Skip to content
PrakashSapkota


आफूले गाईगोठ र कुटोकोदालो गरेर
मलाई आइए, बिए र एमए पढाउने
आफू उत्तिस, चिलाउने र खस्रुका रुख चढेर
मलाई मेट्रो, रेल र हवाइजहाज चढाउने
मेरा बा

बा, लाहुरी भैंसी धपाउने, हलगोरु नार्ने
स्वतन्त्र म ठालु पल्टेर देश–विदेश चहार्ने
बा, मकैको ढिंडो रायोको गुन्द्रुकसँग खाने
म पिज्जा र बर्गर चाख्दै सपनाका सहरतिर जाने
खरपाखोमा खरका मुठा बाँध्ने ‘पाखे’ मेरा बा
लाख–लाखका बिटा सोहोर्ने सपना बोकेको ‘लाखे’ म

आफू आधा पेट खाए पनि स्वदेशी वासना डकार्ने
मलाई ‘टन्न नखाएर दुब्लाउलास’ आसयले हकार्ने
आफ्ना रहरहरू पोल्ने, इच्छा-आकांक्षाहरू डढाउने
फेदमै बसेर काँध थापी थापी मलाई धूरी चढाउने
मेरा बा

भोलि
गाउको पाखो, बारी, गाइ चरन र गोरेटो बिर्सेर
मेरा लाखका बिटाले सहरका महल ताक्लान
बालाई पुर्खाकै जिउनीथलो प्यारो लाग्ला
उस्सै रहला पुरानो घर, फाटेको छानो
त्यस्सै छाडिएला भत्केको मझेरी, मकिएको खाँबो

पिठ्युँमा स्यौलाको भारीमाथि बोकेर
दुखैले मलाई हुर्काएको,
कष्टैले हो नि बढाएको !
धितोमा गैरीखेत, घिउखानेमा ऋण काढेर
ब्याजले थिचिंदै, स्याजमा किचिंदै
बा, मलाई किन पढाएको !

1 thought on “मेरा बा”

  1. आजकलका छोराहरु सबैले यसै गरी
    आजकलका छोराहरु सबैले यसै गरी बुझिदिएको भए बा हरुको जीवन कति सरल शान्त र सुखमय हुनेथियो । जे भए पनि बा हरुको पीडा मर्म र आकांक्षालाई उजागर गर्ने प्रयास गर्नुभएकोमा कवि प्रकाश सापकोटा जी धन्यवादका पात्र हुनुहुन्छ । यस्तै मर्मस्पर्शी रचनाहरु पढिरहने मौका मिल्दै जा‍ओस् । तपाईको कलम अबिरल चलिरहोस् भन्ने शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *