Skip to content

थप्पड रोग (बालकथा)


रोगको संसारमा अर्को एउटा नयाँ रोग थपियो– थप्पड रोग ।

एकादेशमा एउटा अत्यन्त फोहरैफोहरले भरिएको ठूलो सहर थियो । त्यस सहरमा मानिसहरू मात्रै थुप्रिएका थिएनन् ससाना परजीवीहरू पनि राम्रैसँग सहजाएर बसेका थिए । त्यस्ता परजीवीहरूमा झिँगा, लामखुट्टे, उडुस र उपियाँको संख्या धेरै थियो । गाईभैँसी पालेर दूधदही खाने संस्कार क्रमशः कम हुँदै गएको त्यस फोहर नगरीमा रहेका सबैखाले मानिसका घरघरमा कुकुर र बिरालाहरू पाल्ने संस्कृति बढोत्तरी हुँदै गएको थियो ।

व्यवस्थित सहरी विकास त्यस सहरमा संभव थिएन । बर्खामा पानीको निकास नहुने बाटाघाटाहरू पानी जमेर पोखरी झैँ हुन्थे । सवारी साधन र पैदलयात्रुको कन्तबिजोग हुन्थ्यो । पानी जमेर डुङ्गा चलाउने स्थिति हुँदा पनि नगर पालिका चाहिँ ‘ घोडा बेचेर सुतेझैँ ’ मस्त आनन्दले सुत्थ्यो । जतिजति बर्खामा पोखरीहरू बढ्थे उतिउति लामखुट्टेको रामराज्य फैलन्थ्यो । थरीथरीका र जातजातका लामखुट्टेहरू बढ्दै गएपछि मेनिन्जाइटिस, इन्सेफलाइटिस, जापानी इन्सेफलाइटिस, हैजा, कलेरा, मलेरिया र हात्तीपाइले जस्ता रोगहरूले सहरबासीलाई च्याप्दै लैजान्थ्यो । सहरका मान्छेहरू सधैँ घडी हेरेर दौडन्थे, घडी हेरेरै सुत्ने, उठ्ने र सबैथोक गर्ने गर्थे ।

गाउँघरबाट सहरमा आउँने मानिसझैँ एक जोडी लाम्खुट्टे पनि थानकोट नाकाबाट लुसुक्क बसाइँ सरे । बस, ट्रक र अरू सवारीलाई झैँ ट्राफिक जाम लाम्खुट्टेलाई थिएन । त्यसले उनीहरू खुरुखुरु उडेर जता मन लाग्छ उतैतिर पखेँटा चालिरहे । धेरै बेरको उडाइ पछि पोथी लाम्खुट्टे चाहिँ गलिछे उस्ले भालेलाई भनी –‘ हैन ए बूढा ! अब त यसो बास नखोज्ने भन्या । ’

जबाफमा भाले अलि कड्कियो – ‘ पख् न पख्, जता ठूल्ठूला फोहरका रास छन् त्यतै लागौंला । ’

‘ हुन त हो ’ – पोथीले पखेँटा चाल्दै टाउको हल्लाई ।

‘ जहाँ फोहर त्यहाँ लाम्खुट्टेको घर ’– भालेले भालेपना देखाउँदै भन्यो ।

यसरी उनीहरूले काठमाण्डौलाई आकाशमार्गबाट घुमिघुमी हेरे । दिनभरिको उडान पछि जोडी लाम्खुट्टेले धरहराको टुप्पामा थकाइ मारे । रानीपोखरीमा पानी पिए । विशालबजार र न्युरोडको सित्तैमा सयर गरे । लिनु खानु त केही थिएन, आँखाको भने उधुमै रमिता लिए । उनीहरूलाई दुईखुट्टे मानिसलाई झैँ रत्नपार्कबाट कीर्तिपुरको बसमा जाँदा जस्तो घुँइचो हुँदैनथ्यो । भाले दुईचारपटक काठमाण्डौ घुमिसकेको रहेछ उसले पोथीलाई स्वयम्भू, पाटन दरबार क्षेत्र, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र दशरथ रंगशाला पर्यटकलाई गाइडले घुमाए झैँ बताउँदै अर्थ्याउँदै घुमाइदियो ।

त्यो रात उनीहरू रत्नपार्कको छेउमा आएर बास बसे ।

भोलिपल्टदेखि जताजता फोहरका थुप्रा छन् त्यतात्यता उनीहरूको बास हुन्थ्यो । पोथी लाम्खुट्टे भारी जीउकी थिई । उसले नगरपालिकाले उठाउन छोडेका फोहरका थुप्राथुप्रामा अण्डा पार्दै रही । हप्तादिनमा लाम्खुट्टेका नयाँनयाँ पुस्ता थपिँदै गए । दिन बिते । रहँदाबस्दा थानकोटबाट छिरेका बूढा लाम्खुट्टेका जोडीहरू हजुरबाहजुरआमा भए तर त्यतिन्जेल पनि तिनीहरूलाई थप्पडरोग भने लागेको थिएन ।

अब राजधानी भरि लाम्खुट्टको पनि राजधानी कायम भयो । तिनीहरू दुईबाट चार, चारबाट सोह्र र सोह्रबाट एकसय चौंसठ्ठी, एकसय चौंसठ्ठीबाट बाह्रसय छप्पन्न हुँदै लाखौं करोडौंको संख्यामा फैलिए । जसरी लाम्खुट्टेको गणित फैलियो उसैगरी काठमाण्डौको फोहर पनि फैलिरह्यो ।

एक दिन भाले लाम्खुट्टे आहाराको खोजीमा भक्तपुर जाने सुरले आफ्नी श्रीमतीसँग बिदा माग्न गयो । उसले भन्यो –‘ म दुईचार दिनका लागि भक्तपुर जाँदैछु । अरु रोग त हामी लाम्खुट्टेहरूलाई लाग्दैन तर मान्छेहरू बाठा भएका छन् । थप्पड रोग लाग्यो भने चाहिँ म फिर्दिन । त्यसैले साता दिनसम्म बाटो हेर्नु, आठौं दिनका दिन पनि म, आइनँ भने मेरो कृया गरिहाल्नु । ’ जवाफमा उसकी पोथीले टाउको मात्रै हल्लाई ।

भाले उड्यो । एकैछिनमा गलेछ, ऊ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा गएर अडियो । त्यसैबेला पशुपतितिरबाट एक हूल लाम्खुट्टेहरू टावरतिरै आए । नयाँ नचिनेका होलान भनेको त आफ्नै ससुरालीतिरका नातागोता नै रहेछन् । बिहान–बिहान पशुपनिनेरको बाग्मतीमा लेदो हिलो खाँदाखाँदा जण्डिस भएकाले खोकनाको तेल खोज्न हिँडेका रहेछन् । भलाकुसारी भयो । टावरमै बसेर सञ्चोबिसञ्चो सोधियो । चियाखाजा ख्वाउने प्रस्ताव ज्वाइँ भालले राख्यो तर त्यसैबेला थाई एयरवेजको बिमान बस्ने बेला भएको रहेछ । ठूलो आवाजले मुटुनै थर्काएकाले सबै आआफ्ना दर्गदिशातिर उडे ।

भाले भक्तपुरतिरै हानियो । ऊ भक्तपुर पुग्ने हतारोमा जोडसँग पखेँटा चाल्दै थियो । कोटेश्वरमा ट्राफिक जाम भएको रहेछ । आकाशबाट गाडीहरूलाई कमिलाको ताँती झैँ देखेछ । छक्क पर्यो ।

ऊ बेलैमा भक्तपुर पुग्यो । गल्लीगल्ली चहारेर फोहरमा चियाखाजा खायो । ढलमा पसेर चिसोसिसो पियो । भक्तपुरमा काठमाण्डौमाभन्दा बढी घुँइचो भएको देख्यो । सकेजति घुम्यो । यसरी ऊ थाक्यो र बास बस्न दरबार स्क्वायरतिर लाग्यो ।

भोलिपल्ट लाम्खुट्टे सबेरै उठ्यो र मुखै नधोई आफ्नो भोक शान्त पार्नका लागि फोहरका थुप्रा चहार्न थाल्यो । उसले भक्तपुरमा काठमाण्डौमा जस्तो फोहर देखेन । यो सहर काठमाण्डौको तुलनामा अपेक्षाकृत सफा थियो । विगत केही वर्षदेखि भक्तपुरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सफा र सुन्दर बनाइएको रहेछ । यो देखेर लाम्खुट्टेको मन केही खुसी भयो । पेटमा भोकको ज्वाला दन्केकाले ऊ आफ्नो आहाराको चहारीमा फोहरका रास खोज्दै हिँड्यो ।
चोकमा एउटी सुन्दरी मैया बढार्दै रहिछन् । ऊ तिनको पाखुरामा स्वाट्ट बसेर टोक्न मात्र लागेको थियो मैयाले देब्रेहातमा कुचो लिएर दाहिने हातले प्याट्टै हिर्काइन् । लाम्खुट्टेको दाहिने गोडा र ढाडमा नराम्रोसँग चोट लाग्यो । ऊ रन्थनाएर भाग्यो । मैया फत्फताउँदै थिइन् । उसले पछाडि फर्केर पनि हेरेन ।

आफ्ना लागि भक्तपुर उपयुक्त सहर नभएको निचोड निकाल्दै ऊ फेरि फोहरकै राजधानी काठमाण्डौ फर्कियो । उडेर आउँदाआउँदै उसले फेरि कोटेश्वरमा निकै लामो ट्राफिक जाम भएको देख्यो । उसका पखेँटा गलिसकेका थिए त्यसैले ऊ रोकिएको एउटा कारभित्र पसेर त्यसमै बसी आफ्नो बासस्थान जाने विचारले लुसुक्क कारमा छिर्याे । सवारीचालक एउटा प्रतिष्ठित नर्सिङ् होममा काम गर्ने डाक्टर रहेछन् । उनी आफ्नो कार आफैँ चलाएर अस्पताल जादै गरेको पत्ता लगाए पछि ऊ पछाडिको सिटमा चुप लागेर बस्यो ।

भोकले आँखा नदेख्ने भैसकेको लाम्खुट्टले एकपटक डाक्टरले हाइ गर्दा उनको कानैनिर गएर टोक्ने सुरले पखेँटा फट्फटाएको मात्रै के थियो डाक्टरले दाहिने हातले स्टेरिङ समातेर देब्रे हातले मज्जाले उसलाई थप्पड लगाए ।

‘ साले गाडीमा पनि लाम्खुट्टे, लु खा ! ’ – डाक्टर कड्किए ।

जवाफमा ऊ पनि चुइँकिदै बोल्यो – ‘ डा.साहेब हामी पनि तपाईँका पेसागत सहयोगी त हौं नि । किन हामीमाथि यत्रो रिस ! ’

‘ के रे के रे तँ अँझ कराउँछस् ! ’ डाक्टरले बिरामीलाई पोख्ने रिस उसैलाई पोखे ।

ऊ पनि के कम र धादिङको लाम्खुट्टे न हो आफ्नो बहसको तर्क राख्यो – ‘ हेर्नुस्, डा.साहेब ! हामी छौं र तपाईँको पेसा छ । हामी नहुने हो भने तपाईँहरूको पेसा सब ठण्डाराम हुन्छ । हामीले मान्छेलाई नटोक्ने हो भने तपाईँहरूले अस्पतालमा के काम पाउनुहुन्छ ? बरू हाम्लाई त तपाईँहरूले घरमा संरक्षण दिएर पाल्नु पर्ने हो बुझ्नु भो ? रोग सहायक भत्ता ख्वाएर, हैन ? ’

‘ अँझ बाठो हुन्छस् कि दिऊँ झापु ? ’ डाक्टर झनक्क रिसाए ।

‘ नरिसाउनोस् डा. साहेब, यो काठमाण्डौमा हामी पनि नहुन्थ्यौं भने तपाईँहरू यति बग्रेल्ती नर्सिङ् होम खोल्न र जनताका पैसा यसरी धुत्न कहाँ पाउनु हुन्थ्यो ? हैजा, कलेरा, मलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस, हात्तीपाइले र अरू थुप्रै यावत् रोग हामै्र सौजन्यतामा तपाईँहरूलाई दिइएका उपहर त हुन् नि ! ’– सासै नबिराइकन लाम्खुट्टेले भन्यो ।

डाक्टर र लाम्खुट्टेको वार्ता अँझ रोचक गतिमा अगाडि बढ्दै थियो तर उनको नर्सिङ् होम एण्ड रिसर्च सेण्टर आइपुगेछ । उनी कार रोकेर उत्रिए । कार पार्किङ् गर्दानगर्दै उनलाई लिन बिरामीका आफन्तहरू ढोकैमा आइपुगेका रहेछन् । लाम्खुट्टे पनि सकुशल आफ्नी श्रीमतीलाई भेट्न आइपुगियो भन्ने खुसीयालीमा कारबाट उत्रिन मात्रै के आँटेको थियो उसलाई एक्कासि एउटा दह्रो झापु टाउकैमा लाग्यो । रन्थनिदै ऊ नर्सिङ् होमको इमरजेन्सी वार्ड तर्फ ढुन्मुनिदै के लाग्दै थियो गेटमा बसेको सुुरक्षा गार्डले फेरि अर्को थप्पड कोखातिरबाट जोडले लगाएकाले आमा पनि भन्न नपाई ऊ ढोकैमा खुत्रुक्कै मर्यो ।

रोगहरूको सजिलो बाहक लाम्खुट्टे एक्कासि थप्पड रोग लागेर मरेको डाक्टरले आफ्नै आँखा अगाडि देख्दा पनि उसलाई बँचाउन सकेनन् किनकि उनी त लाम्खुट्टेको नभएर मानिसका डाक्टर थिए ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *