गीतभित्रै सङ्गीत हुन्छन् भन्छन् । गीत संस्कृतबाट आएको शब्द हो भने सङ्गीत सामवेदबाट । गीत वास्तवमा गेयात्मक र लयात्मक हुनुपर्छ । हुनत गीतको परिभाषालाई आ–आफ्नै तरिकाले अथ्र्याइने गरेका छन् । ‘‘गीत भनेको मनका तालमा लहरहरु सुस्तरी तरङ्गीत गर्नुजस्तै हो’’ विश्व साहित्यकार रवीन्द्रनाथ टैगोर भन्छन् ।
जिन्दगीमा गीत नलेखेपनि गुनगुनाउने थुप्रै भेटिन्छन् । यसले सबैलाई आकर्षित गरेको पाइन्छ । शब्द शक्तिले मन–मस्तिष्कमा हलचल र कम्पन ल्याउनुपर्छ । त्यस जादूको प्रयोगले सबैलाई मोहनी लगाएको हुन्छ । यसको क्षमता हामीले ‘ग्लूमी सण्डे’ (उदास आइतबार) गीतबाट अड्कल गर्न सक्छौं ।
गीतसरस, सहज एवम् सरल हुनुपर्छ । यो जुनसुकै विषयमा पनि लेख्न सकिने भएकोले यसको कुनै हदबन्दी हुँदैनन् । यो कोमल र भावप्रधान भए बल्ल सङ्गीतले त्यसलाई उचाल्छ । यी पक्षको तारतम्यले गीतलाई जीवन्तता प्रदान गर्दछ । गुजराती कवि हर्षद त्रिवेदीको सम्झना हुन्छ हठात् । कवि आफ्नै तालमा सुसेल्दै भन्छन्– ‘‘मेरो कुनै गीतको पङ्क्तिजस्तै÷बोल्छन् सुस्तरी तिम्रो आवाज ।’’
यिनै सर्जकहरुमध्ये मनको चित्रलाई सम्झनाको क्यानभासमा ‘‘हरायौं तिमी बिरानो देशमा’’ भन्दै गीतकार रामजी घिमिरेले उतारेका छन् । जसभित्र समयका विभिन्न आयामहरु रङ्गमार्फत आफै बोल्छन् र फागुमाजस्तै मज्जाले रङ्गीन्छन् । हो, त्यसको महकता चम्किलो छ । अचेल त्यसबाट पनि विविध उपचार हुन थालिएको पाइन्छ ।
पोखराको कास्की मूलपानी सिद्धमा जन्मे, हुर्केका गीतकार प्रकृति छटा र मनोरम पहाडकासाथ हिमालसँग मीत लाउन पुग्छन् र साउती गर्दै मनका भाका फेर्छन् । उनी जीवन जगतबारे मन डुलाउँछन् र भविष्ययात्राका रेखाहरु सरलताका साथ कोर्न स्वप्न देख्छन् । जिजिविषाका पानामा अलिखित धर्सालाई परिस्थितिका इरेजरलाई छुट्याउन लागि पर्छन् । यस्तै रहरलाई खेलाउँदै उनी आफैंभित्र गुनगुनाउन पुग्छन् ।
फेरि बाँच्ने रहर जाग्यो तिमीलाई भेटेपछि
तृप्त भए तिमीसँग मनको प्यास मेटेपछि (पृ.–३६)
प्रस्तुत सङ्ग्रहभित्र ८९ वटा गीतहरु समावेश छन्, जुन मर्मस्पर्शी शब्दहरुले हिमाली हावा जस्तै छुन पुग्छन् । उनले विम्व र प्रतीकमार्फत् गीतलाई श्रृङ्गारेका भेटिन्छन् । उनका गीतका बान्कीहरु मानौं कुनै युवतीले फूल सिउँरिन कपाल कोर्न लागेकीजस्ती देखिन्छन् । त्यो भावनात्मक प्रस्तुतिका साथ अधिकांशगीत आफैमा प्रेममय छन् । गीतका यी तत्वहरु एउटै किलो वरिपरि चक्कर लगाउँदै समय–सिपाहीजस्तै सजक र सतर्क रहेको प्रतीत हुन्छ । एक ठाउँमा गीतकार यस्तो अभिव्यक्ति राख्छन्– ‘‘मैले यो कृति प्रसिद्धि एवम् सफलताको लालसाले रचना गरेको होइन् ।’’
उनका गीतहरु स्वस्फूर्तरुपमा नदीजस्तै बगेका छन् जहाँ कुनै छेकवार र सीमा छैनन् भन्दा हुन्छ । ती सुललित तवरले बेगवान रहेका देखिन्छन् । आफ्नै गाउँघर अनि पँधेरोलाई सम्झनाको धमिलो तस्विरमा उतार्न खोज्छन् र ती दुःख–पीडालाई जाँतोजस्तै घुमाउँछन् र तीर्खालु मनलाई सान्त्वना दिन्छन् । त्यही व्याकुलता र छटपटीमाथि सुस्केरा हाल्छन् अनि त्यही परिवेशलाई सम्झनामा फुकाउँछन् ।
ढुङ्गेधारा पँधेरीमा जोडी कदम रुख
मेरो भागमा किन होला यति धेरै दुःख (पृ–२४)
शब्दको प्रभाव समय र परिस्थितिमा भर पर्दछ । त्यसको प्रहार कस्तो तरिकाले गरिन्छ त्यो सर्जकमाथि निर्भर रहन्छ । निश्चय पनि त्यसको प्रहार बन्दुकको गोलीभन्दा अत्यन्त शक्तिशाली हुन्छ । अतः शब्द धुनले सबैलाई विस्तारै हल्लाउँदै ल्याउँछ र त्यसको निशानाले एक्कासि लठ्ठ पार्छन् । त्यसले गहिरो अर्थलाई खुलाउन थाल्छन् । उनका शब्दहरु निकै भावुक र कोमल भएकोले निचोर्दा रसिलो भएर आउँछ ।
हामीले दशवर्षे सशस्त्र जनयुद्धको कदापि बिर्सेका छैनौं र बिर्सने पनि छैनौं । त्यो पीडा र व्यथालाई आफ्नै सम्झेर उनी गीतमार्फत् शीतल मलम लगाउने कोशिश गरेका छन् । यद्यपि द्वन्द्वकालको घाउ आलै छभन्दा हुन्छ । त्यो शायद अश्वत्थामालाई लागेको कलङ्कजस्तै भएको छ । युद्धमा हारजितभन्दा सजायँको घाउले बढी सताउँछ र मानवाधिकारको अस्तित्वलाई मानवीय यातनाले पिरोल्छ र बलीको बोका हुन बाध्य बनाउँछन् ।
सङ्ग्रहभित्र यसको मानसिक दशा र युद्धको विभीषिकालाई स्तब्ध पार्ने चरित्र चित्रण पनि समावेश भएको पाइन्छ । गीतभित्र क्रमशः कथा चलचित्रको रिलजस्तै आउँछ त्यसले आजको मान्छेको गीत गाउँदै आउँछ र पर्दामा तैनाथ हुन्छ । जुन निकै दर्दनाक लयमा प्रतिध्वनित भइ चल्न खोज्छन् ।
बुद्धवाणीहरु त्यसकै उपज हुन् जसमा विश्व जताततै शान्ति परेवा बन्दै उड्न लालयित देखिन्छन् । उनी पिँजडा सुनको भएपनि खुला विचरण गर्न आतुर छन् । पहिलो र दोश्रो विश्वयुद्ध भोगिसकेका परिप्रेक्ष्यमा यसबाट आज सबै त्रस्त छन् । अतः गीतकार चिच्याउँदै भन्न विवश छन्–
केका लागि सधैं खेल्ने दाजुभाइ रक्तिम होली
हाम्रा भावी सन्ततीलाई के जवाफ दिने भोली (पृ–७७)
उनका गीतहरु प्रेम–विछोड, सुख–दुःख र हाँसो–रोदनमा मात्र सीमित छैनन् । विविध विषयमा केन्द्रीत रहेका भेटिन्छन् । यसमा देशप्रेमका गीतहरुले प्रशस्त ठाउँ पाएका छन् । हुनत अरुलेभन्दा एक सर्जकले विदेशिनुपर्नाको कारणलाई चिन्तन र मनन बढी गर्न सक्छन् । त्यही अनुभूतिलाई शब्दमार्फत् मन चङ्गा उडाउँछन् । उनले थुप्रै देशको भ्रमण र यात्रा सम्पन्न गरिसकेका रहेछन् । भ्रमणले मान्छेलाई कल्पनाशील बनाउँछ र जो एक्लै हिड्छ ऊ टाढासम्म पुग्छन् पनि । यही बीच देखेका–भोगेका अनुभव संगालेर शब्दका पुष्पगुच्छा उनेका छन् ।
परदेशमा हुँदा उनी स्वदेशको सम्झनालाई आत्मसात् गर्छन् । मेघदूतमा कालिदासलेजस्तै उनी शब्दका कोसेली इमेलमार्फत् पठाउँछन् ।
सधैं सधैं सम्झिरहन्छु म जन्मेको माटोलाई
जिन्दगीको पहिलो पाइला टेकिएको बाटोलाई (पृ– १०१)
देशको परिस्थिति बुझेर थुप्रैजना विदेश भाँसिएका छन् । खुला अर्थ बजारले हरेक क्षेत्रमा प्रतिस्पर्धा बढाएको देखिन्छ । मान्छेहरु विवशता भोग्न वाध्य छन् । विभिन्न सपनाहरु साँचेर गएका हुन्छन्, त्यो कतिखेर के हुने हो थाहा हुँदैन । देशको अर्थतन्त्र कस्न गएकाहरु उल्टै फस्न पुगेका घटनाहरु दिनहूँ समाचारमा आइरहेका हुन्छन् । त्यो कतिको लागि आँसुको भेलमा परिणत भएका तथ्य बाहिर आएका छन् । हो, जिन्दगी सोचे–सम्झेजस्तो छैन । यस्तै मार्मिक र कारुणिक घटनाका साक्षी अचेल थुप्रै बढेका छन् । परदेशका खसमलाई मायालुहरु दिनरात सिरानी भिजाउँदै सम्झन्छन् र यसैलाई हृदयको अन्तरकुनामा लुकाउन नसकेर गीतकार यसरी पीडा फुकाउँछन्–
हरायौं तिमी बिरानो देशमा पिरती गाँसेर
पर्खेको पर्खै भए नि राजै सम्झना साँचेर (पृ– १३)
विरह–वेदनाका गीत बाहेक प्रस्तुत सङ्ग्रहमा श्रृङ्गार रसका साथै विविधखालका गीतहरु भेटिन्छन् । उनका कतिपय गीत आत्मपरक पनि छन् । ती वास्तवमा हृदयका झङ्कार मान्नुपर्छ । राष्ट्रिय भावनाले ओतप्रोत गीत पानी परेपछि खुलेका इन्द्रेणीजस्तै लाग्छ । केही गीत दाँतमा ढुङ्गा लागेजस्ता देखिए पनि समग्रमा सङग्रह कोसेढुङ्गा सरह नै छ । यिनै गीतले मन–मस्तिष्क र भावलाई सकारात्मकतातिर आत्मकेन्द्रीत पारेका छन् । उनका गीतहरुले मज्जाको आवाज पाएका छन् ती बगैंचामा झुमेको पुतली हो कि भन्ने लाग्छ । त्यो अत्यन्त शोभनीय र लालित्यपूर्ण देखिन्छ । जिन्दगीका भोगाइलाई गीतकारले निफनेका छन् र त्यसलाई कुसुमे रुमाल जसरी मनका धागाहरुले त्यसमा रङ्गीचङ्गी फूलबुट्टा भरेर प्रस्तुत गरेका छन् । अब सो रुमाललाई हामी कसरी लिन्छौ र अपनाउँछौ त !
