देशको लोरी

  • by
20200416_PeshalAcharya-Interview

जतिखेर
आस्थाको जीर्ण दरबारमा बसेर
अर्ती दिँदै श्री६ राजाहरू
समृद्ध नेपाल
र कोही पनि भोको नहून भन्ने सारांशका
गुलिया कविता लेखिरहेका थिए

ठिक त्यतिखेरै
देशभित्र
सुत्केरी भोका भएका
दीनहीन र अकिञ्चनहरूले
दालमोठ र चिउरामा रात काटेका
पानी मात्रै पिएर सास अड्याएका
अनेकन खबरहरू पत्रिकामा आइरहेका थिए,

नीरोको देशका
हामी नागरिक
पसिना पिउँछौं
रगतले नुहाउँछौं
तर पनि दुई छाक खान पुग्दैन यहाँ
हामी मजदुर
सहरमा गाँस र बास नपाएपछि
घर जान प्रचण्ड घाममा
हज्जारौं किलोमीटरको पैदल यात्रा गर्छौं
त्यसैबेला सहरका प्रिय नगर पिताहरू
जो कथित हाम्रै वर्गका हुन् भनिन्छन् भन्न त
सुरसाले मुख बाएका बेला
देश र विश्वभरि नै अनिकाल छाएका बेला
हामीमा जनता देख्दैनन्
मतदाता मात्र देख्छन्,

हामीले राहत पाउन पनि
अब सहरका मतदाता हुनै पर्ने भयो
राजधानी सिल भएको नाटक गर्छ ‘विदुशक’ सरकार
तर सदस्य मन्त्री नै द्विअर्थी सम्वाद बोल्छन्
एउटा भन्छन् –उपत्यका सिल गर्नुपर्छ अब
अर्का खोक्छन् – अब लकडाउन नखोले विद्रोह हुन्छ
कस्का कुरा पुत्याऊँ
कस्का भनाइ विश्वास गरूँ,

उहिल्यै उहिल्यै हाम्रो देशको
सिमाना मिचिन्थ्यो
तर अहिले देशको ठुलो भूभाग नै हड्पिइएको छ
छिमेकीबाट
१८ वर्षदेखि बनाएको बाटो
उद्घाट्न हुँदा मात्रै थाहा पाउने
मेन स्ट्रिमका भनिएका टिभी र अखबारहरू
राष्ट्रको तलबभत्ता डकार्ने तमाम ‘झोले हनुमान’ जासुसहरू
यतिका वर्ष कहाँ निदाए ?
यतिका वर्ष किन चुप लागे ?

दुवै छिमेकी अब शत्रु भएका छन्
दुवैतिरबाट चेपेका छन्
सङ्कल्प गरेर हामीले फेरि अर्कोपल्ट
हामी भित्रैबाट
एउटा इमान्दार जङ्गबहादुर
जन्माउनु परेको छ
जसले कम्तीमा आमाको इज्जत बचाओस्
र ससाना नानीहरूलाई
निर्वाध लोरी सुनाउने वातावरण बनाओस्,

वर्तमानमा शासनको लगाम लिएका
आठपासे र दसपासे हुँडारहरूले
विदेशबाट स्वदेश फिर्ती हुन पनि दिएनन्
हाम्रा कर्मशील दाजुभाइहरूलाई
रगत पसिनासँग साटेको रेमिट्यान्सबाट
महँगा महँगा गाडी चढ्ने
नेता हुने
देश लुट्ने
आज विदेशका राजदूतहरू
मरे बाँचेको कुनै खुट खबर छैन
लाखौं लाख जनताहरू
स्वदेश फर्कन चाहन्छन्
हज्जारौं हजार जनताहरू दस गजामा लाइन लागेका छन्
घरको सँघार टेक्न
पैसा तिरेर महाकाली तरिरहेछन् ववुराहरू
गरीब दाचुर्ली र बेतडेलीहरू विचरा !
तर सरकारसँग
न योजना छ
न त चाहना छ
थुरथुर काँप्दै
पाइन्ट र सुरुवालमा सुसु गरिरहेछन्
घर र विदेश मन्त्रीहरू !
कि जनताहरू देश फिरेपछि
हाम्रो कुर्सीरहँदैन भनेर
डरले आँधीको पिँडालु भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *