‘लुलुलु यस्ले यहाँ फोहर गरिहाल्यो नि !’– तबिल्दारनी हजुरआमाले तबिल्दार हजुरबा पूजागरिरहेका बेला पूजाकोठामा गएर पिसाब गर्ने बेलायती कुकुरको छाउरोलाई कानमा समात्दै उचालेर काइँकाइँ गराउँदै बाहिर ल्याउनुभयो ।
‘एकाबिहानै फेरि जिमराजले मलाई अशुद्ध बनाइदियो बा’ –पूजा चौकाबाटै तबिल्दार हजुरबा कराउनुभयो । बूढा फेरि उठेर इनारमा गई नुहाएर दोस्रोपटक पूजामा बसे फत्फताउँदै, ‘श्रीकृष्ण गोविन्द हरे मुरारे ! हे नाथ नारायण वाशुदेव ।’
यसरी त्यो कुकरको छाउरोले नारायण काकाको घरमा दुवै बूढाबूढीलाई दिक्क पारेको थियो । धर्मभीरू बाआमा भएकाले काकालाई अब त्यो कुकुरको छाउरो समस्यै भयो । उनी गालामा हात लगाएर निक्कैबेर घोरिए । अन्नतः छाउरो साथी श्यामजीलाई दिने निश्चय गरे । हुन पनि श्यामजीका छोराहरूले बेलायती छाउरोलाई निक्कै अगाडिदेखि मुखै फोरेर मागेका थिए । जातको कुकुर भएकाले नारायण काकाले त्यो छाउरो घरमै राख्ने विचारले कसैलाई नदिने अठोट गरेका थिए ।
नारायण काका असलअसल जातका कुकुरहरू पाल्थे । उनका घरमा कहिलेकाहीँ त गोठै कुकुरहरू हुनेगर्थे । शिक्षित र सौखिन परिवार भएकाले खोजीखोजी बेलायती, एल्सिसिसियन र लोकलै जातका राम्राराम्रा कुकुर पाल्ने उनको सोख थियो । सरकारी कार्यालयमा निक्कै लामो समयसम्म खरदारमा जागिर खाएकाले उनलाई गाउँमा नारायण खरदार भन्थे –गाउँलेले ।
धेरैपछि बढुवा भएर सुब्बा भए पनि जनजीव्रोमा उनी ‘नारायण खरदार’ उपनामले चिनिएका थिए । सायद् उनलाई आफ्नो चल्ती उपनामप्रति सन्तुष्टि थियो ।
जागिरका साथै गाउँमा उनका एकजना साथी थिए –श्याम आचार्य । श्यामजीसँग उनको व्यवहारिक लेनदेन र अन्य कुराहरू मिल्ने भएकाले त्यो छाउरो अब श्यामजीलाई दिने निश्चय गरे –काकाले ।
श्यामजी पनि कुकुरका सौखिन भएकाले आफ्ना हितैषीले दिएको छाउरो खुसीसाथ घर लगे । माग्न त भवानी काकाले पनि छाउरो जोरजुलुमले मागेका थिए । वचन दिइसकेकाले नारायण काकाले छाउरो श्यामजीलाई नै दिए ।
श्यामजीका तीनभाइ छोराहरू थिए । माहिलो छोराको नाम विमल थियो । यसरी त्यो छाउरो विमलको घरमा आयो । ऊ कुकुरका छाउरालाई धेरै माया गर्थ्यो ।
‘नाके डाँडीमा सेतो छ । नाम चन्दने राख्नुपर्छ’ –घरमा ल्याएकै दिन विमलले बासँग प्रस्ताव राख्यो ।
‘हुन्छहुन्छ, तैँले रोजेकै नाउँ चन्दने नै राखूँ’ –बाले सहमति दिए । आमालाई कुकुर त्यति मन पर्दैनथ्यो । विमलका दाजु र भाइ भने बेलायती छाउरो पाल्न पाइने भइयो भनेर खुसी नै थिए ।
त्यहीदिन बाले अफिसबाट आउँदा एउटा फलामको साङ्लो किनेर ल्याई चन्दनेका घाँटीमा बाँधी दिए । यसले विमललाई धेरै खुसी बनायो ।
स्कुल नजिकै भएकाले विमल र उसका दाजुभाइ टिफिन छुट्टीमा सधैँ खाजा खान घरै आउँथे । दिन त बाले प्रतिदिन तीनै भाइ छोराहरूलाई टिफिनमा चट्पटी खान भनेर पाँचपाँच रूपियाँ अफिस जाने बेलामा दिन्थे । तर त्यो रूपियाँ आफ्नो पेवा बनाएर राख्दै उनीहरू चन्दनेको खुट्खबर बुझ्नैका लागि घरै आएर खाजा खान्थे । एकछिन चन्दनेलाई सुम्सुम्याउँथे ।
‘एकचोटी म पनि छोऊँ न’ –भाइ ईश्वर विमलसँग चन्दनेलाई हातले छुन र मुसार्न अनुमति माग्थ्यो ।
‘ललल चाँडो छोओ, स्कुलमा घन्टी बज्ने बेलाभयो । कक्षा सुरू भैसक्छ’ –विमलले एकपटक अम्लो चुसेर मुखले चुँच्च पारी चन्दनेलाई मुसार्यो ।
अनि ऊ किताब बोकेर हिँड्यो । दाजुभाइ पनि पछि लागे ।
दिनहरू बित्दै गए । अब चन्दने नारायण काकाका घरमाभन्दा बढी त्यस घरमा रत्तियो । यहाँ चन्दनेलाई छिछि र दूरदूर !! गर्ने हजुरबाहजुरआमा थिएनन् । पाँच जनाको जहानमा चारजना चन्दनेलाई माया गर्थे भने बाँकी एउटी आमा पनि सबै सदस्यको हाँमा हाँ मिलाउन बाध्य थिइन् ।
शनिबारशनिबार चन्दनेलाई ट्युबेलबाट पानी तानेर ‘लाइफ ब्वाइ’ साबुनले माडीमाडी नुहाइदिने गरिन्थ्यो । कहिलेकाहीँ विमल साथीहरूसँग त्यसलाई नजिकैको नहरमा लगेर दिनभरि साबुन दलेर आफू पनि पौरी खेल्थ्यो र चन्दनेलाई पनि खेलाउँथ्यो ।
चन्दने विमलसँग बढी रत्तियो । जनावर भएर के गर्ने ऊ विमलका हरेक आदेश मान्छेझैँ फटाफटी मान्थ्यो । खासगरी चन्दनेलाई विमलले अम्लो चुसेर चुँ–चुँ गरेको सारै मन पर्थ्यो । तीन महिनापछि चन्दनेलाई गाई बाँध्ने गुहालीघर (गोठ)मा गाई वस्तुसँगै राखियो । कहिलेकाहीँ परिवारमा सल्लाह हुने गर्थ्यो । अब चन्दनेलाई यसरी गाइसँगै बाँध्नु हुँदैन । रातिराति निकै स्यालहरू घुम्ने गर्छन् । कुकुर पनि सानो छ । स्यालले लग्यो भने एकै गाँसमा सिध्याइदिन्छ ।
घरमा लाले नाउँ गरेको चरुवा थियो । ऊ प्रायः गुहालीघरमा सुत्थ्यो । चन्दने जातको कुकुर भएकाले मानिसको सामिप्यता धेरै मन पराउँथ्यो । कुकुर भनेर के गर्नु उसको आनीबानी मानिसझैँ थियो । दिसापिसाब त्यसले कहिले बाँधेका ठाउँमा गरेन । फुकाएर दिसापिसाब गर्न लगेपछि मात्रै गर्ने बानीले त्यो छाउरो घरकी आमाको पनि प्यारो भएको थियो ।
‘चन्दनेले हातले !’ भन्नु मात्रै पर्थ्यो । ऊ आफ्नो अगाडिको दाहिने खुट्टा उचालेर समात्न दिइहाल्थ्यो । अँझ माहिलो विमलले त यति गहिरोसँग चन्दनेलाई तालिम दिएको थियो । ऊ आएको थाहा पाएपछि चन्दने अगाडिका दुईखुट्टा उचालेर सलाम गर्न उभिइहाल्थ्यो । एक प्रकारले त्यो छाउरो रमाइलो गर्ने साधनझैँ भएको थियो –त्यस घरमा ।
मासुभात कि दूधभात योबाहेक चन्दनेले प्रायः केही खाएन । छाउरो दिने बेलामा नारायण काकाले कबोलझैँ गराएका थिए । ‘बेलायती छाउरो हो । दूध नभै भातै खाँदैन । सक्नुहुन्छ, यस्लाई स्याहार गर्न श्यामजी ?’
‘ए ! के कुरा गर्नुहुन्छ नारनजी, अहिले मेरो घरमा छाकको तीन लिटर (छ माना) दूध दिने गाई बिहाएको छ । यो नाथे, छाउरोले कति खान्छ र ?’ –विमलका बा पनि आँटिलो उत्तर दिन्थे ।
‘लौलौ राम्ररी पाल्नुस् । मेरो के भन्नु छ र !’ –नारायण काका जवाफ दिन्थे ।
खेतीपाती र जागिरमा त्यो परिवारको दैनिकी बित्ने गर्थे । बा सरकारी जागिरे थिए । उनी धरैजसो समय फिल्ड गैरहन्थे । घरमा प्रायः कमै मात्र बस्न पाउँथे । गाईवस्तुको हेरचाह लालेको भर परिन्थ्यो । कुकुरको छाउरोचाहिँ विमलको जिम्मामा थियो ।
छ महिना पालेपछि चन्दनेलाई पशु अस्पताल लगेर रेबिज विरुद्धको खोप दिइयो । पुरानो साङ्लो चुँडाएकाले बाले फेरि नयाँ साङ्लो बजारबाट किनेर ल्याइदिए । यसरी चन्दने त्यस घरपरिवारमा पुरानो सदस्य भयो ।
राति निकैबेर चन्दने लगायतका अरू थुप्रै कुकुरहरू जोडले भुके । लाले मस्त निद्रामा थियो क्यारे ! उसले केही थाहा पाएनछ । चन्दनेको एउटा बानी निकै खराब थियो –त्यो के भने ऊ पराइमान्छे देख्यो भने छोप्दै भुकेर जाने गर्थ्यो । ऊ खिनौटेजस्तो लागे पनि निकै कडा कुकुर थियो । राति गोठमा गाईवस्तु चोर आएछ । लालेको दचक्ले चोर भाग्दैथियो क्यार चन्दनेले थाहा पाएछ र ऊ भुक्दैभुक्दै गएछ । चोरको पालो लौराले मर्ने गरी घुमाएर दिएछ । नाकेडाँडीमा चोट लागेकाले राति नै चन्दने भुतुक्कै भई मरेछ ।
भोलिपल्ट त्यो सिन्दुरी गाईको बाछी डुसीको काखैमा मरिरहेको पाइयो । घरका सबै जहानहरू रोए । थक्थकी लाग्यो सबैलाई । चन्दनेलाई घरभित्र नबाँधिएकामा सबैलेपश्चात्ताप गरे । गाढा माया दिएर पालिएको चन्दने आखिरमा सबैलाई शोकमग्न बनाएर त्यस घरबाट बिदा भयो ।
त्यो घट्नापछि विमलका घरमा कुकुर पाल्ने विचार बाआमा र दाजुभाइले कहिल्यै गरेनन् । विमलचाहिँ खिच्चासिच्चा जे भेटे पनि कुकुर ल्याउँथ्यो । बाआमा उसलाई गाली गर्थे । कुकुरलाई भगाइदिन्थे ।
तबिल्दार हजुरबाको पूजाकोठामा पूजागर्न (बद्मासी गर्न) त्यो छाउरो नपसेको भए विमलका घरमा आउँन पाउँदैनथ्यो । नाकेडाँडी सेतै भएर चन्दने नाम राखे पनि विमलका बा भने चन्दनेलाई ‘पूजागर्ने छाउरो’ भनी व्यङ्ग्य भावमा भन्थे । त्यसोभन्दा विमल मुसुक्क हाँस्थ्यो । ऊ अनुहार उज्यालो पार्थ्यो ।
पेशल आचार्य
शिक्षक, मन्थली उमावि, मन्थली
मोबाइल ९८४४०४४०८३
