Skip to content

जीवन : सिर्जना र प्रज्ञान


सिर्जना शक्तिका हामी साना सन्तति सुन्दर
बनौँ आनन्दको ज्योति महाज्योति समुज्ज्वल ।।१।।

मान्छे उत्सव हो मीठो कला सङ्गीत नृत्य हो
उच्च आदर्श चैतन्य बोधले ऊ सुकृत्य हो ।।२।।

दिव्य दृष्टि छ सम्भाव्य बुझ्न संसारको गति
चेतनाको खुले द्वार कहाँ हुन्छ र दुर्गति ।।३।।

उत्स उत्सवको प्रेम प्रेम निर्झरको लय
यो हो जीवन प्रज्ञाको छविच्छाया समुच्चय ।।४।।

जसरी हुन्छ ढाकेको विश्वले विश्व यो सबै
त्यसरी जिन्दगीलाई ढाक्छ जीवनले सधैँ ।।५।।

ढाक्छ दर्पण ध्वाँसोले देखिँदैन प्रतिच्छवि
ढाक्छ अज्ञानले ज्ञान छोपिराख्छ त्यसै गरी ।।६।।

करुणा प्रेम मैत्रीको बीज उम्रिन्छ ज्ञानमा
ज्ञान नै धन हो दिव्य ज्ञान उम्रिन्छ ध्यानमा ।।७।।

प्रज्ञा जीवनको लागि ज्ञान ध्यान समन्वित
श्रमले सिर्जना छर्ने पारौँ उन्नत जीवन ।।८।।

नरेन्द्र पराशर
http://www.narendraparasar.blogspot.co.uk/2015/02/blog-post.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *