Skip to content
SumanKhadkaSpandan


‘घरबेटी आमा ! ए घरबेटी बा !’ मेन गेटको ढोका ढक ढक गराउदै म कराएँ ।

‘को हो हँ ?’ भित्रबाट नारिस्वर प्रबाह भयो घरबेटीमा रहेछिन् ।

‘म कोठा खोज्दै आको यहाँ कोठा खाली छ रे हो ?’ मैले सिधै भनिदिए । ‘घर कहाँ हो बाबु ?’ उनले सोधिन् ।

‘झापा’ मैले भने ।

‘कोठा त छ बाबु तर तिमी पूर्वेलिरहेछौ हामी पूर्वेलीलाई कोठा दिदैनौ’ उनले भनिन् ।

‘किन र मा, किन नदिने ? कोठा खाली छ भन्नुहुन्छ फेरि नदिने कुरा…किन ?’ मैले झन् उत्सुक हुदैं भने ।

‘पूर्वेलीहरू फटाहा र जाली हुन्छन त्यसैले ।’ उनले पनि बिना संकोच भनिन् ।

‘पूर्वेली भन्दैमा सबै एकै प्रकारक हुन्छन भन्ने के छ र प्रमाणमा ? कोही त राम्रा मान्छे पनि होलान नी, सबैलाई एकैमा दाँजेर हेर्न मिल्दैन’ मैले अलि रिसाएर भने ।

‘त्यो त देखिहाल्यो नी, तिमीलाई कोठा दिदैनौं जाऊ यहाँबाट ।’

उनी पनि के कम थिइन् र काठमाडौँ कि नेवारनी पो हुँ त, खाउलाझैँ गरी हकारिन । अनि म त्यहाबाट निस्के । सरासर आफ्नो बाटो । कस्ता खालका मान्छे होलान खालि चलाखिपनलाई जाली र फटाह भन्ने, म रन्थनिएर् हिडे तर हिडेको पत्तो पाइएन कति छिटै होटेलमा पुगिसकेछु थाहै भएन । त्यति टाढाबाट के सपना बोकेर राजधानीमा छिरेको मान्छे अहिले डेरा नपाएर भौतारिरहेको छु । आएको डेढ महिनामै होटेलमा २५/३० हजार सकीसक्यो । कति दिन यसरी चल्ने हो कुन्नि थाहा छैन । हुन त राम्रो कलेज आफ्नै घर नजिकै नभएको पनि होइन तर ‘घरमा पढेकोभन्दा डेरा गरेर पढ्दा राम्रो हुन्छ राजधानीमा गएर पढ राम्रो मान्छे बन्’, भनेर ऋण कारेर बाबुले यहाँसम्म पठाएको छोरो डेरा नपाएर भौतारिदा कस्तो हुन्छ होला ?

हुनत यस अघिपनि कोठा नखोजेको होइन ! एक ठाउँमा ‘कोठा खाली छ भने मलाई दिनुहोस’ भन्दा, ‘हामी विद्यार्थीलाई कोठा दिदैनौ’ रे अनि ‘किन ?’भन्दा ‘बिध्यर्थिले फोहोर गर्छन, सफा गर्न जान्दैनन्, अल्छी हुन्छन’ रे ! कतिसम्म बोल्न सकेका है यी धनले मातिएका मान्छेहरू ? बिद्यार्थीले के फोहोर मात्र गर्न जानेका हुन्छन र ?, कति सम्मका निर्दयी यी मान्छेहरू, घर वरपर फोहोरले पाइला टेक्ने ठाउँ हुदैन सिरिप घर कति महत्व मानेका ?

अर्को ठाउँमा कोठा सोध्दा ‘केटालाई कोठा दिदैनौं’ रे ! यतिभन्दा सनक्क गरेर हिड्नु बाहेक केही बिकल्प भएन मसँग ।

***

करिब दुई महिना पछि एउटा कोठा फेला पर्यो त्यो पनि कोठा खोज्ने दलाल मार्फत । उनले कोठा खोजेको १००० रुपैया लिए, मलाई त्यो दिन केही संकोच लागेन किनकि थाहा छ कोठा खोज्दाको पिंडा र होटेलको खर्च । कोठा त पाइयो रातोपुल नजिकै, भुइतला रहेछ अधेरो थियो दिउसै बत्ती बाल्नु पर्ने, पानी हप्ताको एक पटक मात्र आउने त्यो पनि निश्चित थिएन कुन बेला आउने हो त्यही पानी एक हप्ता पुर्याउनु पर्ने । बत्ती, पानी र कोठा को गरेर मासिक ६००० एउटा कोठाको । आम्मामा ! न पानी, न उज्यालो, न सुबिधा यस्तो कोठालाई ६००० ? भन्न मन थियो तर भरकर पाएको फेरि नबस भनेपछि कहाँ बस्ने समस्या हुन सक्थ्यो बसें र फेरि दलाललाई अलि राम्रो कोठा खोज्न आग्रह गरे । कोठाको सामान जोरजाम गरे १ महिना जति बसे फेरि दलालले अर्को कोठा तय गरेको बतायो । कोठा रहेछ चाबहिलमा, पहिलेकोभन्दा अलि सुबिधा थियो उज्यालो थियो, पानीको लागि पम्प थियो, तर खाने पानीका लागि पहिले झैँ रहेछ हप्ताको एक पटक आउने । अलि राहत मिल्यो कोठा भाडा भने पहिलेभन्दा ५०० बढी थियो । ‘कोठाभाडा चाहि महिनाको पहिले नै बुझाउनु पर्छ है भाइ ?’ घरबेटी अलि कडा रहेछिन क्यारे विचार गरे । ‘हुन्छ’ मैले भने ।

***

कस्तो होला त्यो काठमाडौँ शहर, त्यो राजधानी ? स्कुल पढ्दा किताबमा भएका चित्रहरू हेरेर कल्पनामा दुब्थें म, तर सोचेभन्दा ठिक बिपरित रहेछ काठमाडौँ शहर । मान्छेभन्दा कुकुर प्यारो मान्ने काठमाडौँ, गरिब होइन धनी मात्र छान्ने काठमाडौँ, थाहा छैन यहाँ जीवनको महत्व सिरिप थाहा छ ‘धन’ मात्र ‘धन’ । मान्छेलाई पैसासँग तौलन्छ काठमाडौँले । धन भए सबै पुरा हुने, घर हुने, बंगला हुने, तर धन नहुनेको डेरा पनि हुदैन यहाँ ।

‘कोठाको अभाव छ बाबु यहाँ हामी जस्तो मान्छेका लागि । डेरा सर्दा सर्दा जीवन व्यथित त भैसक्यो जीवन बित्न आट्यो मेरो जीवन केवल डेरामा मात्र सीमित भयो बाबु ।’सँगै जोडिएको कोठाका एकजना अंकल भन्दै थिए । ‘सानै देखी डेरामा बसेको बाबु, बिहे गरे, छोराछोरी भय उनीहरूलाई हुर्काउनु पर्यो, पढाउनु पर्यो, खानुपर्यो कमाएको पैसा यसैमा पुग्दैन कसरी डेराबाट मुक्त हुनु र बाबु ?’ अंकल निराश हुदै भने हुन पनि हो त्यही १०/१५ हजार कमाइले के नै गर्न सकिन्छ र यस्तो महँगो शहरमा ? बिचरा अंकल ! आफूले पढ्दा पढ्दै पुर्ख्यौली सम्पति सबै सकिएछ अब डेरामै उनको जीवन बित्ने भयो ।

एक दिनको कुरा हो घरबाट बाबा र आमा आउनुभएको थियो, मेरो पढाई बुझौ र आफ्नो स्वास्थ्य चेक गरौ भनेर । बस्यौ दुख सुखका कुराकानी गर्योउ, पढाइका बारे पनि कुरा गर्योउ, ‘राम्रोसँग पढ्नु बाबु, यत्रो खर्च गरेर पढाएका छौ, डेरा गरेको मान्छे राम्रो बन्नुपर्छ हाम्रो इज्जत नफल्नु है बाबु ?’ बाबा आमाले भन्नुभयो । ‘हुन्छ बाबा’ मैले भने । २ दिन बसेर उहाँहरू घर फर्कनुभयो । उहांहरू बसिन्जेल त घरबेटीले केही भनेनन् तर उहांहरू गएको भोलिपल्ट घरबेटी आएर ‘भाइ कोठामा कोही पाहुना ल्याउने पाइदैन कोठा छोडेर जाऊ’ । मेरो झनक्क रिस उठ्यो ‘आफ्नै आमा बाबालाई पनि १/२ दिन बस्न नदिने ? फ्रीमा बसेको छु र यहाँ ?’ मैले रिसाउदै भने । यति भनेपछि त कहाँ मान्थिन र घरबेटीले ? अहिलेनै निस्केर जाऊ पो भन्न थालिन, मैले पनि यस्तो डेरामा बस्न नसक्ने बताएँ । जति बोल्न सजिलो छ त्यति काम गर्न अफ्ठेरो हुन्छ भन्न त कति सजिलै भनिदिए मैले बस्दिन यहाँ भनेर तर अब भनेको झैँ छिटो कोठा पनि कहाँ पाइन्थ्यो र थाहा पाइसक्नुभयो कति ग्राहो छ कोठा पाउन र पाए पनि यस्तो कडा नियम ।

कस्तो यो डेरा जिन्दगी आफैलाई धिक्कार्न मन लाग्छ । कहिले त घरबेटीको किचकिचले गर्दा मनमा आगो बल्छ र सबैलाई जलाउन मन लाग्छ तर आफ्नो मनको आगोले आफैलाई जलाउदो रहेछ ।

हतार हतार एउटा सथिकोमा गए र उसलाई यो सब कुरा बताए उसले २/४ दिनका लागि बस्न दिने आस्वाशन देखायो उसलाई धन्यवाद नदिरहन सकिन । ४ दिन बित्यो कुनै ठाउ कोठा नमिलेपछि साथीले पनि सहयोग गर्न नसक्ने बतायो । अब के गरौ कसो गरौ मनमा आधिहुरी चल्न थाल्यो, बाढी पस्न थाल्यो । अनि सम्झना थाले ती बाल्लेकालका दिनहरू, आखिर मान्छेले कुनै दुक्ख पर्दा मात्र त सुखका दिनहरू याद गर्दो रहेछ मैले पनि सम्झन थाले ती आफ्नै घरमा बिताएका जिन्दगीका गोरेटाहरू ! कति आनन्द थियो लाग्थ्यो आफ्नो घर, आमाले पकाएको मिठो खान पाइन्थ्यो, बाबाले किनिदिएको राम्रो लुगा लगाउन पाइन्थ्यो तर मैले कहिले राम्रो आभास पाउन सकिन घरमा । घरमा छदा जहिले पनि जतिबेला पनि आमाबाबाको अनुहारले वेलकम भनेजस्तो लाग्थ्यो तर अहिले जहाँ कोठा लियो, बस्यो पहिलेनै घरबेटीको अनुहार देख्दा गेट आउट भनेजस्तो लाग्छ अँझ बेलुका ढिला हुदाँ घरबेटीले गेट नखोल्दा ती चिसो समयका दिनहरू समझदा त झन् मन नै सिरिंग भएर आउछ ।

लाग्छ मान्छेका लागि डेरामा बस्नु एउटा नर्कमा बस्नु सरह हो । थाहा छैन नर्कमा कस्तो हुन्छ तर सबैले भनेको सुन्छु नर्कमा गएपछि कहिल्यै त्यो मान्छेलाई सुख र खुसी मिल्दैन रे अनि के फरक भयो र डेरा जिन्दगी र नर्कमा ?

महिना महिनामा कोठा सर्न बाध्य हुन्छ –
कहीं आफै मन नपराएर,
कहीं भाडा तिर्न नसकेर,
कहीं घरबेटीले बस्न नदिएर,
यस्तै छ डेरामा बस्नेको हाल,

तर भनेको समयमा कहाँ कोठा पाइन्छ र पाए पनि –
कहीं पूर्वकालाई दिदैनन्, कहीं पस्चिमकालाई दिदैनन्,
कहीं विद्यार्थीलाई दिदैनन्, कहीं जागिरेलाई दिदैनन्,
कहीं परिवारलाई दिदैनन्, कहीं एक्लैलाई दिदैनन्,
कहीं केटालाई दिदैनन्, कहीं केटीलाई दिदैनन्,

यस्तै छ डेरामा बस्नेको हाल, आज बस भोलि उठ ! थुक्क यो ‘डेरा जिन्दगी’ ।

लेखक: सुमन खड्का (स्पन्दन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *