‘‘भोलिदेखि तेरो नोकरी पक्का ! बिहान घरको काम सकेर नोकरीमा जानु र फर्केर फेरि घरको काममा लाग्नु बुझिस् ?’’

तीन वर्ष अघिदेखि म वहाँको घरमा बगैंचामा काम गर्ने तथा खाना पकाउने काममा लागेको हुँ ।

‘‘तेरो तलब साढे तीन सय पचास हुन्छ । तर त्यत्रो पैसाको तँलाई आवश्यकता छैन । घरमा खाइहाल्छस्, लाइहाल्छस् । पचास रुपैयाँ पकेट खर्च गर्नु, अरु तीनसय चैं मलाई बुझाउनु बुझिस् ?’’

म खंग्रङ्ग भएँ । महिनाभरको पसिनाको मोल पचास रुपैयाँ रे ! घरमा के पठाउनु ? तर वहाँ मालिकको आदेश स्वीकार गर्नु बाहेक मेरो अर्को कुनै बिकल्प थिएन, प्रतिवाद गर्नुको अर्थ हो– पुनः भोको पेट लिएर गल्ली–गल्ली चाहार्नु ।

गरिबको पसिनाले त सामन्तीको कहिल्यै भलो नहोस, मनमनै गाली गर्दै, प्रत्यक्षमा चाहिँ जवाफ दिएँ ‘‘हवस् हजुर ।’’

मैले नोकरी गरेको अब त एक वर्ष पुगिसक्यो । आफ्नो पसिनाको पैसाले आफूलाई र घरका परिवारलाई केही गर्न नसके पनि एउटा कुराको चाहिँ मलाई ठूलो गर्व छ कि समाजको अगाडि एक प्रतिष्ठित गनिने मेरो सामन्ती मालिकलाई मैले नै पालिरहेछु ।

प्रकाशित मिति: २०४४ साल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *