माघी आयो भन्छन् राजै, सिरेटोले हानेको छ
घर छाडी बसेको छु नि राजै, कुहिरोले छेकेको छ ।
लालाबाला पखिँदा छन् हाम्रो बाबा आउँछ भनी
लोसार बित्यो, उभौँली नि बाटो हेरी दिन गनी ।
दसैँतिहार रमाएरै हामी सबै साथै बस्दा
चिहिलबिहील पार्यो होला नि विछोडमा आँसु खस्दा ।
गिटी फेर्छु, ढुङ्गा बोकी नि धुलिएन साहूको रिन
शासन अदलीबदली भए नि झुल्किएन सफा दिन ।
गुँडैबीच बचेरालाई नि छोडी हिँडे भाग्य खोज्न
चारो टिपी चुच्चोबाटै नि बटुलेर खुसी रोज्न ।
(रचनाः २०६६ बैशाख १)
