टाँसिएको
भित्तामा त्यो तस्विर
म निकालेर नियालिरहेछु
रहरलाई कुल्चिएर बाध्यताले
झिनो आशा र सपनाका खातहरू
झोलामा त्यो तस्विरसँगै
यादहरू कैद गरी
म खाडीको तातो मरूभूमिमा आफ्ना सपनाहरू खोज्न
एउटा यस्तो यात्रा तय गरिरहेको छु ।
मैले शुरू गरेको आदिम यात्रा
यो बिन्दुसम्म आइपुग्दा
मेरो देशको हिमाल,पहाड र यो खाडीको
तातो बालुवा हुदै
बालुवाकै ठुला ठुला महलमा रोकिन्छ ।
लेक मुनि फुलेका सेता चैरि
दाँत देखाउदै हाँसेका
हिमाल अनि मेरो देशको माटोमा
पसिनाका रंगहरूले रंगाउदै
आज
यो धाँजा फाटेको मरूभूमि टेक्दा
हृदय चर्चरी फाटेको छ
अनि मुटुका भित्ताहरू तरंगित हुदा
फनफनी शिर घुमेकोछ ।
हावाको बेगले वनाएको बालुवाको
त्यो पहाड माथिको घाम,जुन
हेर्दै उभिएको क्याक्टसको बुढो रूख झै
आज आफ्नै मृत्युको कल्पनामा मौन छु,
मेरो ह्रदयको कोशबाट
मैले देखेको सपना हराएको छ
मलाई साहास दिइ आफ्नै खुट्टामा
उभ्याउने मेरा रहरहरू
बालुवासँगै
धुलोको बादलमा बिलिन हुदा
आफै रूमलिइरहेको छु ।
हिड्ने बेला मेरी आमाको आशीर्वाद
र आँखाको डिलबाटवर्षेको आँसुको लागि
बाँच्नु पर्छ म
हो बाँच्नु छ
मैले असंख्या रहरभित्र
हराएको उधेश्य खोज्न
निर्लिप्त सुतेका समतल भूमिमा
चिहाएर जुनको उज्यालोमा
जिन्दगी खोज्नुपर्छ म ।
हरेक बिहान
तातो बालुवामा न्यानो स्पर्श दिएर विउँझाउने मनमायाका यादहरू
अब मेरो शरिरमा धमनि र शिराहरूबाट
एउटा उर्जा दिने छ
हावाको वेगसँगै सपनाहरू उमारेर
मरूभूमिमा क्याक्टसमा फल फलाउने
आकाङ्क्षा बोकेर म जस्तै खाडी आउने युवाहरूलाई
रोक्ने छु ।
फर्क
उठाउ खिया लागेका औजार अनि
रोप आफ्नै माटोमा सपनाहरू
पगाल परिश्रमले ती हिमालहरू
अनि उज्यालो पार धर्ती
खर्कमा चौरी पर्खिरहेका छन्
बेसीमा लहलह फलहरू झुलिरहेका छन्
मैले त अठोट गरिसकेँ
छिट्टै आउदैछु आमा ।
रामकृष्ण अनायास
कविडाँडा
