उँच उँचे सव चले
नीचे चले न कोय
जो एकबार नीचे होय
वह सव से उँचे होय
– सन्त कविर

संसारमा यस्ता सफल व्यक्तित्वहरू छन् । जसलाई आफ्नै भाग्यले यति तलसम्म थचारिदिएको हुन्छ, त्यहाभन्दा अँझ तल झर्ने ठाउँ पनि हुँदैन । आखिरी धरातलसम्म पुगेर पनि त्यही धरातललाई टेकेर माथि उठेका हुन्छन् ।
संसारमा यी यस्ता व्यक्तित्वहरू मध्ये एक व्यक्ति हुन् खड्ग गर्वुजा । उनीसँगको भेटमा मैले प्रश्न गरेको थिएँ- तपाईको कलिलो उमेरमा भीरबाट लडेर इस्पाइनल इन्जुरी(spinal injury) भयो । जसको कारण दुवै खुट्टा नचल्ने भएका थिए । यस्तो दुर्घटना हुनु दुःखको कुरा थियो । अंग्रेजीमा एउटा भनाई छ- “we do not care of what we have, but we cry when it is lost.” हामीसँग कति अपार चिज छ भन्ने कुराको ख्याल कहिले पनि गदैर्नौ । जब एकदिन त्यही चिज गुमाउन पुग्छौ तब होश आउँछ । हामीसँग भएको चिज कति अमूल्य रहेछ, तपाईलाई पनि त्यो बेला यस्तै महसुस भयो होला, आखिर जे भएपनि यस दुःखद घटनालाई स्वीकार्नु बाहेक तपाईंसँग अरु उपाय नै थिएन । यदि तपाईलाई यस्तो खालको दुर्घटना जीवनमा नभइदिएको भए सायद लाहुरे भएर वा परदेश गई तपाई यति बेला प्रसस्त धन कमाएर धनी बनी सक्नु हुन्थ्यो । तपाईंसँग अहिले धन हुन्थ्यो, घर हुन्थ्यो, गाडी हुन्थ्यो र तपाईंसँग टोल छिमेकीले ईज्जत गर्ने थोरै हैसियत हुन्थ्यो । तर त्यतिबेलाको दुर्घटनाको कारण तपाईभित्रको प्रतिभा तपाईको सिढीं बन्यो । जसले गर्दा तपाई नेपाल अधिराज्यले चिन्ने प्रख्यात लोक गायकको उच्च स्थानमा पुग्नुभयो । यस अर्थ त्यस दिनको दुर्घटनालाई तपाईले कसरी हेर्नुभएको थियो ? ईश्वरको अभिशाप वा वरदान ?
गर्वुजाले जवाफ दिनुभयो, “निश्चय नै मेरो जिन्दगीको अकल्पनीय घटनाले मलाई त्यतिबेला ज्यादै नै मर्माहत बनाएको थियो किनभने यस घटनाले मेरो जिन्दगीको सारा खुशी र आशाहरूको दियो सबै अन्धकारमा बदलिदिएको थियो । मसँग केवल अपाङ्ग जिन्दगी बाँकी थियो । म यो अवस्थामा निकै अत्तालिएँ र यस अँधेरी रातभित्र चाँदनीको रात हुन्छ भन्ने कुराको स्मरण पनि गरिन र रात पछि सुनौलो बिहानीको रोशनी उदाउँछ भन्ने कुरामा पनि विश्वास गर्न सकिन किनकि मैले जिन्दगीको विशालतालाई नजिकबाट बुझेको थिइन । केवल एकोहोरो सोचें, एकोहोरो रोएँ र एकोहोरो आफ्नो जिन्दगीलाई धिक्कारें । जब यी खुट्टाहरू शिथिल हुन थाले, तब हृदयभित्रका सुषुप्त रुपमा रहेका प्रतिभाका पखेटाहरू सशक्त एव म सक्रिय बन्दै गयो । जसको परिणाम स्वरुप केही उचाइसम्म उड्न सकें । यहाँसम्म आइपुग्दा बल्ल पो थाहा भयो, भावीको लिला र प्रकृतिको रहस्य बुझेर बुझिसक्नु छैन ।”
वास्तवमा हरेक चुनौतीहरूसँग राम्रा अवसर पनि लुकेर आएको हुन्छ । ज–जसले ती चुनौती भित्रको अवसरलाई देख्न सक्छन्, ती व्यक्तिहरू माथि उठ्दै जान्छन् । ज–जसले चुनौती बाहेक अरु केही देख्दैनन् ती व्यक्तिहरू बर्वाद हुँदै जान्छन् ।
गर्वुजासँग शारीरिक सुन्दरता थियो । जब त्यस सुन्दरतालाई ईश्वरले खोस्यो, तब उहाँभित्रको सुन्दरता पैदा हुँदै गयो । जब दुर्घटना भयो त्यस दुर्घटनासँगै गर्वुजाको सारा बिकल्पहरू समाप्त भए तब उहाँको सारा उर्जा उहाँभित्रको प्रतिभाको दियो जगाउनमा खनियो । जसको परिणाम स्वरुप गर्वुजाको जिन्दगी दिन प्रति दिन उज्ववल बन्दै गयो ।
हाम्रो जिन्दगी परिश्रमको बावजुद पनि असफल छ, किनकि हामीसँग थुप्रै विकल्पहरू छन् । जस्तै पढ्न नसके लाहुरे हुँला र लाहुरे हुन नसके परदेश जाउँला आदि ईत्यादि बिकल्पहरूले हामीलाई बर्वाद पारेको हुन्छ ।
यसर्थ गर्वुजा शौभाग्यशाली व्यक्ति हुन् । जसको सारा बिकल्पहरू ईश्वरले नै मेटाई दियो । यति मात्र होइन उहाँको मनको शक्तिलाई शिखरसम्म पुग्ने मार्ग पनिदियो ।
उहाँका पिता भिम प्रसाद गर्वुजा र माता उलमती गर्वुजाको कोखबाट कान्छा पुत्रको रुपमा वि.स. २०२६ साल माघ २५ गतेको दिनमा मराङ्ग गा.वि.स. वडा नं. ६ अर्वाङ्ग भन्ने ठाउँमा भएको हो । गर्वुजाको प्रारम्भिक शिक्षा श्रीजन विकास प्रा. वि. अर्वाङ्गमा भएको थियो । यसपछि तत्कालीन श्रीजनविकास नि.मा.वि. मराङ्ग भर्ना भई केही महिना पढेपछि फेरि केही महिना तत्कालीन श्रीकिसानी नि.मा.वि. बिममा पनि केही महिना अध्ययन गरेका थिए । आफ्नो आर्थिक अवस्था कमजोर भएको कारण गर्वुजाले आफ्नो अध्ययनको सिलसिलालाई बीचमै रोकी भारतीय सेनामा भर्ति हुने सपना बोकेर १५ वर्षको कलिलो उमेरमा भारत तर्फ लाग्नुभयो । तर फाइनलमा पुग्दा गर्वुजाको सेना बन्ने सपना तुहिएपछि भारतमै बसि विभिन्न क्षेत्रमा नोकरीको लागि भौतारिएका थिए । जस्तै कहिले सर्कस, कहिले होटल, कहिले कोईला खानी आदि ईत्यादि ठाउँहरूमा काम गरेर करीब एक वर्षको समय बिताउनु भएको थियो । यस पछि गुर्वुजा पुनः नेपाल फर्केर आफ्नै गाउँ मराङ्गमा गई सामान्य गाउँले जीवनमा प्रवेश गर्नुभएको थियो ।
एक दिनको कुरो हो । त्यो दिन गर्वुजाले आफ्नो चिना बोकेर मराङ्ग बेसी गई त्यहाँ बाहुन पण्डितलाई आफ्नो चिना देखाउनु भयो । गर्वुजाको चिना हेरेर ज्योतिषीले भन्यो, हेर बाबु तिम्रो ग्रह बिग्रेएको छ । तिमीले छिट्टैनै गृह शान्ति गर्नुपर्छ, भनी सल्लाह दिएको थियो । यता गुर्वुजाले ज्योतिषीको कुरालाई खासै महत्व दिएनन् । यसको भोलिपल्ट मराङ्ग गा.वि.स.ले सामुदायिक वन अरली भीरको घाँस फुकुवा गरेको थियो । त्यही भीरमा घास काट्न जाँदा वि.स. २०४३ साल पौष ८ गते मंगलबारको दिनमा उहाँ भिरबाट झण्डै एकसय मीटर तल खस्दा सदाको लागि हिंडडुल गरी बाँच्ने सौभाग्य गुमाउनु परेको थियो । त्यति बेला कमजोर आर्थिक अवस्था र सामाजिक चेतनाको अभावका कारण गर्वुजालाई तत्कालै विशेष किसिमको उपचार गर्न नपाउँदा उहाँले लामो समयसम्म दुर्गती झेल्नु पर्यो । यस पछिका दिनहरूमा झाँक्री धामीले पूजा गर्ने विभिन्न जडिबुडीहरू खाने जस्ता घरेलु उपचार गरिएको थियो ।
यसो गर्दा पनि रत्ति सुधार भएन र हुने संभावना पनि थिएन । कसैले तातोपानी डुबेमा निको हुन सक्छ भन्ने सल्लाह दिन्थे र सो बमोजिम तातो पानी डुब्न आए ९ दिनसम्म डुवे आखिर केही भएन । समस्या जस्ताको तस्तै रह्यो । गर्वुजालाई तातोपानीबाट यतिकै घरमा फर्किन मन लागेन । किनकि उहाँको मनमा अलि राम्रो अस्पतालमा गएर उपचार गराउन पाएको खण्डमा म निको हुने थिएँ कि भन्ने झिनो आशा बाँकी थियो । तर गर्वुजासँग भने राम्रो अस्पतालमा गई उपचार गर्ने पैसा थिएन ।
यो कुरा थाहा हुँदाहुँदै पनि गर्वुजाले आफ्नो पितासँग पोखरा या काठमाण्डौको अस्पतालमा गएर उपचार गर्ने इच्छा सुनाए । बिचरा आफ्नो पिताले आफ्नो छोराको इच्छा त सुने तर आफूसँग पैसा थिएन । उनको पिता गाउँमा फर्के । आफन्तहरूलाई अनुरोध गरी लिएर आएको सुनको गहनालाई बैंकमा ढिटो राखी रु.२५०० निकालेर पोखराको गण्डकी र काठमाण्डौको विर अस्पतालसम्मको उपचारमा लागे । आखिर केही उपाय लागेन र गर्वुजा निरास हुँदै पुनः मराङ्ग फर्किनु सिवाय अरु बिकल्प थिएन र गाउँमा गएर बस्नु पर्यो । घरका सबैजना आ–आफ्नो काम धन्दामा जान्थे, त्यतिबेला गर्वुजाको साथी भनेको एउटा रेडियो थियो । रेडियो सुनेर आफ्नो एक्लो दिन बिताउँथे । रेडियोमा बज्ने गीत सँगसँगै गाउँथे, अभ्यास गर्थे, यसो गर्दागर्दै आफै मौरीबाजा बनाएर बजाउन सिके । यसरी गर्वुजाको जिन्दगीलाई दुर्दशाले भुईंमा पछारेको ठिक एक वर्षपछि आफ्नी आमालाई पनि पक्षघात भयो । भनिन्छ जब दशा लाग्यो भने एकोहोरो लाग्छ भन्ने पुरानो मान्यताको नियम गर्वुजाको जीवनमा लागू भएको थियो । यी घटना प्रतिघटनाको आँधीबेहरीसँगै गर्वुजाको जिन्दगीका दिनहरू कतै ठोक्किँदै, कतै पछारिँदै कतै लतारिँदै अनगिन्ती कष्टहरू भोग्दै निरन्तर अगाडि बढिरहेका थियो । यी कष्टहरूको बीचमा गर्वुजाको दिलभित्र एउटा उत्कृष्ट कला हुर्किरहेको रहेछ । यो कसैलाई थाहा हुन सकेको थिएन । वि.स. २०४६ साल भदौ महिनामा मराङ्गको दमका भन्ने ठाउँमा ठूलो मेला लागेको थियो । सोही ठाउँमा गर्वुजाले आफ्नो कलाको प्रस्तुति दिएर मेलाका सबैजनालाई चकित पारेका थिए ।
त्यसबेला मराङ्ग गा.वि.स.मा ठूलो सिंचाई योजना परेको थियो । उक्त योजनालाई अवलोकन गर्न जिल्ला सदरमुकामबाट गएका रा.पं.स. नरबहादुर पुन, सि.डी.ओ. र अञ्चलाधीश लगायतका बिशिष्ट टोली त्यहाँ पुगेका थिए । ती व्यक्तित्वहरू भएका ठाउँमा पुगी गर्वुजाले आफ्नो समस्या राखे । अपाङ्गतासँग सम्बन्धित केही संघसंस्थाहरूमा पहल गरिदिनु होला भनी अनुरोध गरेका थिए । ती टोलीले झूठो आश्वासन दिएर गयो, केही खबर आएन । यसरी जिल्लाका सि.डि.ओ.लाई पटकपटक अनुरोध गर्दा समेत झुठो आश्वासन बाहेक अरु केही दिन सकेन । सन्त कविरको भनाइ याद छ, “दया एउटा साबुन हो, जसबाट हृदयको मैलो हट्छ ।” हरेक मान्छेभित्र दया हुन्छ, तर हाम्रो समाजमा गरिब निमुखा, असाहय, अशक्त र वृद्धावृद्धिहरूप्रति दया दर्शाएको देखिदैन । दया यस्तो भाषा हो जो सबैले बुझ्न सक्छन् । अङग्रेजीमा एउटा भनाई छ, ‘‘Kindness is a language the dumb can speak, and the deaf can hear and understand’’ आज सबै मनुष्यभित्रको दया दिन प्रतिदिन मरिरहेको छ भन्ने कुराको ज्वलन्त प्रमाण त्यतिबेलाका नेतृत्व तहका व्यक्तिहरूले देखाएको ब्यवहारबाटै पुष्टि भयो । अन्तमा गर्वुजाले दर्वाङ्ग, बेनी, बाग्लुङ्ग जस्ता ठाउँहरूमा आफैले बनाएका मौरी बाजा बजाउँदै आफ्नो मनभित्रको पिर ब्यथा र दर्द गीतको माध्यमबाट अभिव्यक्त गरी सबैलाई रुवाउँथे । दर्द हरेक मान्छेको हृदयभित्र दबिएर बसेको हुन्छ । कसैले रोएर व्यक्त गर्छन् भने कसैले हाँसेर लुकाउँछन् । गर्वुजाले आफ्नो हृदयको दर्द गीत गाएर व्यक्त गर्थे र गीत सुन्नेहरूको हृदय पगालिदिन्थे । यस बापत केही दयालु मन भएकाहरूले केही पैसा गर्वुजाको रुमालमा राखिदिन्थे । यसरी जम्मा पारेको पैसाले बाग्लुङ्गको बलेवाबाट हवाईजहाज चढी काठमाण्डौ अवतरण गरेका खड्ग गर्वुजा धेरै दिनसम्म बागबजारस्थित दिलबहादुर केसीको सोनी गेष्ट हाउसमा बसेका थिए । यस अन्तरालमा गर्वुजाले बिभिन्न सहोयोगी संघसंस्थाहरू खोज्न थाले । ठिक यही समयमा भगवानको स्वरुपमा भेटिएका सेन्ट जेभियर्स सामाजिक सेवा श्रम जावलाखेलका फादर थोमस ई ग्याफ्नीले गर्वुजालाई संरक्षण दिनुको साथै पढाउने निर्णय दिए पछि वि.स. २०४७ सालदेखि पुनः विद्यार्थी जीवनमा फर्किएका गर्वुजाले महेन्द्र भृकुटि मा.वि. जावलाखेलको नौ कक्षामा भर्ना भई आफ्नो अध्ययन सुरु गरे । कक्षा ६, ७ र ८का विषयहरू नपढि एक्कासि कक्षा ९का विषयहरू अध्ययन गर्नु पर्दा गर्वुजाले आफ्नो पढाईमा निकै धेरै मेहनेत तथा संघर्ष गर्नु परेको थियो ।
स्वभावमा अति मिलनसार, सहयोगी, मेहनेती, लगनशील, इमान्दार, अनुशासित गर्वुजा स्कुलको पढाईमा पनि त्यतिकै तीक्ष्ण बुद्धिका थिए । आफ्नो अध्ययन सँगसँगै गीत संगीतलाई पनि उत्तीकै तिव्रता दिएका गर्वुजाले वि.सं. २०४७ सालको साउनमा रेडियो नेपालमा स्वर परिक्षण पास गरी २०४७ सालकै कार्तिकमा
‘कर्म दिने भावी पनि कस्तो
उनी पनि रैछन् कि मै जस्तो
म्याग्दी तिरैतिर
दुःखीको जिन्दगी सधैँ पिरैपिर
भन्ने गीत रेडियो नेपालबाट पहिलो पटक रेकर्ड गराउनु भएको थियो । यसको लगतै ‘दुःखको भुमरी,’ भन्ने पहिलो गीती एल्बम निकाल्न सफल भएका गर्वुजाले कक्षा १० टेष्ट परीक्षामा पनि प्रथम श्रेणीमा उत्तीर्ण भई वि.सं. २०४९ सालको प्रवेशिका परीक्षामा समेत द्रोस्रो श्रेणीमा उत्तीर्ण हुनु भएको थियो । यसपछि उच्च शिक्षा अध्ययनको लागि पाटन संयुक्त क्याम्पस पाटनमा भर्ना भई नियमिततर्फबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएपश्चात स्नातक तह अध्ययनको लागि आरआर क्याम्पसमा भर्र्ना भई स्नातक तह दोस्रो वर्षसम्मको योग्यता हासिल गर्नुभएको छ ।
प्रतिभाशाली गर्वुजा बास्तवमा मिठो स्वरको धनी हुनुहुन्थ्यो । उहाँको एउटा गीतले मलाई पनि मर्महित बनाएको थियो, गीतको बोल यस्तो थियो,
“बेनी बजार काली गण्डकी,
हाँसी खेली सुन रिमै रमाउने बेलामा रोएर गयो जिन्दगी”
भित्रभित्रै गर्वुजा कति रोए हिसाब छैन । तर गर्वुजाको यस गीतले धेरैलाई रुवायो । आँशुका तप्काहरूभित्र चम्किरहेको सुनौलो भविष्य हामी जस्ता अज्ञानीले देख्न सक्ने कुरा पनिरहेन । वास्तवमा संगीत एउटा अनौठो लहर हो । यो लहरले मान्छेको जीवनको वास्तविक गहीराइसम्म लैजाने गर्दछ । जसले गर्दा भावनाका रंगहरू लहराउन थाल्छ । यहीबेला कतिलाई नचाइदिन्छ, कतिलाई रुवाइदिन्छ । यसरीनै संगीतले सुनौलो जीवनको नजिक पुर्याइदिन्छ । यही गीत संगीतले गर्दा नै आज गर्वुजा सुनौलो जीवनको नजिक हुनुहुन्छ ।
खड्ग गर्वुजाको हालसम्मको गीत संगीत सृजना ३३ वटा गीत एल्वम प्रकाशित छन् भने करिब हजार जति गीत रेकर्ड भइसकेको छ । यसरी गीत संगीतको माध्यमबाट नेपाललाई थुप्रै योगदान दिए बापत वि.सं २०५९ सालमा पूर्व राजा ज्ञानेन्द्र शाहको वाहुलीबाट “गोरखा दक्षिण बाहु” जस्ता उच्च पदवी पाएका गर्वुजाले नेपाल जेसिसबाट उत्कृष्ट राष्ट्रिय प्रतिभा पुरस्कार, रेडियो नेपालबाट अधिराज्यब्यापी लोकगित प्रतियोगितामा दुई पटक पुरुस्कृत हुनु भएको छ भने लाली गुराँस कला मन्दिर काठमाडौं, पुन समाज पोखरा, मगर संघ काठमाडौं, कस्तूरी यूवा क्लब बाग्लुङ्ग, जिल्ला विकास म्याग्दी आदि इत्यादि संघ संस्थाहरूबाट सम्मानित भइसक्नुभएको छ । साथै विदेश भ्रमणको शिलशिलामा विभिन्न संघ संस्थाहरूबाट पनि सम्मानित भइसक्नुभएको छ ।
भ्रमणको शिलशिलामा अमेरिका, बेलायत, अष्टेलिया, जापान, कोरिया, हङकङ, जर्मनी, फ्रान्स, बेल्जियम, पोर्चुगल, नेदरल्याण्ड, साउदी अरब, दुबाइ, कतार, बहराइन, थाईल्याण्ड, फिलिपिन्स ओमन जस्ता थुप्रै देशहरूमा भ्रमण गरी सक्नुभएको छ ।
वि.सं. २०४९ सालमा गर्वुजाको लोक गायिका मीना गर्वुजासँग प्रेम विवाह भएको हो । गर्वुजाको श्रीमती गायिका मीना गर्वुजा पनि गायन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।
खड्ग गर्वुजा वि. सं. २०५४ सालदेखि आजसम्म निरन्तर रेडियो नेपाल अन्तरगत संगीत शाखामा कार्यरत हुनुहुन्छ । हरेक कोइला हिरा बन्दैन । जुन कोइलालाई ताप र चापको ज्यादा चुनौती झेल्नु पर्छ वास्तवमा त्यस्ता कोइलाले मात्र हिरा बन्ने हैसियत राख्छ । गर्वुजा थुप्रै कोइला बीचका एक हिरा हुन् । जसले आर्थिक संकट र दुर्दशाको चुनौती झेल्नु पर्यो । वास्तवमा यी चुनौतीका दिनहरूले नै गर्वुजाभित्र दबिएर रहेको हिरा बाहिर ल्याइदियो । यसैले त गर्वुजा गीत संगीतको संसारमा हिरा जस्तै चम्किरहेका छन् ।
जनरल जर्ज प्याटनको भनाई छ, “म मानिसको सफलतालाई आकाशमा ऊ कति माथि पुग्यो भनेर नाप्दिन । बरु धरतीमा थचारिएर पछि कति माथि उठ्यो भनेर मात्र जाँच्दछु ।”
हो साँच्चि नै गर्वुजा कुनै समय धर्तीमा थचारिएका थिए । त्यही धर्तीबाट उठेर आज कला प्रतिभाको शिखर चुमेका छन् । सायद जीवन हुनुको अर्थ पनि यही होला ।
नवीन जुग्जाली
बिम – २
म्याग्दी
