बग्रेल्ती इतिहास डोबेर
पात्रोहरू फेरिएका छन्
र
पटक्कै पिच्छे किस्ताका
असारे खेत जस्तै पर्म लाएर
फागुमा होली खेलिदै छन्
किस्ताका आन्दोलनहरू
बाजे हजुर्बाजे कै पालाका आन्दोलनहरू
क्रमश: धाराबाहिक पर्म लागिरहेछन
कहिले नालापानी भएर
कहिले कालापानी भएर
टिष्टा चुडिन्दा बाजेको छाती चिरियो
काङ्गडामा आमा ढलिन
कहिल्यै सकिएनन आन्दोलनहरू
किस्तामा आइरहे आइरहेछन
आन्दोलनहरू कहिले आवरण भएर आए
कहिले नाङ्गै आए
तर जो आए सबै विनाश भएर आए
किस्ताका आन्दोलनहरू
कहिले लिग लिग भएर आए
श्रीपांच, छ भए
नाक कान भएर टरे
कोत भएर आए
पटांगिनीमा पर्म लाएर
रगतको खेतीमा बाउसे चले
श्रीतीन भए
र
जति पल्ट यी किस्ताका
आन्दोलनहरू आए
आफ्नै देवर लगे, भाइ लगे . जेठाजु लगे
बालाई लगे,गान्निएको दुध खोसेर लगे
जति पल्ट आए
किस्ताका आन्दोलनहरू
कहिले दर्बार भएर आए
कहिले भाइ भारदार भएर आए
किस्ताका आन्दोलनहरू
पर्म लाएर आए
बाडी भएर आए
हिंउ भएर आए
अनि आहुतिको अग्निमा
ज्वाला भएर आए
कुटुनी भएर आए
र
प्रत्येक पटक आउदा
कि त भाइ लगे कि त दाइ लगे
भर्खरै अस्ति
माजनको भाले – डाकसँगै
कम्तीयारसँग अर्को किस्ताको
आन्दोलन आयो
फेरि दाइले भाइ – भाइले दाइ
होली खेल्यो
रगतको आहालमा आन्दोलन
पैन्चोमा पर्म मागेर
किस्तामा आन्दोलन
आन्दोलन किस्तामा भएर !!
