाच्न आउँछ तर गाउन नआउन सक्छ । गाउन आउनेलाई नाच्न नआउन पनि त सक्छ । फुटबल खेल्नेलाई चेस नै पनि नआउन सक्छ । तर……(हाइ काढ्दै) तर…….जीवन त अनुभव पनि त हो नि । हामीले जीवनमा जे सिक्यौँ त्यो अनुभवको रूपमा हुन्छ र त्यो जीवनभर काम लाग्न सक्छ । हामीले जीवनमा त काम लाग्ने कुरा पो सिक्नुपर्छ…….(हाइ काढेर आँखा मिच्दै) आफुलाई जे कुरा गर्न मन लाग्छ त्यो कुरा गर्दै जा..नु………प…………….(नरेश पढ्दापढ्दै टेवलमा नै भुसुक्क निदाउँछ । उसले त सपना पो देख्न थाल्छ ।)
(भारतको मुम्बईजस्तो लाग्ने ठाउँमा जताततै झल्याकझिलिक बत्तीहरू बलिरहेका हुन्छन् । पार्टीमा झैँ हिन्दी गीतहरू घन्किरहेका हुन्छन् । विभिन्न उमेर समूहका मानिसहरू यताउता गरिरहेका देखिन्छन् । मान्छेहरू समूह समूहमा पनि देखिन्छन् ।)
समूह १ : क्यूँ मुज्से पङ्गाले रहे हो ?
समूह २ : तुने हमारे आद्मीको क्यूँ मारा ?
समूह ३ : तुमारे लोग हमारे लोगको भी परेसान कररहा हे……
समूह १ : (अघि सर्दै) आजा …….लड्ने के लीए ?
समूह २ : (पाखुरा सुर्कँदै) तेरे पास् हिम्मत् हे तो लड् के देखा…….
समूह १ :(सुरिएर अघि बढ्दै) आजाओ साला एक एकको ठिक कर देङ्गे…………
समूह १ र समूह २ : मारो…..मारो………. छोडो मत्……….मारो………………….. मारो…………
भिड : (भाग्दै) मारो…..मारो…… बचालो …… बचालो ……..कोही बचालो हमको …..
(दुवै समूहका १०/१२, १०/१२ जना केटाहरूको फाइट पर्न थाल्छ । सबै मान्छेहरूको भागाभाग हुन्छ । नरेश पनि त्यही भिडबाटै केटाहरूको झगडा हेरिरहेको हुन्छ । एकैछिन्मा झगडा गर्नेकै बिचबाट एउटा मान्छेले चम्चमाउँदो छुरी झिकेर अर्को समूहको मान्छेलाई छप्काउँछ । यो देखेर नरेश चिच्याउँछ ।)
(यत्तिकैमा नरेश चिच्याएर ब्युँझन्छ । खलखली पसिनैपसिना भएको हुन्छ । चिच्याएको सुनेर नरेशकी आमा कोठाभित्र पस्छिन् ।)
आमा : (आत्तिँदै) बाबु नरेश ! के भयो तिमीलाई ? किन यसरी चिच्याएको ?
नरेश :केही भएको होइन आमा ! (छक्क परेर आँखा पुछ्दै) पढ्दापढ्दै झण्डै निदाएँछु ।
आमा : (नरेशको छेउमा बसेर धाप मार्दै) तिमी चिच्याएको सुनेर म त के भएछ भनेर आत्तिएँ नि । ल, सुत बाबु । भोलि चाँडै उठ्नु पर्छ । भोलि त तिम्रो विद्यालयमा अभिभावक विद्यार्थी र शिक्षक भेटघाटको कार्यक्रम छ । समयमै जानुपर्छ है ।
नरेश : हुन्छ आमा
आमा : ल, अब सुत बाबु ! म पनि सुत्छु । गुड नाइट !
नरेश :ल, गुड नाइट आमा !
(आमा कोठाबाहिर जान्छिन् । नरेश पनि कोठामा भएको ओच्छ्यान सुत्न ठिक्क पार्छ । सिरकभित्र छिरेर छेवैमा भएको बत्तीको स्वीच थिचेर बत्ती निभाउँछ र सुत्छ ।)
०००
आमा : (नेपथ्यबाट) बाबु ! उज्यालो भइसक्यो, उठ !
आमाको आवाज सुनेर नरेश उठ्छ । ओच्छ्यान राम्ररी पट्याउँछ । भुइँमा पलेँटी कसेर बस्छ र ध्यान गर्न थाल्छ । एकछिन् ध्यान गरेपछि केही शारीरिक व्यायाम गर्छ र टेबलमा भएको बट्टाबाट टुथपेस्ट र ब्रस बोकेर बाहिर जान्छ ।)
आमा : (कोठामा खाजाको प्लेट बोकेर छिर्दै) बाबु ! चाँडो ब्रस गर है ! मैले तिम्रो कोठामा नै खाजा ल्याइसकेकी छु ।
नरेश : (नेपथ्यबाट) हुन्छ आमा, म आइहालेँ ।
आमा : बाबु ! दूध राखिदिउँ कि अण्डा राखिदिउँ ? के खान्छौ ?
नरेश : (नेपथ्यबाट) दूध राखिदिनुस् आमा ! बिहान त दूध खाएकै राम्रो हो नि ।
आमा : ल, खाएर पढ्न बस है !
नरेश : (नेपथ्यबाट) हुन्छ आमा !
(नरेश आएर खाजा खान्छ र टेबलमा बसेर पढ्न थाल्छ ।)
नरेश : यो म्याथ पनि कत्ति गाह्रो…….जति गरे पनि आउँदैन…… साइन्स पनि उस्तै….. । अरू त मलाई सजिलै लाग्छ । नेपाली, इङ्ग्लीस, सोसलजस्ता विषयमा त मैले राम्रै गरेको छु । सधैँ समयमा काम पनि गरेर बुझाउँछु । परीक्षामा पनि राम्रै गरेको छु । तर….. आज सरहरूले के भन्नु हुने हो । आ…… आफ्नो तर्फबाट मेहिनत गरेकै छु । म्याथ र साइन्सचाहिँ अलिक राम्रो भएको थिएन । अव, एकछिन् म्याथको काम गर्नु प¥यो । (नरेश म्याथको गृहकार्य गर्नमा व्यस्त हुन्छ ।)
आमा : (नेपथ्यबाट) बाबु ! खाना खान आऊ ।
नरेश : (कलम बन्द गर्दै) हुन्छ आमा ! म आइहालेँ ।
(नरेश टेबलमा किताब मिलाएर राख्छ र खाना खान जान्छ ।)
(एकछिनपछि)
आमा : (नेपथ्यबाट) बाबु ! छिट्टै तयारी होऊ है, गइहाल्नु पर्छ । नत्र भरे पार्टीमा जान ढिला हुन्छ नि ।
नरेश : (नेपथ्यबाट) हुन्छ आमा, म तयार भइहालेँ ।
(नरेश कोठामा आएर लुगा लगाउँछ । घाँटीमा टाई लगाउँछ । दराजमा ऐना हेरेर कपाल चटक्क पारेर कोर्छ । गोजीमा कलम राखेर झोला नबोकी बाहिर निस्कन खोज्छ ।)
नरेश : आमा ! निस्कने बेला भयो ?
आमा : (नेपथ्यबाट) भयो बाबु भयो । ल, निस्क । अब जाने ।
(नरेश कोठाबाट बाहिर निस्किएर आमासँगै विद्यालयतिर लाग्छन् ।)
(एकै छिनमा नरेश र आमा नरेशको विद्यालय पुग्छन् ।)
(अभिभावक शिक्षक विद्यार्थी भेटघाटका लागि धेरै जना अघि नै विद्यालय पुगिसकेका हुन्छन् भने कोही हुन्छन् । शिक्षकहरू पनि ठाउँठाउँमा बसेका हुन्छन् । कोही आफ्नो पालो कुरेर बसेका हुन्छन् । विद्यालयको वातावरण रमाइलो हुन्छ ।)
आमा : नरेश ! तिम्रो कक्षा शिक्षक खै कहाँ हुनुहुन्छ त ? भेटौँ न त ……..
नरेश : खै, म पनि खोज्दैछु आमा, ऊ…. त्यहाँ हुनुहुँदो रहेछ । जाऔँ । (नरेशले आमालाई लिएर जान्छ ।)
आमा (हाँस्दै) सर नमस्कार !
नरेश : (मुस्कुराउँदै) नमस्कार सर !
कक्षा शिक्षक : ओहो ! (नमस्कार गर्दै) नमस्कार आमा ! नमस्कार नरेश ! के छ, सञ्चै हुनुहुन्छ आमा ?
आमा : हजुर, सञ्चै छु सर । बाबुको पढाइ कस्तो छ ? कस्तो रिजल्ट ल्यायो कुन्नि ?
कक्षा शिक्षक : (रिजल्ट सीट दिँदै) नरेशको रिजल्ट त्यति राम्रो छैन आमा ! डी मात्र ल्याएर म्याथ र साइन्समा पास मात्र भएको छ । अन्य विषयहरूमा भने राम्रो रिजल्ट ल्याएको छ । हेर्नुस् न अन्य धेरै विषयहरूमा बी प्लस, ए, ए प्लस छ । कक्षाकोठामा पढाइ हुने विषयहरू मात्र नभएर अतिरिक्त कृयाकलापका विषयहरू म्युजिक, खेलकूद, आर्टहरूमा पनि रामै् नै छ । तर म्याथ र साइन्समा चाहिँ निकै नै कमजोर देखिन्छ । यो विषयका सरहरूले पनि कमजोर छ भनेर भन्दै हुनुहुन्थ्यो ।
आमा : अनि किन कम अङ्क आयो त ? उसलाई किन तपाईँहरूले मेहनत गराउनु भएन ? अघिल्लो परीक्षामा अझै राम्रो ग्रेड आएको थियो ।
कक्षा शिक्षक: हैन आमा ! हामीले त मेहनत गराइरहेकै छौँ । अरू सबै विषयमा राम्रो रिजल्ट आउनुको कारण पनि त्यही त हो नि । म्याथ, साइन्सका शिक्षकहरूले पनि मेहनत गराउनु भएकै हो । नरेशले पनि मेहनत गरेकै हो । तर, जति मेहनत गरे पनि अङ्क आउन सकेन । परीक्षामा सबै प्रश्नहरू गरेको पनि छ । तर धेरै उत्तरहरू गल्ती छन् । मैले पनि नरेशको कापी हेरेको हुँ । अब, नरेशको अन्य सबै राम्रो छ । समयमा सबै कामहरू गरेको हुन्छ । नरेश त विद्यालयको नमुना विद्यार्थी हो । ऊ त शिक्षकको निर्देशनहरू पुरा गर्ने, शिक्षकलाई सम्मान गर्ने, भाइबहिनीहरूलाई माया गर्ने, कक्षामा अनुशासनमा बस्ने, अनुशासित, मेहनती, लगनशील, जिम्मेवार विद्यार्थीको रूपमा विद्यालयले लिएको छ ।
आमा : कमजोर भएका विषयमा अझ राम्रो भइदिएको भए हुन्थ्यो ।
कक्षा शिक्षक : चिन्ता नगर्नुस् आमा ! सबैलाई सम्पूर्ण कुराको ज्ञान हुनु पर्छ भन्ने छैन । कोही कुनै विषयमा पोख्त हुन्छन्, कोही कुनै विषयमा । म्याथ र साइन्समा कम अङ्क आएर के भयो त ? अन्य विषयहरूमा उत्कृष्ट अङ्क ल्याएकै छ । खेलकूदमा, म्युजिकमा, गायनमा पनि धेरै राम्रो छ । उसमा जीवनमा काम लाग्ने सीपहरूको त विकास हुँदै छ नि आमा । उसलाई मन लागेको कुरा त राम्रो गरेको छ । नरेशलाई म्याथ र साइन्स पढ्न मन नभएकोजस्तो देखिन्छ । विद्यार्थीको रुची जे कुरामा छ त्यसैमा राम्रो गर्न हामीेले प्रोत्साहन गर्नु पर्छ नि आमा ! भोलि नरेश देशको ठुलो खेलाडी, गायक वा सङ्गीतकार बन्न सक्छ र देशको नाम राख्न सक्छ नि । अझ समाजसेवी बन्न सक्छ । व्यापारी पनि बन्न सक्छ । त्यसका लागि त म्याथ, साइन्स नै राम्रो हुनु पर्छ भन्ने पनि त छैन ।
आमा : हुन्छ त सर, अब आउँदा दिनमा म्याथ, साइन्समा पनि मेहनत गराइदिनु होला । अहिलेलाई बिदा पाऊँ ।
कक्षा शिक्षक : हुन्छ आमा ! कहिलेकाहीँ आउँदै गर्नु होला । नमस्कार ।
आमा : हवस् त नमस्कार ।
(आमा र नरेश त्यहाँबाट निस्कन्छन् । विभिन्न ठाउँमा विभिन्न विषयका शिक्षकहरू बसेर विद्यार्थी र अभिभावकहरूसँग कुरा गरिरहेका छन् । कोही अभिभावक हातहातमा रिजल्टसीट बोकेर घुमिरहेका छन् ।)
आमा : नरेश खोई त तिम्रो म्याथ टिचर ? देखाऊ त !
नरेश : ऊ त्यहाँ हुनुहुँदो रहेछ । जाऔँ । (दुवैजना म्याथ टिचर भएतिर जान्छन् ।)
आमा : सर नमस्कार !
म्याथ टिचर : नमस्कार आमा !
नरेश : नमस्कार वदन सर !
म्याथ टिचर : नमस्कार नरेश !
आमा : सर, नरेशले त म्याथमा परीक्षा बिगारेछ नि त ?
म्याथ टिचर : आमा ! नरेश म्याथमा अलिक कमजोर नै छ । आफूले सकेको मेहनत गर्छ पनि । तर उसले परीक्षामा राम्रो गर्न सकेकै छैन । मैले पनि प्रसस्त मेहनत गरेर उसलाई सिकाउँछु तर उसको भित्रबाट नै यसप्रति चाहना नै छैन । म्याथलाई त बुझ्ने प्रयास गर्नु पर्छ । सूत्रहरू घोक्नै पर्छ । नरेशमा त सूत्र घोक्ने पनि चाहना कम छ । घोक्ने प्रयास गर्छ तर सक्दैन ।
आमा : (नरेशतिर फर्किएर) हो त बाबु !
नरेश : (समर्थनमा टाउको हन्लाउँदै) हो आमा ! म राम्रो गर्नलाई कत्ति मेहनत गर्छु तर सक्दै सक्दिन ।
आमा : हुन्छ सर, अझ राम्रो गर्नका लागि प्रोत्साहन गरिदिनुस् है । अहिलेलाई बिदा ।
म्याथ टिचर : (हात हल्लाउँदै) हुन्छ आमा ! म सकेको मेहनत गराउँछु ।
(नरेश र आमा त्यहाँबाट पनि निस्कन्छन् ।)
नरेश : (ओठ चुच्चो पारेर देखाउँदै) आमा ! ऊ …त्यहाँ हुनुहुन्छ मेरो साइन्स टिचर….
आमा : (यताउती चारैतिर आँखा डुलाउँदै) खोई ? लैजाऊ त ।
(दुवैजना साइन्स टिचर भएको ठाउँमा पुग्छन् ।)
आमा : सर नमस्कार !
साइन्स टिचर : नमस्कार आमा !
नरेश : नमस्कार रवि सर !
साइन्स टिचर : नमस्कार नरेश !
आमा : सर, नरेश त साइन्समा परीक्षा बिगारेछ नि त ?
साइन्स टिचर : आमा ! नरेश साइन्समा अलिक कमजोर नै छ । उसको साइन्सतिर त्यति धेरै मन गएको म पाउँदिन आमा ! मेहनत गर्छ पनि किन हो किन पाससम्म पनि गर्न सक्दैन । फेरि अरू विषयमा त राम्रो छ । सबै कुरामा अगाडि नै छ । अन्य शिक्षकहरू नरेश साइन्समा कमजोर छ भन्दा पत्याउनु नै हुन्न । म अझ पनि मेहनत गराउँछु आमा । अर्को परीक्षामा पास गर्ने बनाउँछु ।
आमा : हुन्छ सर, अझ राम्रो गराइदिनुस् है । अहिलेलाई बिदा ।
साइन्स टिचर : (हात हल्लाउँदै) हुन्छ आमा ! म सकेको मेहनत गराउँछु ।
(त्यसपछि अन्य विषयका शिक्षकसँग पनि भेट हुन्छ । सबैले राम्रो गरेको छ भन्छन् । भोलि देशको ठूलो खेलाडी बन्छ, गायक बन्छ, सङ्गीतकार बन्छ, व्यापारी, समाजसेवी बन्छ भन्ने प्रतिक्रिया आउँछ । अझ नरेशको व्यक्तित्व र बोल्ने कला देखेर कसैले हिरो त कसैले मन्त्री, प्रधानमन्त्री पनि बन्न सक्छ भन्ने विचार व्यक्त गर्छन् ।
(त्यसपछि आमा छोरा कुराकानी गर्दै इन्द्रेणी पार्टी प्यालेसमा भएको विवाहको पार्टीतर्फ लाग्छन् ।)
आमा : नरेश ! तिमी म्याथ र साइन्समा कमजोर भएछौ । अब तिम्रो बाबा विदेशबाट आएर तिमीलाई गाली गर्नु हुन्छ होला । तिमीले बेलैदेखि राम्ररी मेहनत गर्नुपर्छ । तिमीलाई नआएको त शिक्षकहरूसँग सोधेर बुझ्नु पर्ने थियो । यस्तै हो भने तिमीले पछि राम्रो कलेजमा एड्मिसन पाउन सक्दैनौ नि !
नरेश : (आमातिर फर्किएर) मैले पनि सकेको मेहनत गरेको हो आमा ! शिक्षकहरूले पनि मलाई गराउनु भएको हो । सिकाउनु भएको हो । तर….. मैले जति मेहनत गर्दा पनि पास गर्न सक्दैसकिन । मलाई अरू विषयहरू सजिलो लाग्छ । सङ्गीत र खेलकूदमा अझ बढी रुची लाग्छ ।
आमा : (नरेशतिर फर्किएर) राम्रो गरेका विषयहरूको त कुरै सक्किहाल्यो नि कम अङ्क आएका विषयहरूमा चाहिँ मेहनत गर्नु प¥यो । पार्टीमा अङ्कलहरू भेटिनु हुन्छ होला । आफन्तहरूलाई तिम्रो रिजल्ट सुनाउँदा के भन्नुहुन्छ होला ?
(यस्तै कुरा गर्दै उनीहरू इन्द्रेणी पार्टी प्यालेस पुग्छन् । प्यालेस भव्य रूपमा सिँगारिएको हुन्छ । एकातिर विवाहको कार्यक्रम चलिरहेको हुन्छ । अर्कातिर विवाहमा आउने जानेको लर्को हुन्छ भने भोज खानेको पनि त्यस्तै भिड देखिन्छ ।)
नरेश : कस्तो भिड रहेछ है ! कत्ति मान्छे आएका रहेछन्……..
आमा : अनि त, रमाइलो रहेछ ।
नरेश : आमा ! अङ्कल ऊ…. त्यहाँ हुनुहुँदोरहेछ । जाऔँ न अङ्कल भएको ठाउँमा ।
आमा : ल, जाऔँ–जाऔँ । (दुवैजना अङ्कल भएको ठाउँमा जान्छन् । त्यहाँ धेरै जना गफ गरेर बसिरहेका हुन्छन् ।)
नरेश : अङ्कल नमस्कार !
अङ्कल : ओहो ! नमस्कार छोरा ! नमस्कार भाउजू !
आमा : नमस्कार बाबु ! के छ खबर ?
अङ्कल : ठिकै छ भाउजू । अघि पार्टीमा आउँदा घरमा छिरेको थिएँ, हुनुहुँदो रहेनछ । कता निस्कनु भएको थियो ?
आमा : कता हुनु नि, नरेशको विद्यालयमा आज रिजल्ट पनि शिक्षकहरूसँग भेटघाट पनि थियो । त्यतै गएर सिधै यता आएकी नि ।
अङ्कल : अनि कस्तो भयो त नरेशको रिजल्ट भाउजू ?
आमा : कस्तो हुनु नि ? सबै विषयमा ए र ए प्लस छ तर मुख्य म्याथ र साइन्समा चाहिँ डी आएछ ।
अङ्कल : ओहो !खोई देखाऊ त नरेश मार्कसीट !
(नरेश केही नबोली गोजीबाट मार्कसीट निकालेर दिन्छ । त्यहाँ भएका अङ्कललगायत् अन्य मान्छेहरूले पनि मार्कसीट हेर्छन् ।
आमा : रिजल्ट सोचेजस्तो राम्रो ल्याएन नि नरेशले ।
अङ्कल : ठिकै छ नि भाउजू । हामीले सकारात्मक रूपमा हेर्नु प¥यो । रिजल्ट हेर्दा त नरेशलाई म्याथ र साइन्स पढ्ने इच्छा नभएकोजस्तो देखियो । इच्छा नभएको कुरा त नि भाउजू कसै गरे पनि पो सुधार्न सकिन्न त । अब अरू विषयहरू हेरौँ न , ए र ए प्लस छ । ए प्लस हुनु भनेको त धेरै राम्रो हो । सबैको कहाँ यस्तो राम्रो रिजल्ट आउँछ र ?
सुरेश : हो त । इच्छा भएका विषयहरूमा चाहिँ बी प्लस ए र ए प्लस छ । यस्तो रिजल्ट त कमै विद्यार्थीहरूले मात्र ल्याउन सक्छन् । हामीले त ल्याएनौँ यति राम्रो रिजल्ट ।
अङ्कल : नरेश ! तिमीलाई केके बजाउन आउँछ ? अनि केके खेल्छौ ?
नरेश : अङ्कल ! मलाई गितार, मादल, तबला, बाँसुरी, हार्मोनियम ड्रमसेट बजाउन आउँछ । अनि म फुटबल, व्याडमिन्टन्, टेनिस, पौडी पनि राम्ररी खेल्न आउँछ । मैले कत्तिपटक पुरस्कार र मेडलहरू त जितेको छु । विद्यालयमा भएको वादविवाद र कविता प्रतियोगितामा प्रथम भएर पुरस्कार जितेको छु । अनि, तीन दिन अघि भएको जिल्लास्तरीय वक्तृता प्रतियोगितामा जिल्ला प्रथम भएर पनि पुरस्कार जितेँ ।
दीपक : ओहो ! नरेश बाबु त धेरै प्रतिभाशाली रहेछौ ।
आमा : अरू विषयमा राम्रो भएर के गर्नु दीपक जी ! म्याथ र साइन्सविना पछि राम्रो कलेजमा भर्ना हुन पाइँदैन ।
दीपक : केही चिन्ता लिनु पर्दैन भाउजू । म्याथ र साइन्समा कमजोर भए पनि अरू कुरामा नरेश जतिको क्षमतावान् विद्यार्थी कोही हुन सक्दैन । नरेशलाई म मेरो कलेजमा भर्ना दिन्छु ।
सुरेश : हो भाउजू । म पनि मेरो कलेजमा नरेशजस्तो क्षमतावान विद्यार्थीलाई पढाउन चाहन्छु । भोलि नरेशले समाजसेवी, गायक, खेलाडी बनेर कलेजको र देशको इज्जत राख्न सक्छ । यस कुरामा म ढुक्क छु ।
गीता : नरेशलाई त म पनि मेरो कलेजमा पढाउन सक्छु । अझ छात्रवृत्ति दिएर निःशुल्क पढाउन पनि सकिन्छ ।
हर्क : मेरो कलेजमा पनि निःशुल्क भर्ना गरेर उच्च शिक्षासम्म पढाइदिन सक्छु । अहिले नै पनि मेरो विद्यालयमा भर्ना गर्न सक्छु ।
सुरेश : प्रो. राघव ! हजुर त अमेरिकाको युनिभर्सिटीमा पढाउनु हुन्छ । के छ ? त्यहाँको एजुकेशन सिस्टम के छ ?
प्रो. राघव : सुरेश जी ! त्यहाँ त म्याथ र साइन्समै राम्रो हुनु पर्छ भन्ने छैन । म्याथ र साइन्स कमजोर भए पनि राम्ररी एड्मिसन पाउन सकिन्छ । तपाईँ भन्नु हुन्छ भने नरेशजस्तो विद्यार्थीलाई त म पनि अमेरिकामा एड्मिसन दिन सक्छु । मेरो आफ्नै कलेज पनि छ । नरेशजस्ता धेरै विद्यार्थीलाई मैले एड्मिसन दिएको छु । त्यहाँ त जीवनमा जे बन्न चाहने हो त्यस्तो फिल्डमा जाने विद्यार्थीलाई प्रोत्साहन हुन्छ । नेपालमा जस्तो ए र ए प्लस नै चाहिन्छ भन्ने छैन । म पनि मेरा छोराछोरीलाई कहिल्यै ए र ए प्लस ल्याउनु पर्छ भनेर फोर्स गर्दिन ।
अङ्कल : सुन्नुभयो भाउजू ! जीवनमा म्याथ र साइन्स मात्र ठूलो कुरा होइन । आफूलाई मन लागेको कुरा पढ्नु र गर्न मन लागेको कुरा गर्न पाउनु ठूलो कुरा हो । बालबालिकाहरूमा जे कुराको चाहना छैन त्यो कुरा उनीहरूमा जवरजस्ती लाद्न खोज्नु त अपराध हो । हामीले उनीहरूलाई इच्छा नभएको कुरामा जबरजस्ती गर्नु हुँदैन । इच्छा र मनले पढेको गरेको कुरा पो सिप हुन्छ त । करले सिकेको कुरा जीवनमा लागू गर्न सकिन्न । आफू ठूलो भएर यस्तो बन्छु भन्ने लक्ष्य बोक्नचाहिँ सम्झाउनु पर्छ । तर के बन्ने भन्ने कुरा पनि उनीहरूकै हातको कुरा हो । हामीले यस्तो बन् र उस्तो बन् भनेर जोड गर्नु हुँदैन ।
आमा : (हात जोड्दै) धन्यवाद सबैजनालाई ! खासमा मैले पनि त्यति साह्रो जोड गरेकी त होइन । भोलि राम्रो कलेजमा भर्ना नपाएर पढ्न नै नपाएर मेरो भविष्यको सहाराको भविष्य नै अन्धकार हुने हो कि भन्ने चिन्ता लागेर मात्र हो । अव म ढुक्क भएँ । मेरो छोराको म्याथ र साइन्स बिग्रिए पनि भविष्य उज्ज्वल छ भन्ने कुरामा म विश्वस्त छु ।
सुरेश : भाउजू ! कलेज पढाउनचाहिँ मेरो कलेजमा ल्याउनु होला नि…. हाहाहाहाहा….. (सबैजना गलल हाँस्छन् ।)
(अब भोज खान सुरू हुने सुचना आउँछ । सबैजना लाइनमा बसेर भोज खान्छन् । बिदावारी भएर नरेश र आमा पनि घरतिर लाग्छन् ।)
(बेलुका अमेरिका बस्ने बाबासँग स्काइपमा कुरा हुन्छ ।)
नरेश : बाबा ! ढोग गरेँ !
बाबा : आशीर्वाद छ छोरा ! बाबु तिम्रो आज रिजल्ट होइन छ ? कस्तो भयो ?
नरेश : बाबा ! मेरो म्याथ र साइन्समा चाहिँ कम अङ्क आयो । मात्र डी ग्रेड ल्याएको छु । अरू विषयमा चाहिँ बी प्लस, ए र ए प्लस ल्याएको छु बाबा !
बाबा : छोरा पास त ग¥यौ नि ?
नरेश : बाबा ! पास त गरेँ । त्यही म्याथ र साइन्समा मात्र कम अङ्क आएको हो ।
बाबा : चिन्ता नगर छोरा ! तिमी एसएलसीपछि अमेरिका आउने हो । यहाँ त्यस्तो म्याथ र साइन्सको धेरै महत्त्व हुन्न । यहाँ तिमीले चाहेको विषयमा एड्मिसन पाइहाल्छौ । Don’t worry छोरा !
नरेश : हुन्छ बाबा ! Thank you .
बाबा : okey . be good and take care your mom hai.
नरेश : okey baba. Take care……… bye.
बाबा : see you . bye
नरेश : (हाँस्दै) bye bye.
(बिस्तारै पर्दा बन्द हुन्छ ।)
समाप्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *