Skip to content

भन वृन्दा त्यसपछि के भयो !

  • by


भन वृन्दा त्यसपछि के भयो ?
पहेँलपुर तोरीबारीमा हावा बयेली खेलिराखेका छन् कि छैनन्
तिमीलाई मैले पठाउने चिठीका अक्षरजस्ता चराहरू
..माथि आकाशमा लामबद्ध उड्छन् कि उड्दैनन्
बाले रुन छाडे कि छाडेनन्
भन वृन्दा त्यसपछि के भयो ?
भाउजू हतप्रभ हुनुहुन्छ कि हुनुहुन्न
घर करेसामा
आँगनमा
र बगैँचामा जून पोखिन्छ कि पोखिँदैन
अझै पनि उसैगरी मानिसका आँसु छिरोलिन्छ कि छिरोलिँदैन
भन वृन्दा त्यसपछि के भयो ?
अखबारहरूमा हत्या र हत्या मुख्य समाचारमा छ कि छैन
खेतका आलीहरूबाट दाँइ हराउँछन् कि हराउँदैनन्
भाइ र बहिनी गोठालाबाट र्फकन्छन् कि र्फकंदैनन्
आमा जुठेल्नोमा एक्लै रूनुहुन्छ कि रूनुहुन्न
अकारण तिमी कतै बयानमा गयौ कि गएनौ
भन वृन्दा त्यसपछि के भयो ?
पुछारको बारी डिलमा आरु फुल्छ कि फुल्दैन
ट्याम्के डाँडामाथि रातोघाम आएर एकछिन थामिन्छ कि थामिदैन
गाता उप्केका किताब च्यापेर केटाकेटीहरू घरतिर उकालो लाग्दै होलान्
झमक्क साँझ पर्दानपर्दै कुइभीरको नेटोमा मलाई अझै हेर्छौ होला
दाइको खलोलाई यसपालि फुरुरुरुरु हिँउले पुर्‍यो कि पुरेन
बनेलीका गुराँसको बुट्यानमुनि लास भेटिन्छ कि भेटिनछाड्यो
भन वृन्दा त्यसपछि के के भयो ?
म यता बेखबर रहनै सक्दिन
जबजब खबर आउँछ-
गाउँ सिङ्गै आँखा अगाडि आएर थुपि्रन्छ
सम्झनाका धङ्धङी कत्ति बोकेर बाँच्नु
न्यास्रोको झरीले कतिन्जेल रुझिरहनु
बल्ल थाहा हुदैछ घरदेशले कतिधेरै सताउँदो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *