गर्मीको बेला दिउसो घर अघिको आँपको रुखमुनि खाना खाएर बसेका छन् लालानाथजी । दिउसोको धेरै समय यसै रुखको मुनि बस्छन् र समय बिताउँछन् । अगाडि बाटामा आवत जावत गर्नेहरूलाई कसै कसैलाई यसो हालचाल सोधपुछ गर्छन् । मन बहलाउँछन् ।आँपका रुखबाट एक दुइओटा पाकेका आँप झर्न थालेका छन् । अहिले आँपका पाकेका दुइओटा दाना हातमा लिएका छन् कुनै भुराभुरीआएछ भने दिने विचार गरेर बसेका छन् । विद्यालय छुट्टीको बेला ता होइन तैपनि एक बालिका सडकबाट आइरहेको उनका आँखामा परी र उनले- “आँप खाने हो बेटा ?” भन्दै बोलाए, बालिका आई उनका अघिल्तिर ।
“कसकी छोरी तिमी ?” सोधे ।
“मामीकी ।” उत्तर दिई ।
“कहाँबाट आएकी ?”
“इस्कुलबाट ।”
“किन यति चाँडै आएको त छु्ट्टी ता भएको छैन नि ।”
“मामी बिरामी हुनुहुन्छ नि । तातो पानी तताएर दिनु पर्दैन त !!” उसले उत्तर दिई ।
“नाम के हो तिम्रो ?”
“रानी ।”
“कसकी रानी ?” बूढा अलिकति जिस्किए ।
बालिका अकमकाई ।
“रानी ता राजाका पो हुन्छन् त । तिमी कसरी रानी हौ ? ”
बूढा मान्छेका कुराले बालिका केही बेर रनभुल्लमा परी ।
अनि सम्झिएर भनी “म त मेरो मामीकी रानी हुँ नि ।”
बालिकाको उत्तर सुनेर बूढा मान्छेको अनुहारमा एक तमासको माया छचल्कियो । पाकेका आँप हातमा दिँदै तिम्रो कल्याण होस् भन्ने भावमा बालिकाको शिरमा आशीर्वादका हात राखे । अनि अर्कातिर फर्किएर रसाएका आँखा सफा गरे । बालिका पाकेका आँप पाएर फुरुङ्ग पर्दै दौडिइ । बूढा मान्छेका सजल नेत्र भने बालिकालाई पर पुगिन्जेल हेरिरहे ।
