सँगै कलेज पढेका एक जना मेरो जिग्री साथी कलेज सकिएपछि निकै कम भेट भयो । भेट हुँदा धेरै दर्शन र दार्शनिकका कुरा गर्थ्यो । धेरै उसले ओशोको बारेमा यस्तो र उस्तो भनिरहेको हुन्थ्यो ।
एकदिन म गाउँकै स्कुलमा गएको थिए कुनै काम विशेषले । म छागोबाट खसे झैं भए जब मेरो जिग्री साथीलाई दुवै हात पछाडि बाधेर दुई चार जनाले बजारतिर लैजादै थिए । म कौतुहल हुँदै हतार-हातेर दौडेर उनीहरूको नजिक गए तर मेरो साथी लगायत कसैले मलाई चिनेनन् । म पछि-पछि पछ्याउँदै निकै परसम्म गएर उनीहरूको बातचित सुन्न थालेँ-
“ए बाबु, आफ्नो आमालाई किन खुकुरीले हान्न गयौ ?” – एकजनाले सोध्यो ।
“मैले रिसले आमालाई खुकुरीले कहाँ हान्न खोजेको हु र अंकल ? मैले त मायाले पो हान्न खोजेको त,” मेरो साथी भन्दैथ्यो ।
“यो पूरै बौलाइसक्यो के गर्ने होला ?”-अर्कोले भन्यो ।
केही महिना पछि सुन्नमा आयो उसको दिमागी हालत उपचार पछि ठिक भयो रे । केही महिनापछि ऊसित बौद्धमा भेट भएको थियो र भन्दैथियो- “मैले मेटासिट खाएर आत्माहत्या गर्न खोजेको थिएँ । तर मेटासिट खाएपछि बाँच्न मन लागेर छिमेकीको मद्दतले अस्पताल गएर बाँचे ।”
त्यसको केही वर्षपछि फेरि सुन्नमा आयो-उसले आत्माहत्या गरेर मर्यो रे ।
धेरै साल बितिसकेको थियो । स्वर्गमा गैसकेको साथीलाई बिर्सिसकेको थिए । सम्झेर पनि केही फाइदा थिएन ।
एक दिन मैले मेरो घरमा एउटा पुस्तक भेट्टाएँ – त्यो कसके ल्याएर राख्यो थाहा भएन र मैले कसैलाई सोधिन पनि । त्यो पुस्तक ओशोद्धारा लिखित थियो र नाम थियो-“म मृत्यु सिकाउँछु” ।
पुस्तकले मेरो स्वर्गीय साथीको झट्ट स्मरण गरायो । मैले त्यो पुस्तकलाई हतार-हतार घर बाहिरको डस्टबिनमा फालिदिएँ ।
कथाकार: माङ दोर्जे शेर्पा
ठेगाना: माली-३, दोलखा
