गाउँबाट अलि टाढा गहते चौरको पूर्वपट्टिको काँडाघारी सरकारी जग्गालाई टेकबहादुरका भाइ मनबहादुरले हडपेर आफ्नो बनाएका रहेछन् । घाँसको नाममा मुसेघरी मात्र र केही टिमुरका झाङ् अनि केही राजु र म्यालका रूखहरू अनि पुस माघमा शीत कहिले ओबानो नहुने ठाउँको बीचबाट एउटा गोरेटो गाउँ जंगल गर्ने बाटो थियो । त्यही बाटो माथि टेकबहादुरको घर । गाउँमा सबैले बौलाहा टेके भन्थे, मैले भने कहिले उनको पागलपना देखिन ।
त्यो घर टेकबहादुर आफैले बनाएका थिए । छ वटा खाँबा गाडेर बनाएको उनको घर जमीनमै उभिएरै धुरीसम्म छाउन मिल्ने थियो । छ वटा खाँवा र आठ दश वटा डाँडा भाटामा अड्याएर राखेका स्याउलाले छाएका र चारैतिर बारेका पनि थिए स्याउलाले, ढोका पनि स्याउलैले बनाएका । घाम लाग्दा त ठिकै थियो तर पानी चैं त्यो छाप्रोले रोक्न सक्ने औकात राख्न सक्दैन थियो । त्यै घर वरपर पनि बढारेर चिटिक्क पारेका हुन्थे । घरभित्र एउटा कुनामा सानो तीन खुट्टे ओदान एक दुई थान भाँडा कुँडा अनि अर्कोपट्टि भाटा बाँधेर बनाएको बाँसको खाट सुत्नलाई बनाएका रहेछन् ।
उनको चिलीम तान्ने बानी थियो । यस्तो अवस्थाको घरमा बसे पनि उनले लगाएका कपडाहरू मैले कैले फोहोर देखिन । सधैं चिटीक्क परेर सफा लुगा मिलाएर लगाएका हुन्थे । उनको बोली यति मिलनसार थियो कि मैले त्यति मिठो नरम बोल्ने पुरूषहरू कमै भेटेको छु । विचराको श्रीमती छोराछोरी कोही थिएनन् । आफै मजदुरी गरेर जीवन चलाएका थिए ।
त्यस्तो गरिबीसँग जुधेर बाँच्दा पनि टेकबहादुरको मुहारमा मलाई दु:ख रिस राग भोक थकान रोदन कहिले अनुभव भएन । मलाई अचम्म लाग्थ्यो कसरी आफूलाई स्थीर राख्न सक्या होलान भनेर । उनले धर्ती छाडेर गएको वर्षौ हुँदा पनि मेरो मस्तिष्कमा ताजा छ उनको दिनचर्या ।
बाबुराम पन्थी “गुल्मेली ”
तम्घास गुल्मी
