प्रतिभाको पहिचान


दृश्य १
(एउटा भव्य कोठा, सजावटका विभिन्न सामग्रीहरू, बीचमा भव्य किसिमको बेड अनि त्यसको दायाँ बायाँ कम्प्युटर र पढ्ने टेवल राखिएको छ । टेवलमा फूलदानी अनि केही पाठ्यपुस्तक र केही हिन्दी अङ्ग्रेजी चलचित्रका रङ्गीन पत्रिकाहरू प्रस्टै देखिएका छन् । पढ्न बसेको दीपक कहिले काहीँ मात्र पाठ्यपुस्तक हेरेजस्तो गर्छ । बढी ऊ रङ्गीन पत्रिकामा नै रमाइरहेको हुन्छ ।)
दीपक : (अँध्यारो मुख लगाउँदै पाठ्यपुस्तक समाएर) बाबा मम्मीको लागि यो पढ्नु पर्ने…. पढ्न मन लागे त हो नि …. (नाक खुम्च्याउँदै) मनै नलागेपछि पढेको कुरा कसरी दिमागमा जाओस्…. ।
(पर्दापछाडिबाट आमाको आवाज आउँछ ।)
आमा : दीपक….. ए… बाबू …… राम्रो पढ है …. राम्रो पढ ।
दीपक : हस् …. मम्मी …..
आमा : राम्रो पढेर पाइलट बन्नु छ नि तिमीले …. । उत्तिकैमा तिम्रो साथी शायना कति पढिरहन्छे …।
दीपक : हस् … मम्मी … हस् …. हजुरले चिन्ता गर्नै पर्दैन …. । त्यसो त शायना पनि मजस्तो त कहाँ छ र मम्मी ….. (उसको हातमा भने चलचित्रका रङ्गीन पत्रिका हुन्छ । त्यसैलाई हेर्दै…) यस्तो पत्रिका पढेर यसकै बारेमा जाँच दिन पाइने भए पो …. बाबाका लागि डाक्टर बन्नु रे… मम्मीका लागि पाइलट … अनि मामाका लागि इ. र हजुरबाका लागि पण्डित…. हरे शिव !
(छेवैमा भएको मोबाइल निकालेर डायल गर्छ अनि कुराकानी सुरु हुन्छ)
दीपक : ओए समीर …., तँ के गर्दैछस् ?
समीर : के न के … अनि तँ चाहिँ … ?
दीपक : के गर्नु र … मम्मी पढपढ भनिरनु भको छ तर… म चाहिँ … उही त हो तँलाई था छँदै छ नि … (उही रङ्गीन पत्रिका खेलाउँदै …. )
समीर : अँ…. भन् किन फोन गरिस् ?
दीपक : मेरोमा त फेसबुक धेरै चलायो भनेर नेट नै बाबाले काटिदिनु भा छ । मोबाइल पनि बल्ल बल्ल छुन मात्र पाइन्छ । नेटमा हेर त … बजरङ्गी भाइजानले आजसम्म कति करोड कमाएछ ?
समीर : एक छिन पखै त ….. (केही समयपछि) ५९४ करोड ….
दीपक : आम्ममम …… अनि सुन त, तँसँग कुनै पोट्रेट छ भने यसो म्यासेन्जरमा सेन्ड गर्दे है । ल अहिले फोन राख्छु ल । भरे स्कुलमै कुरा गरुला …. ।
समीर : ल ल ।
(फोन राखेर पत्रिकाका पाना पाना हेर्दै कल्पनाको संसारमा हराउँछ । नाचगानमा मस्त हुन्छ, रङ्गीन संसारमा हराउँछ । फिल्मी दुनियामा मग्न हुन्छ । अर्को कोठाबाट नै फेरि आमाको आवाज आउँछ ।)
आमा : दीपक ….. ए … छोरा … पढ्दै छौ कि सुत्यौ हँ …. ?
दीपक : (तद्राबाट झल्यास्स ब्यूँझँदै) मम्मी म पाइलट बन्दै छु…. अँ … अँ… पाइलट बन्नका लागि पढ्दै छु … ।
शायना : (डोर बेलको आवाजसँगै) दीपक …… ए …. दीपक …..
आमा : ए…. शायना पो …… ?? ए ….. दीपक… शायना पनि आई …. है …..
शायना : नमस्ते… आन्टी ….
आमा : नमस्ते नानी …. सञ्चै छौ ?
शायना : हजुर ….
दीपक : शायनालाई यतै पठाइ दिनु न मम्मी ….
शायना : ल … ल.. म आफैँ आएँ … (शायना दीपकको कोठामा आउँछे । टेबलको छेउमा बस्दै…) खुब पढ्छस् कि क्या हो आजकल … ?
दीपक : (छड्के आँखाले हेर्दै) पढ्नु परेन त …. डा., इ., पाइलट, पं सबै बन्नु छ … आफूले ….
शायना : (हाँस्दै) नहँसा न फेरि ….. रत्नाकार पो बाल्मीकि बने त …. तँ रत्नाकर होस् र ?
(डोर बेलको आवाजसँगै बजारबाट टन्न सामान लिएर दीपकको बाबा पनि आइपुग्छन् । सरासर उनी दीपककै कोठामा आउँछन् । पछिपछि दीपकको आमा पनि आउँछिन् ।)
आमा : ए… चाँडै आइपुग्नु भएछ त ….
बाबा : अँ … आज धेरै किनमेल नगरेको ….
आमा : (झर्किँदै) सामान त उहीँ किचनमा राख्नु पर्छ ।
बाबा : ए.. शायना…, तिमी पनि पो यहीँ …. ?
शयना : (उठेर नमस्कार गर्दै) नमस्ते अङ्कल…., हजुर । एकछिन दीपकसँग केही पढाइको छलफल गरौँ अनि आज हाम्रो स्कुलमा प्यारेन्ट्स डे भएकाले उसलाइसँगै जाऊँ भन्न पनि आएको ।
दीपक : (रिसाएजस्तो गरी) तैँले नभने नि जैलेसँगै त जाने हो नि … ।
शायना : भए पनि …. नरिसा न …. (नम्र भावमा)
बाबा : ठिक छ शायना … एकछिन रिसाउनै देऊ न त … । सिनेमाको पत्रिका हेर्न नपाएर किताब हेर्न परेपछि यस्लाई यस्तै हो । (सोफमा बसेर हात पुछ्दै) ए… साँच्चै प्यारेन्ट्स डे को प्रोग्राम चाहिँ कति बजेबाट रे ?
शायना : अँ …. ११ बजेबाट हो अङ्कल । आज प्यारेन्ट्स डे मात्र नभएर हाम्रो रिजल्ट पनि हो नि । अङ्कल आन्टी दुवै जना आउनुहुन्छ होला नि है ?
बाबा : म र दीपक मात्र आउँछौँ होला नानी …. ।
आमा : हैन… हैन… हामी दुवै जना आउँछौँ, बाबूकै स्कुल जानलाई कत्रो हतार गरिराछु । (अर्को कोठाबाट आएको आवजसँगै उनी पनि दीपककै कोठामा आइपुग्छिन् ।)
बाबा : अनि दीपक, टेस्टहरू चाहिँ कस्तो गर्या छस् त ?
दीपक : खै बाबा… दिन त राम्रै दिएको छु … आउँदा चैँ के हुने हो … । (छेवैमा भएको मोबाइल खेलाउँदै बेडमा नै पल्टिरहेको हुन्छ ।) ९ बज्न लागेछ मम्मी, स्कुल जान ढिला हुन्छ फेरि ।
शायना : ल ल… अब म पनि खाना खाएर मामु पापालाई लिएर आउँछु । अहिले गएँ है त अङ्कल आन्टी । ओए … दीपक बाइ…..
(बाबा सोफामा बसेर पत्रिका पढिरहेका हुन्छन्, यत्तिकैमा हुन्छको भावमा टाउको हल्लाउँछन्, मम्मी कपडा पट्याउँदै हुन्छिन् अनि दीपक चाहि मोबाइलमा नै झुन्डिरहेको हुन्छ ।)
दीपक : ल ल जा …. यति भन्न पनि तँलाई यहीँ आउनु पर्ने …, फोन गरे हुन्नथ्यो ?
शायना : (मुख बनाएर जिस्क्याउँदै) लु… अबदेखि नआउँला नि त तेरोमा भएन …. ? (केही हाँसोको भाव छोडेर त्यहाँबाट जान्छे ।)
आमा : यसको बानी यस्तै छ… नानी… माइन्ड नगर है …।
(पर्दा बन्द)
(पृष्ठभूमिमा हस् भनेको शायनाको आवाज आउँछ।)
दृश्य २
(विद्यालयको प्राङ्गण, विभिन्न विषयका विषय शिक्षक टेवल राखेर बसेका छन् । आआफ्नो टेबलको माथि नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक लागायत अन्य विषयहरू नेपाली र अङ्ग्रेजी दुवै माध्यममा लेखेर २÷२ मीटरको अन्तरमा देबल राखिएको छ। एउटा टेबलमा चहिँ कक्षा शिक्षक विधान के.सी. लेखिएको छ । केही अभिभावक र विद्यार्थीहरू कुनै कुनै विषयका शिक्षकहरूसँग आफ्ना छोराछोरीको प्रगति विवरण बारे छलफल गरिरहेका छन् । दीपक चाहिँ सबैभन्दा पहिला आफ्ना आमाबाबालाई उसको विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक नवीना गुरुङसँग भेट गराउन लैजान्छ ।)
दीपक : गुड मर्निङ म्याम…
नवीना : मर्निङ… दीपक
(बाबाआमा दुवै एकै स्वरमा हाँसोको भावमा) नमस्कार है म्याम …
नवीना : नमस्कार हजुर, (आराम विरामको कुरा साटासाट हुन्छ ।)
बाबा : छोरोले यसपालिको परीक्षा कस्तो गरेको होला …… ??? के छ यसको हालचाल …..
नवीना : म उसको परीक्षाको विषयमा त त्यति जानकार छैन ….. म उसको अतिरिक्त क्रियाकलाप संयोजक हुँ ….. यसपालि त बाबूले गज्जबै गरेको छ नि सर । उसले गर्दा हाम्रो स्कुलले यसपालि धेरै नै टुर्नामेन्ट जित्यो ।
बाबा : किताबभन्दा बाहिरको कुरामा त यसको कुनै कम्प्लेन नै छैन म्याम … पढाइमा पो कस्तो गर्यो खै ।
आमा : घरमा पनि पढ्नभन्दा धेरै केके पत्रिका हेरिबस्छ… खासै पढ्दै पढ्रदैन, कि मोबाइलमा व्यस्त कि त पत्रिकामा नै व्यस्त हुन्छ । कति भने पनि लाग्दैन … ।
नवीना : यसपालि अन्तरविद्यालय नाटक प्रतियोगिता भएको थियो । त्यसमा उसले गरेको अभिनयकै कारण हामी प्रथम भयौँ नि … । सर म्याडमहरूले उसको बारेमा चिन्ता गर्नै पर्दैन । ऊ असाध्यै मेहनती छ । ल हेर्नुहोस् उसले यसपालि मात्र पाएका प्रमाण पत्रहरू यति धेरै (नवीना सर उसको सर्टिफिकेटहरू दिन्छन् ।)
बाबा : खै म्याम, पढेर डाक्टर बन्छ कि भनेको यसले त के गर्छ गर्छ …. ?
नवीना : मेडिकल डाक्टर नभए नि ऊ आफ्नो जीवनको डाक्टर अवश्य बन्छ सर… दीपक बडो चलाख छ । पढाइ नै सबै कुरा पनि त मान्नु भएन नि । बच्चाको रुचिलाई पो ध्यान दिनु आवश्यक छ त सर ।
(सर्टिफिकेट लिएर त्यहाँबाट खुसीको भावमा नवीना म्यामसँग बिदा मागी नजिकै भएका नेपाली विषयको शिक्षक राजन निरौला भएको ठाउँमा पुग्छन् ।)
राजन : ए… दीपक बाबू… सर म्याडमहरूलाई नि नमस्कार
(दीपकका बाआमा दुवै जना सङ्गोलमा नमस्कार फर्काउँछन् । आराम विरामको कुरा हुन्छ ।)
आमा : बाबू कस्तो छ हजुरको विषयमा सर…?
राजन : म बाबूलाई नेपाली पढाउँछु म्याम ….. बाबू खासगरी लेखाइमाभन्दा बोलाइमा निक्कै अब्बल छ । मज्जाले हाउभाउ मिलाएर भाँती पुर्याएर बोल्छ म्याम ।
बाबा : त्यो त हो सर तर लेखाइ भएन भने बोलाइले मात्रे त के होला र सर ?
राजन : लेखाइमा पनि चिन्ता गर्नु पर्ने अवस्था चाहिँ छैन सर त्यसो त । पाठ पढाउँदा खास गरी गीत, सङ्गीत, संवाद र नाटकमा बढो रुचि राख्छ र कुनै भूमिका दिए कलाकारलेभन्दा राम्रो अभिनय गरेर कक्षामा देखाउँछ । हामी त उसको कला देखेर अचम्मै हुन्छौँ सर…।
आमा : सर, यसलाई त लेखाइमा पनि उसको अभिनयमा जत्तिकै अब्बल बनाइदिनु पर्यो हजुरले ।
राजन : हुन्छ, सर म्यामहरूले चिन्ता नगर्नुस् । म आफ्नो तर्फबाट सहयोग गर्छु । बाबुले पनि केही मेहेनत गर्छन् अनि त कसो नहोला …. ।
(केही आश्वस्त भएर त्यहाँबाट उनीहरू अर्को विषय शिक्षक विज्ञान लेखिएको टेबलमा पुग्छन् । त्यहाँ निकै भीड र ठूलो हल्ला खल्ला सुनिन्छ । विज्ञानका विषय शिक्षक जीवन गुप्ता भएको ठाउँमा केही छिनको पर्खाइपछि पुग्छन् । शायना पनि आफ्नो अभिभावकका साथ त्यही हुन्छे ।)
शयना : नमस्कार सर ….
जीवन : ए … शायना … कोसित आयौ ?
शायना : मामु पापासँग सर …
शायनाकी आमा : नमस्ते सर …. यसपाली शायनाले साइन्समा कस्तो गरी कुन्नि … अरु त सबैमा राम्रै रहेछ ….. ।
जीवन : अरुमा राम्रो …. साइन्समा त झन् अब्बल भन्नै नपर्ने ….शायनाले साइन्समा ए प्लस पाएकी छन् ।
शायनाकी आमा : (मख्ख पर्दै) स्याबास …. छोरी हामीले चाहेको यस्तै हो …. एक्सेलेन्ट ! किप इट अप !
शायना : थ्यांक्यु मामु …. थ्यांक्यु सर… आइ विल ट्राइ फ्रम माइ साइड ……
शायनाका बाबा : ए …. मेरी छोरी त खोइ नि मलाई चैँ थ्याङ्क्यु …. ? बिर्र्सिकी ….?
शायना : सरी पापा …. आइ एम सो सरी ….. थ्याङ्क्यु सोच माइ स्वीट पापा…… (उनीहरू त्यहाँबाट बिदा हुन्छन्, त्यहीँ दीपकका बाबुआमा उनीहरूको संवाद सुनिरहेका हुन्छन् ।)
दीपक : गुड मर्निङ सर……
जीवन : ए … दीपक मर्निङ … अँ के छ तिम्रो खबर ?
दीपक : (टाउको निहुराएर ठिकै छ को भावमा मुन्टो मात्र हल्लाउँछ ।)
जीवन : (दीपकको बाबाआमालाई बस्न सङ्केत गर्दै) बाबुको घरमा कस्तो छ व्यवहार ? कत्तिको पढ्छ ?
आमा : खै के भन्ने सर पढेकै हुन्छ हुन त…।
जीवन : यसपालि पनि दीपकले साइन्समा त्यति राम्रो गर्न सकेन सर म्याम, भन्न पनि अप्ठ्यारो…. जति प्रयास मैले गरे पनि ऊ आफू साइन्समा कहिल्यै रुचि राख्दैन … । दिमाग नै नभएको त हैन ।
(एकाएक सपरिवारको खुसीको भाव हराउँछ । सबभन्दा बढी बाबाको अनुहारमा तनाव देखिन्छ । जीवन पनि बडो अफसोचमा देखिन्छन् ।)
बाबा : अब यो डाक्टर नबन्ने भो । (लामो सास तान्दै) उत्तिकैमा शायनाको कस्तो राम्रो रिजल्ट छ । अनि कक्षामा चाहिँ के गर्छ त सर यो ?
जीवन : म उसलाई मात्र समय दिन सक्दिनँ । यसो एकछिन समय दियो राम्रै गर्छ । म अन्यत्र लाग्यो ऊ केके जातिको अभिनयमा लागिहाल्छ ।
आमा : यो त पाइलट पनि नबन्ने भो … अब….।
(निराशा र तनावले भरिएको मन लिएर कक्षा शिक्षक विधान के.सी. भएको ठाउँमा पुग्छन् । उनीहरूलाई बोल्ने मन हुँदैन । परिस्थिति बुझेर विधान सरले नै वातावरणलाई सहज बनाउन प्रयास गर्दै औपचारिक नमस्कारको आदान प्रदान गर्छन् । दीपक र उनका बाबाआमालाई बस्न सङ्केत गरेर पानी पिउँदै ।)
विधान : दीपक, किन यति उदास तिमी ?
दीपक : (टाउको निहुराएरै सानो आवाजमा) मेरो यसपालि पनि साइन्स बिग्रियो सर ।
विधान : (सम्झाउने शैलीमा) हेर बाबू, घोडा चड्ने मानिस मात्र लड्छ, परीक्षा दिने विद्यार्थी मात्र फेल हुन्छ । खेलमा हार र जित भएजस्तै त हो बाबू, एकपटक हार्दैमा जीवनमा हरेश खाएर खेल खेल्नै छोड्न त हुँदैन नि ।
बाबा : तर, सर खै यस्ले त कहिले पो जित्ला र ?
विधान : हिम्मत हार्नु हुँदैन नि सर । पढाइ नै सब कुरा होइन । ऊ एउटा साइन्समा त हो कमजोर भएको तर …. उसको हातमा हेर्नुस् त कति धेरै प्रमाण पत्र छन् … ।
आमा : (दिक्क मानेको भावमा) हैन सर … यसको यो प्रमाण पत्रले पाइलट बन्छ र ?
विधान : जहाज उडाउने पाइलट नबने नि जीवनलाई सफलताको आकाशमा उडाउने पाइलट अवश्य बन्छ म्याडम । बोलीको प्रभाव राम्रो छ, अभिनयमा कुनै कलाकारले भेट्दैन, खेलकुदमा पनि उत्तिकै अब्बल छ दीपक… अलिकति मिहिनेतको खाँचो छ पढाइमा त्यो पनि साइन्समा मात्र ।
बाबा : यसलाई सम्झाबुझाई गरिदिनु पर्यो सरहरूले घरमा पनि अलिक पढोस् । (खिन्नताको भावमा)
विधान : (दीपकलाई धाप मार्दै) बाबुले धेरै कुरा सम्झि बुझिसकेको छ । अब उसलाई उसको इच्छाको काम गर्ने पनि केही मौका दिनुस् । उसको कामको पनि सम्मान गरिदिनुस् । बाबु आफै बुझ्ने भइसकेको छ । (दीपकतिर हेर्दै) होइन र ?
दीपक : (हो को भावमा मन्टो हल्लाउँदै आमाबाबा र विधान सरलाई हेर्छ । आमाको मुहारमा केही चमक देखिएको हुन्छ तर बाबा भने केही खिन्न नै देखिन्छन्)
पर्दा बन्द हुन्छ ।

दृश्य ३
(लामो समयपछि दीपकको काका काकी अमेरिकाबाट आएका हुन्छन् । साँझको समय घरमा एक किसिमको खुसीको वातावरण चलिरहेको हुन्छ । दीपक र बा भने त्यति खुलेर रमाइरहेका हुँदैनन् । दीपक साइन्समा फेल भएको कारण उनीहरूको मनमा आएको निराशा प्रस्टै अनुहारमा देखिन्छ । दीपकको काकालाई भेट्न दीपकका केही साथीहरू, अनि काकाकै साथीहरू, काकीका साथीहरू, बाबाका साथीहरू पनि आएका छन् । घरमा भीडभाड निकै बाक्लै देखिन्छ । दीपकको बालाई सम्झाउने बुझाउने प्रयास गदै छन् काका । )
काका : ए … साँच्चै दाइ … अघि त आराम बिरामको कुरा मात्र भयो । (कोठाको अर्को कुनामा जाँदै) दाइलाई आज म अलिक उदास देख्छु नि … ।
बाबा : के भन्ने र ? (अलिक निराशाकै भावमा) यस्तो रमाइलोको बेला… यत्तिका वर्षपछि तँ आउँदा पनि केही खुसीको खबर दिन सकिएन… ।
काका : किन र दाइ के भयो ? कि…. दीपकको पढाइको कुरा … ?
बाबा : अँ … (थप कुरा गर्न खोज्दा खोज्दै)
काका : ए… ए…. मैले अघि नै थाहा पाइसकेँ नि …. अनि दीपकलाई सम्झाई पनिसकेको छु तर तपाईंको अनुहारमा खुसी नआएको कारण मात्र ऊ पनि निराश बनेको छ । (दीपक निराश मुद्रामा मोबाइल चलाइरहेको ठाउँतिर देखाउँदै) ऊ : हेर्नुस् त ।
बाबा : छोरो डाक्टर नबन्ने भो … अब साइन्स नै फेल गर्छ । केके को सर्टिफिकेट ल्याउँछ ल्याउँछ । (मन्टो निहुराउँदै) चाहिने नचाहिने काममा चाहिँ अब्बल रे….
काकी : (काकाको छेवमै उभिएर) दीपकले साइन्स मात्रै त बिगारेछ नि … किन यति धेरै चिन्ता गर्नु पर्यो र ? उता अमेरिकामा त कुन विषयमा कमजोरभन्दा पनि कुन विषयमा ऊ सक्षम छ भन्ने विचार गरेर एजुकेशन दिने चलन छ नि दाजु … ।
काका : चाहे ऊ अभिनयमा राम्रो होस् वा ऊ गीत गायन अनि वादविवाद …. उसको प्रतिभा हेरेर उसको पर्सानालिटी डेभलप गरिन्छ । मैले वहाँ पढाउने स्कुलको फिलोसोफी पनि त्यही नै हो ।
आमा : भन्न त दीपकको कक्षा शिक्षक विधान सरले पनि यस्तै कुरा गर्दैथे है ….
बाबा : नेपालमा यस्तो कुरा गरेर के गर्नु …. आखिरमा केही बन्ने पनि होइन बनेर पनि केही गर्न दिने होइन । (दिक्क मान्दै)
काका : हेर्नुस् दाइ…. छोरोलाई अब डाक्टर, इन्जिनियर अनि पाइलटै बनाउँछु भनेर हुँदैन । जे उनीहरूले बन्छु भन्ने चाहन्छन् । हामीले त्यसका लागि फेसिलियट गर्ने हो …. ।
काकी : दाइ बरु यसो गरौँ न त … (बाबुलाई आफूतिर मायाले तान्दै) हामी उसलाई उतै लगेर पढाउँछौ अनि जे बने पनि हजुरका लागि गर्व गर्न लायक छोरो बनाएर पठाउँछौँ ।
काका : आखिर हाम्रो पनि त छोरो नै हो । उसले जे बन्न चाहन्छ म त्यसको लागि उताको स्कुल मेनेजरसँग अहिले नै स्काइपमा कुरा गरिहाल्छु ।
(ल्यापटपबाट स्काइपको अन गरेर अमेरिकास्थित आफूले पढाउने स्कुलका मेनेजरसँग दीपकको बारेमा विस्तृत कुरा गर्छन् । पृष्ठभूमिमा यता अरु परिवार भने पारिवारिक रमझममा रमाइरहेका हुन्छन् । )
काका : हेलो जेनी, नमस्कार ! हाउ आर यू ?
मेनेजर जेनी : नमस्कार–नमस्कार, आई एम फाइन, तपाई नि ?
काका : अँ, म पनि आरामै छु ।
काका : जेनी…, तिमीसँग एउटा सल्लाह लिऊँ भनेर ।
जेनी : आफकोर्स….. !
काका : मेरो भतिजो दीपक लिवरल आर्टमा निक्कै राम्रो रहेछ । उसको प्रतिभा बेजोड लाग्यो । साइन्समा भने अलि कमजोर रहेछ ।
जेनी : साइन्समा कमजोर हुँदैमा के भो त ? साइन्स मात्र जीवन हो र ?
काका : हुन त होइन …. त्यसैले त मैले उसलाई अमेरिका पठाउने विचार गरेँ नि । तपाईँ के सल्लाह दिनुहुन्छ ?
जेनी : तिमीलाई थाहै छ नि । यहाँ त साइन्समै राम्रो हुनु पर्छ भन्ने छैन । साइन्स कमजोर भए पनि राम्ररी एड्मिसन पाउन सकिन्छ । तपाईँ भन्नुहुन्छ भने दीपकजस्तो विद्यार्थीलाई अमेरिकामा एड्मिसन पाउन कठिन छैन । यहाँ विद्यार्थीले आफ्नो रुचिअनुसार पढ्न पाउँछन् ।
काका : थ्याङ्क्यु जेनी ……
जेनी : वेल कम …. पठाउने पक्का हो भने त्यस्तो ट्यालेन्ट विद्यार्थीलाई स्कलरसिप पनि दिलाउँछु नि …..
काका : थ्याङ्क्यु सो मच जेनी …. बाइ
जेनी : बाइ … ह्याब अ नाइस टाइम ….
काका : सुन्नुभयो दाजुभाउजू ! जीवनमा साइन्स ठूलो कुरा होइन । हामीले उनीहरूलाई इच्छा नभएको कुरामा जबरजस्ती गर्नु हुँदैन ।
काका : ल बधाइ छ …. तँलाई यहाँ साइन्समा कमजोर भए नि अमेरिकामा पढ्न पाउने भइस् । ल बधाइ छ दाइभाउजूलाई पनि …. उताको मेनेजरले भोलिबाट नै सबै डकुमेन्टेसन गर्नु यहाँबाट म १००∞ स्कलरसिप मिलाउने प्रयास गर्छु भनेका छन् ।
बाबा : हैन, यस्तो अल्छे, पत्रिका मात्र हेर्ने, केकेको चित्र कोर्ने, दुनियाँको क्यारिकेचर गर्ने, साइन्समा गुल्टिने विद्यार्थीलाई पनि छात्रवृत्ति ? (अचम्मको भावमा) त्यो पनि अमेरिकामा …?
काका : ती सबै यसको ट्यालेन्ट हो । त्यहाँ विद्यार्थीमा जुन ट्यालेन्ट छ । त्यसैलाई तिखारेर अब्बल बनाउने काम हुन्छ । यसलाई यही राखेको भए सबैको नजरमा यो चटके हुन्थ्यो, बेलैमा अवसर पाउने भयो अब डा. पाइलट, इन्जिनियर नबने नि एक सफल व्यक्ति अवश्य बन्ने छ दाइ… ।
शायना : अब त तैँले सोचेजस्तै हुने भो …. कङ्ग्य्राचुलेसन …. दीपक ….. (बधाइको अङ्गालोमा बाँधिन्छन् ।)
दीपक : (बाबाको अनुहारमा हेर्दै, त्यति खुसी नभई) खै शायना …. धेरै कुरा अँझै बाँकी छ ।
शायना : अब त खुसी हु दीपक ….. (लामो मायालु आवाजमा)
आमा : (दीपकलाई अङ्गालोमा बाँधेर) तेरो काकाले यत्ति धेरै बुझाउनु भयो अब त मैले बुझिसकेँ नि छोरा … अब त हाँस ।
काका : (केही खुसी देखिएका दीपकका बाबालाई अङ्गालो हाल्दै) दाइ….. अब त हाँस्नुस् … छोरोको भविष्य पहिल्यै सुन्दर थियो अब सुनमा सुगन्ध थपिएको छ ।
बाबा : (हाँसो मिश्रित आवाजमा छोरालाई अङ्गालो हाल्दै) बुझेँ बा… बुझेँ …. हाहाहा….. छोराछोरीलाई राम्रो शिक्षा मात्र होइन राम्रो अवसर पनि चाहिने रैछ ….. ।
(सबै जना हो हो को भावमा गललल्ल हाँस्छन्, परिवारै उल्लासमय वातावरणमा रमाउँछन् । पृष्ठमूमिमा सङ्गीतको मीठो धुुन गुञ्जिरहेको हुन्छ ।)
पर्दा बन्द ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *