Skip to content


अनेकतामा एकताको फूलबारी
गोडमेल गर्दै हुर्काउने ती मालीहरू
विषे नगर्चीहरू र भक्ति थापाहरू
बगैंचाको संरक्षणमा जुट्ने मेरा पूर्वजहरू
सबैलाई सम्झेर
यो पराई भूमिबाट माग्दैछु भीख
मलाई मेरो शान्त र विशाल देश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
विविधताभित्रको त्यो मीठास र आफ्नोपन
खोजेर कहाँ पाउनु यो पातालमा
स्वार्थीहरूको मात्र वास छ
म रम्न सकेको छैन यहाँ
छैन हाँस्न सकेको
खण्डहर बाँचिरहेँछु पलपल मरेर
केवल रुखो र निरस जिन्दगी
हाँस्न मलाई मेरै परिवेश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
यान्त्रिक होइन मलाई प्राकृतिक जीवन चाहिन्छ
मलाई रम्ने साथ चाहिन्छ
खुसीमा रमाउन, हाँसोमा फैलिन
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
चराहरूको चिरबिर कोकिल ध्वनि
भालेको डाकसँगै बिउँझने मेरो हरेक बिहानी
उषाको मिर्मिरेमा रक्त लालिमा छर्ने पूर्वी क्षितिज
सबै गुमाएर खै के पाएँ मैले ?
म प्राप्तिको लेखा गछुर्’
योग निस्किन्छ शून्य
केवल गुमाएको छु सधैँ
मेलापातमा जुट्ने चेली माइतीहरू
मादलुको तालमा छमछम नाँच्ने सँगीहरू
देउरालीभञ्ज्याङ र मानेमा रमाइरहनेहरू
मलाई सबै आफ्नो लाग्छ
मलाई मेरै गाउँको सुसेली मनपर्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।
म हेर्न सक्तिन आफ्नै आँखाले
आमा बलात्कृत भएको कहालीलाग्दो क्षण
खबरदार मेरीआमालाई बलात्कार नगर
नखेल रगतको होली मेरीआमाको छातीमा
चीर हरण नगर मेरी बहिनीको
नपड्काउ गोलीहरू
निर्दोष मेरो गाउँबस्तीमा
रम्न देउ आफ्नै खुसीमा ।
मलाई मेरै पहाड मनपर्छ
छोडिदेउ आफ्नै पनमा रम्न
मलाई मेरो पवित्र देश चाहिन्छ
एउटै मालामा उनिएको
सिङ्गो नेपाल चाहिन्छ
मलाई मेरो बुद्धको देश चाहिन्छ
मलाई मेरो प्यारो नेपाल चाहिन्छ ।

-बाल्टिमोर, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *