Skip to content

आमाको खुसी


कक्षामा सधैं पहिलो हुने छोराको मार्कसिट हेर्नासाथ आज गीतालाई सारै रिस उठेर आयो । छोराको मार्कसिटलाई लिएर उनी गनगनाउन थालिन्, ‘यसलाई यो बनाउँला र त्यो बनाउँला भन्ने मेरो मनमा कति कति इच्छा थिए, यसले मेरा सारा इच्छालाई पानीमा पार्ने भयो । यसको के होला गति हे दैव ! के गरेर यसले जिन्दगी बिताउला ? यसले कसरी गरी खाला ? कसरी जीवन निर्बाह गर्ला ? ‘

मानौं छोराले सारै नै ठुलो गल्ती गर्यो भनेझैं गरी उनी चिन्तित भइन् । एक बालकका माथि उनको यो चिन्ता तुक न बेतुकको थियो तापनि उनको चिन्ता अँझ उर्लियो । अफिसमा गएका उनका पतिलाई छोरो तेस्रो भएको फोन गरेर सुनाइन् । भिडियो गेम र क्रिकेटका बल ब्याट किनिदिएर छोरो बिग्रिएको कुरामा गुनासो पनि गरिन् । ‘अँझै के के किनिदिनुहोस् न उसलाई । बिगार्नु छ खालि !!’ भनेर रिसाइन् फोनबाटै । दिउसो भरि उनको मुड अफ भइरह्यो । ‘सधैं क्रिकेट, गेम, सधैं भिडियो गेम । यसलाई अब म यी सबै कुराबाट अलग राखेर होस्टेलमा बोर्डसका रुपमा नराखी ता कहाँ छाड्छु र ! बेलुका उसका ड्याडी मात्र आउन् न । अनि यसलाई जानेको छ मैले । पढ्नमा ध्यानै दिन्दैन, खालि खेल्नमा मात्र !!’

गीता आफैमा भुत्भुताइरहेकै बेला उनकी साथी चन्दा कुनै काम विशेषले उनकोमा टुप्लुक्क आइपुगिन् । भलाकुसारी भयो । चन्दाले गीता अलिक चिन्तित देखिएकोमा सोधिन्- “आज किन अलिक मुड अफ जस्तो देख्छु नि ?”

“खै के भनौं, नर्सरी एलकेजीतिर फस्ट हुने छोरो अहिले थर्ड भएछ । म्याथमा ता ६० मात्र पो त । यसैले सारै चिन्ता लागेको छ ।”

“छोरो क्लासमा पढ्छ ? कति वर्षको भो ? ”

“क्लास वानमा पढ्छ नि । आठ पुगेर नौमा छ ।”

” ए, भर्खरको रहेछ । के यस्तोमा पनि मुड अफ गर्नु पर्छ त । बालकै छ । उहिले हो भने अक्षरारम्भ नै गरिन्दैनथ्यो । आज हेर न यो आइमाई के भएकी ? हुँदै जान्छ नि ।”

“तिमी मेरो छोराको पोजिसन बिग्रिएकोमा खुसी भएको हो कि के हो ?” चन्दाको अनुहार प्रसन्न देखेर गीताले भनिन् ।

“म ता मेरै छोराको कुराले खुसी छु ।”

“भयो होला आफ्नो छोरो फस्ट अनि खुसी भएकी नि ।”

“होइन होइन, त्यस्तो होइन ।”

“के त अनि ?”

“अस्तिदेखि उसले उसको बाबालाई ‘बाबा’ भन्न जानेको थियो । ‘बाबा बाबा बाबा’ भन्थ्यो । आज ता मलाई पनि ‘आमा आमा आमा’ पो भन्यो । उसले मलाई आमा भनेको सुनेर उसको मायाले मेरो ता मुटु नै पग्लिएर आयो र उसलाई काखमा राखेर धेरै बेरसम्म माया गरें, म्वाइँ खाएँ ।”

“कति वर्षको भयो नि तिम्रो छोरो ?” गीताले सोधिन् ।

“दस वर्षको भइसक्यो । वास्तवमा मेरो छोरो सुस्त मनस्थितिको न छ । बल्ल बल्ल दुई शब्द जान्यो, हे भगवान, तिमी धन्य छौ…..”

“हँ !!……….”.

होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *