Skip to content

एउटा अदृश्य मनको शैल्यक्रिया


‘एउटा अदृश्य मन’ गजलसङ्ग्रहकी गजलकार निशाक्षेत्रीको कृति प्राप्त भएको लामो समय भए पनि अध्ययन गर्ने समय मिलेको थिएन आज पढ्न पनि पाएँ र केही लेख्न पनि मन लाग्यो । २०२५ सालमा इलाम नेपालटारमा जन्मेर, झापा, घैलाडुब्बा, लक्ष्मीपुर–९मा स्थायी बसोबार गर्र्दै हाल इजरायलमा रोजगारीको सिलसिलामा पुगेकी निशा क्षेत्रीले नेपाली गजल समुद्रमा गजल कृति थप्नु भनेको प्रशंसनीय काम हो । उनका गजलहरू संयुक्तरूपमा २०७१बाट प्रकाशनमा आएका छन् भने ‘एउटा अदृश्य मन’(२०७२) भने उनको एकल कृति हो । कृति प्रकाशनको हिसावले उन्को यो पहिलो कृति हो । हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन, नेपालकी विशिष्ट आजीवन सदस्य र यही कृति नै निशाको र मेरो बीचको परिचय पनि हो । आवरण पृष्ठ सहित यस कृतिको संरचना ६६ पृष्ठ छ । हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनले प्रकाशन गरेको यस कृतिको मूल्य १५०/–राखिएको छ ।

साहित्यकारहरूको कृति र कृतिकार प्रतिको धारणा –विश्व नेपाली साहित्यि महासंघका विश्व केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्षले लेख्नुहुन्छ –‘मातृभूमि र लालाबालाको सम्झनाले लतपतिएका उनका तरल अनुभूतिहरू यो सङ्ग्रहमा बगिरहेको भेटिन्छ’ । पुष्प अभिखारी अञ्जलिले लेख्नुहुन्छ –‘गजलकार निशा क्षेत्रीले संवेदनाको धरातलमा उभिएर आफ्ना मन भित्रका असंख्य अनुभूतिहरूलाई आफ्नो अअभिव्यक्तिमा सजीव चित्रण गरिदिएकी छन्’ । प्रभाकर पण्डितले भूमिका लेखनमा लेख्नुहुन्छ– ‘ अमरत्वको अभिलाषासहित एउटा अदृश्य मन लिएर उपस्थित भएकी छन् निशा क्षेत्री’ । प्राज्ञा वियोगी बुढाथोकीको धारणा यसप्रकार छ –‘मन त अदृश्य भएकै जाती हो । दृश्यमा छाए पछि त बिछोडका काँडाहरू घोच्न आउँछन् र तोडिन्छन् बाचा बन्धनहरू’। विजयराज ज्ञावली लेख्नुहुन्छ –‘गजलसङ्ग्रह एउटा अदृश्य मनभित्रका प्राय गजलहरूले नेपाली माटो र मुटु बोलेका छन्’ । रुद्र अधिकारीले शुभकामना दिंदै लेख्नुहुन्छ – ‘निशा क्षेत्री कटुवालजीको मनमा लुकेका अनेक भावनाहरू व्यक्त भएको आभास पाउन सकिन्छ यो सङ्ग्रहमा ’। स्वय म निशाजीको धाराणा पनि मनन् योग्य देखिन्छ । उहाँ भन्नुहुन्छ–‘मान्छेले जन्मेर आफ्नो देश मातृभूमिका लागि केही दिनुपर्छ । मसँगै देशलाई दिने पसिना र श्रम विदेशीको घरमा सिञ्चित भएको छ । तर त्यही पनि सुगन्ध भने साहित्य मार्फत आफ्न्र देशको निम्ति, माटो र समाजको निम्ति एउटा अदृश्य मन यहाँहरूलाई दिएकी छु ’। निशाजकिो धारणा यथार्थ परक छ । देश निर्माणमा देशका युवा युवतीका योगदान गहन हुन्छ तर आज नेपाली युवाहरूको जोश जाँगर, धेरै लगानी गर्न सक्नेको अमेरिका, यु.के., अष्ट्रेलिया, जापानमा र गरिबका छोराछोरीको खाडी मुलुकमा सिञ्चित भएको छ । देशका जमिन बाँझिएका छन् । बुढाबूढीले आँगन कुरेका छन् भने समाजिक संरचना नै भत्किन थालेको छ ।

कृतिले पस्केका धारणा – एउटा अदृश्य मन देशप्रेम, पीडा, नारीचिन्तन प्रेमप्रणय, जीवन संघर्ष, एकल नारीको पीडाको दस्तावेज हो भन्न सकिन्छ । गजलमा लेखिएका भावपूर्ण अभिव्यकितले यस्तै यस्तै संदेश दिन्छन् । जीवन संघर्षमय हुन्छ । जीवनमा आइपरेका समस्यालाई हटेर हैन डटेर समना गर्नु पर्दछ । समस्यासँग लड्दा माया ममता र दायित्वलाई पनि भूल्न हुँदैन । सन्तानलाई जन्म दिएर मात्र पुग्दैन छोराछोरी प्रतिको भलोलाई पनि भूल्न हुँदैन हेरौं –

जस्तो आइपरे पनि सामना गर्छु
सन्तानकै भलो मात्र कामना गर्छु
(पृष्ठ १)

वियोगको पीडा र कृति –मैले माथि नै भनिसकेको छु कि यो कृति पीडाको पनि दस्तावेज हो । निशाले आज एकल महिलाको भोगाई, अनुभूति, जीवन संघर्ष जीवनको बुझाई, समाज देश र सन्तान प्रतिको दायित्व आदिका बारेमा आफ्नो भोगाइलाई समेटेर पथप्रदर्शक बन्न अघि सरेकी छन्–

म पनि बाँचेको छु दबावमा आजभोलि
कसैकसैको मयाको अभावमा आजभोलि
(पृष्ठ ३)

गर्छु तिमीलाई माया देउता सम्झेर,
भूल्दिनँ कहिले जस्तै दुःखी जीवनमा पनि
(पृष्ठ २)

म्णि हराएको सर्प भा’छु तिम्रो साथ छुटेपछि
उजाड लाग्छ जीवन पनि हातको चुरा फुटेपछि
(पृष्ठ १२)

प्रेमप्रणय र गजलकार –गजलकारहरूले गजलमा सिङ्गार रसलाई अधिक महत्व दिएको पाइन्छ । निशाका गजलमा पनि प्रेमका विविध धारणालाई समेटेको पाइन्छ तापनि गजलका शेरहरू शिष्ट छन्, मर्यादित छन् र समनताको खोजी पनि गरेका छन् –

समाउन औँलो दिंदा सिङ्गै हात निल्न खोज्छन्
साँच्चै भन्छु माया गर्ने बराबरी हात हुनुपर्छ
(पृष्ठ १०)

लालुपाते फूलजस्तो रङ्ग रैछ तिम्रो जवानी,
जादु रैछ तिम्रो रूपको कदरमा पागल बनाउने

देश प्रेम र गजलकार–गजलकारका नशा नशामा देशप्रेमको रगत बगेको छ । नेपाली माटो र मुटु बोलेको आभास मिल्छ । धेरै स्थानहरूमा गजलकारले देशको माटो सवल र सक्षम भएको देख्न चाहन्छिन् । देशलाई सम्झिन्छिन् देशमा आज भएको विकृतिलाई विसङ्गतिलाई सम्झिन्छिन्, नेपाल आमाका सन्तान लडेको, तराई पहाड हिमाललाई यस्तो अप्रिय साम्प्रदायिकतामा लागेकोमा उनका आँखा रसाउँछन्–

जन्मभूमि प्यारो नेपाल सम्झिएर रुन्छु
सधैं हुन्छ बन्द हड्ताल सम्झिएर रुन्छु
(पृष्ठ ४)

जीवन जगत र गजलकार–निशाले जीवन–जगतलाई राम्ररी बुझेकी छन् । जीवनमा दुःख मात्र हैन सुख पनि मिल्छ । मिलन मात्र हैन विछोड पनि हुन्छ । कहिले मनमा आशाका दीप जल्दछन् भने कहिले निराशाका लहरहरू बग्दछन् । जीवन कथालाई लेख्दा लेख्दा थकाइ पनि लाग्छ आदि आदि भावनाले भरिएका निशाले जीवनजस्तो जीवन हुँदो रहेनछ भन्ने महसुस पनि गर्दछिन् –

तिमीले जिन्दगीलाई जे–जसरी बुझे पनि
जीवनजस्तो जीवन भएन आफ्नै खटनमा पनि
पृष्ठ २

भाग्यवादी शोच र गजलकार –गजलकारले आफ्नो कर्म आँफूले गरे पनि फल दिने अर्कै हुन्छ भन्ने युक्ति सरह कर्तव्यमा दृढ रहेर पनि आफ्नो भाग्यवादी सोचलाई पनि दह्रो रूपमा समाएकी छन् –
कुन मसीले लेखिदियौ दैव मेरो भाग्य पनि
बाध्यतामा बाँचेकी छु विधाताले भाग्य लुटेपछि
पृष्ठ १२

मर्नु छ एक दिन यो धर्तीमा जन्मिएपछि
लेखेको जति जे छ भोगिञ्जेल बाँचिन्छ
पृष्ठ ५२

शीर्षकी करण –‘एउटा अदृश्य मन ’गजल कृतिको शीर्षकी करण पनि ज्योतिषीले ग्रहदशा नक्षत्र हेररे राखे जस्तै, देखिन्छ । मन खोलेर कुरा गरेको भन्ने गरिन्छ तापनि कसैको मनोभावलाई कसैले देख्न सक्दैन । निशाका हरेक धारणाले अदृश्यतालाई पच्छाएका छन् । गजलका शेरहरूले कौतुहलतालाई जन्माएका छन् ।

अतः गजल कृति विविधताले सजिएको छ । भावनाका लहरहरू गङ्गाको जलझैं बगिरहेका छन् । यस कृतिलाई गहिरिएर अध्ययन गर्दा एकल नारीको चित्कार हो पनि भन्न सकिन्छ । गजलमा भाव जीवन्त छन् । गजलका आधारभूत तत्वलाई समाउने प्रयास गरिएको छ । शेरहरू लयात्मक छन् । काफियाको प्रयोग, तखलुसको प्रयोगमा पनि गजलकारले ध्यान दिएको पाइन्छ । भाषा सरल छ । प्रस्तुति पनि प्रष्ट छ । सफलता र सवलताको लागि निरन्तरताको खाँचो छ । गजल लेखनमा निरन्तरता दिएमा निशाको साहित्यिक यात्रा सफलताको मार्ग चुम्ने छ भन्दै, शुभकामना दिंदैं बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
कावासोती न.पा वडा नं ७, शान्तिचोक नवलपरासी,
२०७३, भदौ १३ गते

1 thought on “एउटा अदृश्य मनको शैल्यक्रिया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *