छोराछोरी नभएकाेमा सारै रडाकाे थियाे । अर्की बिहे गर्ने मन थियाे पतिकाे । पत्नी सरल प्रकृतिकी थिइन् । रडाकाे नभए हुने थियाे भन्ने मन थियाे उनकाे । यही विषयकाे सधैकाे रडाकाेबाट मुक्तिका लागि अब उनीहरूले अदालतकै बाटाे लिएका थिए । अदालमा उनीहरूका मुद्दाकाे फैसला हुने दिन थियाे । अदालतबाट अब सम्बन्ध विच्छेदकाे काम पुरा भइसक्याे ।
पति र पत्नीका रुपमा गगन र गाैराकाे अब नाता रहेन । उनीहरू अब बेग्लाबेग्लै हुने भए । अलग हुनुकाे कारण अरु केही नभई छोराछाेरी नभएकाेले नै थियाे भन्ने कुरा सबैले बुझेकै थिए । अलग हुने प्रकृयामा बेग्लै कारण देखाइएकाे थियाे ।
जागिर छँदै थियाे । उमेर बितिहालेकाे थिएन । यसैले गाैराले पनि जीवनकाे बाँकी भाग कुनै उपाय गरेर बिताउँला भन्ने अाँटले गगनकाे चाहनामा बाधक नहुने निर्णय गरेकी थिइन् तर भित्र भने उनकाे याे विचारमा सहमति थिएन ।
अदालतबाट सबै काम सकेर फर्कँदै थिए । अदालतकाे बाहिरबाट एक जना पूर्व र एक जना पश्चिमतिर लाग्न अाँट्तै थिए । यसै बेला गाैराले अलिक ठुलाे अावाजमा भनिन्- “यता सुन्नु त ?!!”
गगनलाई सारै डर लाग्याे केही बैककाे सेयर केही गरगहना केही घडेरीहरू उसले देखाएकाे थिएन । गाैराले वास्ता पनि गरेकी थिइनन् । ‘अब यसले यही सबकाे हिस्सा पनि माग्ने भई’ भनेर उसकाे मुटु ढुकढुक गर्याे । तैपनि ऊ टक्क अडियाे र भन्याे- “भन्न अब पनि केही बाँकी छ ?”
गाैराले बडाे नरम स्वरमा भनिन्- “हजुरकाे भुल्ने बानी छ । समय समयमा दबाइ खान नभुल्नु है ।”
गाैराकाे कुरा सुनेर गगन अदालतकाे गेटनिर थुचुक्क बस्याे । गाैरा भने गगनले नदेख्ने गरी अाँसु पुछ्दै अाफ्नाे बाटाे लागिन् ।
