जन्मेपछिको तेस्रो दिन, जब म यस नयाँ संसारलाई चकित हुँदै विस्मयको भावले वरिपरि हेर्दै थिएँ, मेरी आमाले धाईआमालाई सोध्नुभयो, “मेरो नानीलाई कस्तो छ?”
अनि धाईआमाले भनिन्, “आमा, हजुरको नानीलाई एकदम आराम छ। मैले उसलाई तीनपटक स्तनपान गराइसकेँ, यति सानो भईकन पनि यति खुसी बच्चा मैले आजसम्म देखेको छैन।”
अनि मलाई औधि रिस उठ्यो र चिच्याउँदै भनेँ, “त्यो सत्य होइन आमा; मेरो बिस्तरा एकदम कडा छ, अनि मैले पिउने दूध मेरो मुखमा तीतो हुन्छ, अनि त्यो वक्षस्थलको दुर्गन्धले मेरो नाक कुँडिन्छ, अनि मलाई अति सकस भईराखेको छ।”
तर मेरी आमाले मेरो भाषा बुझ्नुभएन न त त्यो धाईआमाले नै बुझिन्; किनकि मैले बोलेको भाषा त्यो संसारको थियो जुन संसारबाट म आएको थिएँ।
मेरो नयाँ जीवनको २१औँ दिन, जब मेरो नामाकरण हुँदै थियो, पादरीले मेरो आमासँग भने – “तपाईँ खुशी हुनुहोस आमा, तपाईँको नानी जन्मजात क्रिश्चियन जन्मेको छ।”
अनि मलाई आश्चर्य लाग्यो र मैले पादरीलाई भनेँ – “उसो भए स्वर्गवासी तपाईँकी आमा सधैँ दुखी हुनुपर्ने, किनभने तपाईँ त जन्मजात क्रिश्चियन हुनुहुन्थेन।”
तर त्यो पादरीले मेरो भाषा बुझेन।
अनि सात चन्द्रमास पछि एक ज्योतिषले मलाई हेऱ्यो र भन्यो – “तपाईँको छोरो राज्याधिकारी हुनेछ र मानिसहरूको ठूलो नेता बन्नेछ।”
तर म चिच्याएँ, – “यो गलत भविष्यवाणी हो; किनकि म त एक सङ्गितज्ञ बन्नेछु र त्यसबाहेक केही पनि बन्ने छैन।”
तर त्यस समयमा पनि मेरो भाषा कसैले बुझेन – अनि मेरो आश्चर्य झन बढ्दै गयो।
अनि आज तेत्तीस वर्ष पछि, जब मेरी आमा, धाईआमा, अनि त्यो पादरी सबै मरिसके, (उहाँहरूको आत्मा परमेश्वरको छत्रछायामा रहिरहोस) त्यो ज्योतिष अँझै जीवित छ। अनि हिजो मैले उसलाई मन्दिरको प्रवेशद्वारमा भेटेँ; अनि जब हामी एक-अर्कासँग वार्तालाप गर्दै थियौँ, उसले भन्यो – “मलाई पहिले देखि नै थाहा थियो कि तिमी एक कुशल संगीतज्ञ बन्नेछौ भनेर। तिम्रो शैशवकालमै मैले यसको भविष्यवाणी गरिसकेको थिएँ।”
अनि मैले उसलाई पुरा विश्वास गरेँ – किनकि मैले त्यो अर्को संसारको भाषा पुरै बिर्सिसकेको थिएँ।
खलिल जीव्रानको लघुकथा The Other Language को नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
सौराहाद्वार, चितवन २०७२ भाद्र १३
