दैनिक रुपमा माग्न आउनेहरुलाई शनिवार माग्न आउन नपाउने गरी टोलमा पालो बाँधिएको थियो । ‘तिम्रो पालो आइतबार, तिम्रो सोमबार, तिम्रो मांगलबार, तिम्रो बुध, तिम्रो बिही तिम्रो शुकवार । अरु बारका दिन अर्को टोलमा जाऊ’ आदि आदि । यसो गर्दा अलिक हलुको भएको थियो टोललाई । बिहानदेखि बेलुकासम्म घरमा एक जनाको ड्युटी जस्तै हुन्थ्यो उनीहरुलाई केही न केही दिइरहनका लागि । भिक्षा दिन केही ढिलो भयो भने “कति ढिलो गरेको होला !” भनेर घरमा हप्काउने भिक्षार्थीहरु पनि थिए कोही । बाक्लोसँग माग्न आउनेहरुको जथ्थालाई दैनिक केही न केही दिनु पर्ने मान्यता टोलमा थियो । अलिक थोरै भयो भने नलिएर घुक्र्याउने भिखारीहरु पनि थिए । यसै स्थितिलाई केही सहज पार्न पनि टोलवासीहरुले त्यसरी पालो बाँधिदिएका थिए । यसो गर्दा केही भिखारीले ता विद्रोह पनि गर्न खोजेका थिए । तर केही समयपछि उनीहरु नियमित हुँदै गए, समयमा बाँधिदै गए । यस्तो पालोमा बाँधिएको भिखारीमध्येको एक वृद्धको पालो शुकबार परेको थियो । ऊ सहरको एक पुरानो पालीमा बस्थ्यो । धेरैलाई उसका बारेमा थाहा थियो ।
ऊ बडो शिष्ट, मर्यादित र शुभआशीष बोल्थ्यो । उसको दाहिने घुँडो भन्दा तलको भाग थिएन, स मिलमा काम गर्दा काटिएको अरे । एक खुट्टाले मात्र हिंड्थ्यो लौटो टेकेर । उसको नाति पनि साथैमा हुन्थ्यो । सात आठ वर्षको हुँदो हो ।
यो भिखारीका साथ भने अमरजंग कहिलेकाहीं केही कुरा पनि गर्थे । यसैले त्यो भिखारीका लागि उनी दुःख बिसाउने ठाउँ भएका थिए । ऊ अटुट रुपमा शुकबारको पालोमा आइरहन्थ्यो, उसले पालो मिचेन र आउन छाडेन पनि । अमरजंग खालि भएको मौका पर्यो भने केही गनथन पनि गर्दथे उसका साथ ।
एक शुकबार उसले अमरका साथ भन्यो- “मालिक छोरो बोडिंग पढ्छु भन्छ । भर्ना गर्न निकै लाग्दो रछ ।”
“गरिदेऊ न त भर्ना । सक्छौ र पढाउन ?” अमरजंगले भने ।
“भर्ना गर्न ता खोजेको हो तर अलिकति पैसा पुगेन । फिस ता महिनावारी पुर्याउँथे होला तर भर्ना पो धेरै लाग्दो रैछ ।” उसले भन्यो ।
अमरजंगलाई केटोमाथि माया लाग्यो । उसको पढ्ने इच्छामाथि खुसी पनि माने । सोधे “कति पुगेन त ?”
“पन्ध्र सय पुगेन मालिक ।” उसले भन्यो ।
केही बिचार गरे जस्तो गरेर उनले “लौ भर्ना गरिदेउ न त” भनेर मागे जति पैसा पर्सबाट झिकेर दिए ।
” मालिक म सारै खुसी भएँ ।” भिखारीले भन्यो र अाशिर्वाद दिदै बाटाे लाग्याे ।
“ल, ल पहिले नाति भर्ना गर । अनि लुगा, कलम, किताब, कापीहरु तयार छ त ? सोधे ।”
“सबै तयार छ मािलक ।” उसले भन्यो र अमरजंगलाई सलाम गर्दै बाटो लाग्यो ।
त्यसपछिका शुकबारहरुमा शुकबारे भिखारी देखिएन । अमरजंगलाई अलिकति शंका लाग्यो । आफूले दिएको पैसा ता खायो खायो नातिलाई विद्यालयमा भर्ना गर्छु भन्ने नाममा मलाई त्यस अपांग भिखारीले पनि ठग्यो । यस्तै सोच्नु बाहेक उसका बारेमा उनले अरु केही पचि सोचेनन् । प्रसंग मेटिइ पनि सेकेको थियो । “कता गयो होला शुकबारे बूढो ?” भनेर कहिलेकाहीं सम्झन्थे मात्र । यत्ति हो ।
अचानक तीन महिना पछि शुकबारे बुढो अमरजंगको घरमा पहिलेकै जसरी आयो ।
” के हो तिमी ता हरायौ नि !! कता गएका थियौ ? यत्रा दिन ?” अमरले सोधे । “नातिलाई बोर्डिंग भर्ना गर्यौ त ?”
“कता जानु र मालिक ? यो भिखबाट भन्दा खोलाका किनारमा ढुंगा कुटेर अलिक पैसा आउँदो रैछ । त्यही काम गर्दै छु आज भोलि । नातिलाई भर्ना गरिहालें नि !”
“ए ।” उनले साधारण रुपमा लिए उसका कुरा ।
” मालिक कति भयो ?” भिखारीले भन्यो ।
” के कति भयो भनेको ?” अमरजंगले सोधे ।
“अस्तिको पैसाको सुद कति भयो मालिक ?” फेरि उसले सोध्यो ।
भिखारी अस्ति उनबाट लिएको पन्ध्र सय रुपियाँ ब्याज सहित तिर्न आएको छ भन्ने कुरा बुझ्न उनलाई कुनै समय लागेन ।
“भैगो, भैगो ।” अमरजंगले भने ।
“भौगो भनेर काँ हुन्छ मालिक ? मालिक तिन किस्तामा मात्र तिर्न सक्छु है” भन्दै पाँच सय सावाँ र एक सय ब्याज थपेर अमरका हातमा जबरजस्ती हालिदिंयो ।
“अर्काे किस्ता तिन महिना पछि मात्र बुझाउन सक्छु मालिक” भन्दै उ बाटा लाग्याे ।
हातको पैसा हेरेर अमरलाई भने साँचो भिखारी ता आफू पो हो कि भनेजस्तो लागिरह्यो ।

हातको पैसा हेरेर अमरलाई भने
हातको पैसा हेरेर अमरलाई भने साँचो भिखारी ता आफू पो हो कि भनेजस्तो लागिरह्यो ।
साँच्चै नै मार्मिक पंक्ति। यहि पंक्तिमा नै कथाको मूल सार लुकेको छ।