Skip to content

छिमेकीका स्वरूपहरू


डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी ।
त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी ।
अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ,
आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।।

अर्को पीर छ खेतमा पनि सधैं जालै गरी बस्दछ,
रातारात स्वयं लुकेर उसले आली उँभो कस्दछ ।
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुला गर्दछ,
राखी पञ्च कुरा गर्यो यदि भने आफैं कता मर्दछ ।।

दिल्लीभित्र अजङ्गका जखमले देख्दैन हात्ती पनि,
नेपालीहरुका लिखा सहजले देख्ने कुरा गर्छ नि ।
यो उस्को कुटिल प्रमाण अब ता संसारले जान्दछ,
ब्वाँसाका मतियार हुन् सब जना भन्ने कुरा मान्दछ ।।

ब्वाँसाले त स्वजातिका घरहरू भाँड्दैन यो सत्य छ,
त्यो भन्दा तल गिर्नु नीच पशुता भन्दा अझै तुच्छ छ ।
गिद्धै हो कि स्वयं लुछी अलिअली चोक्टा र लाम्टा गरी,
निल्ने दाउ लिंदैछ हे स्वजन हो भाँचौं चुचो बेस्सरी ।।

पल्क्यो सिक्किम खाइ यो अजिंगरै नेपाल खाँला भनी,
लागेको छ अनेक जुक्ति बलले जिब्रो निकाल्दै छ नि ।
फोरेट् छर्किनु पर्छ है सब मिली या भाग्छ या मर्छ नै,
हे नेता नडराउ छौ. पछिपछि यो देश जोगाउनै ।।

अर्काको घर भाँड्न उद्यत हुने त्यो मन्थरापुत्र हो,
उस्को शोचविहीन मूढमति झन् त्यो श्वानको मूत्र हो ।
आओ सिक्न सिकाउँछौं अबुझ हो सिक्ने छ बानी भने,
आओ लड्न तयार छौं खुकुरिको यो धार थाम्छौ भने ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *