Skip to content


“रिक्सावाल भाइ, खाली हो ?” सोधिन् सुभद्राले ।

“खाली नै हो हजुर” रिक्सावालले उत्तर दियो ।

“जानकी मन्दिरसम्म जानु छ । त्यहाँसम्मको कति लिन्छौ ?”

“बीस रुपियाँ हजुर ।”

“पन्ध्रले हुन्न ?”

“रेटै यही छ हजुर ।”

“लौ त जाऊँ ।”

सुभद्रा रिक्सामा बसिन् । रिक्सावालले समयमै पुर्याइदियो जानकी मन्दिरअघि । भाडा दिने बेलामा सुभद्राले दसको एक नोट र पाँचको एक नोट मात्र देखाइन् । रिक्सा भाडा दिनलाई तयार पारेको पाँचको अर्को एक नोट लुकाउँदै उनले भनिन्- “लौ हेर मेरो बुद्धि । मसँग ता पन्ध्र रुपियाँ मात्र पो रहेछ त । लौ के गरुँ ?”

रिक्सावालले नचाहँदा नचाहँदै पनि सुभद्राले पाँच रुपियाँ लुकाउँदै गरेको दृश्य देखिहाल्यो । देखेर पनि उसले कुनै प्रतिवाद गरेन । यस्तो गर्नेहरू धेरैलाई उसले देखेकै छ अनि किन कचकच गरोस् । ‘मरोस् है’ भन्ने ठानेर उसले भनिदियो- “हुन्छ हजुर, त्यति नै दिनुहोस् ।”

“कस्ती होला म पनि हुस्सु । यसो भाडा ता बोकेर हिंड्नु पर्छ नि ।” रिक्सावालले सुन्ने गरी आफैं भुत्भुताएझैं गरिन् र ओर्लिएर मन्दिरतिर लागिन् । रिक्सावाललाई तिनले सेतो झुट बोलेको सुनेर खपिनसक्नुभयो र जाँदाजाँदै गरेकी सुभद्राको ध्यान तानिने गरी निकै उत्तेजित हुँदै भन्यो,”हुन्छ हजुर हुन्छ, मेरो परिश्रमको पाँच रुपियाँ उभारेर दरबार बनाउनुहोला, अथवा माताको नाममा चढाउनुहोला….. हजुर, हजुरको कल्याण होस् ।”

सुने पनि नसुनेझै. गरी उनी अघि बढिन् र जानकी मन्दिरमा गएर रिक्साभाडाबाट उभारेको पाँच रुपियाँ माता जानकीलाई सिंगै चढाइन् । चढाउँदा चढाउँदै सम्झिरहेकी थिइन् फर्कंदा पो कुन रिक्सावाल पर्ने हो कुन्नि । अघि ता बचत भयो पाँच रुपियाँ । अब जाँदा पनि पाँच रुपियाँ बचाउन पाए ता नातिनीलाई चक्लेट किनिदिन्थें…. तै हेरुँ माताले कत्तिको इच्छा पुर्याउँदिरहिछिन्…….”

Leave a Reply

Your email address will not be published. Required fields are marked *