Skip to content


कुनै निर्जन पर्वतमा दुई सन्तहरू बस्दथे। उनीहरू दुवै भगवानको आराधना गर्दथे र एक अर्कालाई प्रेम गर्दथे।
त्यतिबेला उनीहरूसँग सम्पत्तिको नाउँमा एउटा पुरानो माटोको कचौरा मात्र थियो।

एकदिन एक दुष्टात्माले जेठो सन्तको हृदयमा प्रवेश गऱ्यो अनि उसले कान्छो सन्तसँग आएर भन्यो – “हेर बाबु, हामी धेरै समयदेखि सङ्गै बस्तै आएका छौँ अब हामी छुट्टिनुपर्ने बेला भयो। आउ अब हाम्रो सम्पत्ति भागबण्डा गरौँ।”

जेठो सन्तको कुराले कान्छो सन्त दुःखित भयो र भन्यो – “दाज्यू, हजुरसँग छुट्टिनुपर्ने कुराले मलाई असाध्यै पीडा दिन्छ। यदि हजुरको यही इच्छा हो भने त्यसै होस्।” अनि उसले त्यो माटोको कचौरा ल्यायो र त्यो कचौरा जेठो सन्तलाई दिँदै भन्यो – “दाज्यू, यसलाई हामी भाग लगाउन सक्दैनौँ। यो हजुरको नै होस्।”

अनि जेठो सन्तले भन्यो – “मलाई कसैको भीख चाहिँदैन। म मेरो भागभन्दा ज्यादा केही पनि लैजान्न। यसको भाग लगाउनै पर्छ।”

अनि कान्छो सन्तले भन्यो – “यदि यो कचौरा फुटाएर भाग लगाउने हो भने यो हजुरलाई या मलाई के पो काम लाग्छ र? हजुरकै खुशीको लागि भए पनि चिट्ठा थुतौँ न त, जस्को भागमा पर्छ उसैले चलाउँला।”

अनि त्यो जेठो सन्तले भन्यो – “म न्यायको पक्षमा रहन चाहन्छु, अनि म संयोगको आधारमा न्याय हुन्छ भन्ने कराको विश्वास गर्दिन। त्यसै यो कचौराको भाग लगाउनै पर्छ।”

त्यसपछि त्यो कान्छो सन्तले कुनै तर्कले पनि त्यो जेठो सन्तलाई मनाउन नसक्ने भयो अनि उसले भन्यो – “यदि यो हजुरकै इच्छा अनि खुशी हो भने लौ त यो कचौरा फुटाऔँ।”

तर त्यो जेठो सन्तको अनुहार कालो नीलो भयो र चिच्याउन थाल्यो, – “कस्तो तुच्छ कातर, लड्न भिड्नै नचाहने।”

खलिल जिब्रानको लघुकथा The Two Hermitsको नेपाली अनुवाद
अनुवादकर्ताः एकदेव अधिकारी
१६ भाद्र २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *