त्यतिबेला भन्ने गर्थ्यौ
मेरो तस्वीर आँखामा नाचिरहन्छ
अनि आइरहन्छौ मध्ये रात
काली भन्दै सपनाको राजकुमार बनेर ।।
-=-
तर आधा रात नबित्दै
आफैँलाई बिर्सिएर
त्यही आँखाबाट निकाल्यौ मलाई
र भिजायौ तिम्रो आँखामा
कैद भएको मेरो तस्बिरहरू ।।
-=-
तिमी नै हौ
आधा आकाश जस्तो बनाउने ।।
-=-
तिम्रै आँखा अगाडि
बिरानो छातीमा ठोकिएर
म फुट्दै गएँ
पानीको फोका जस्तै ।।
-=-
त्यसअघि
कसिङ्गरझैँ कैल्यै बिजाइनँ
तिम्रो आँखामा म
नाटक थिएन जस्तो लाग्थ्यो माया
तर यतिखेर
पत्तै भएन
तिमीले तोड्दै गएको ।।
-=-
कतिखेर बाहिरिदै गएछु म
तिम्रो नजरबाट समयको गतिसँगै ।।
-=-
अब त भन्नै पर्ने भो ।
अप्सरा ! थाहा छ ?
तिम्रो लाज छोप्ने लगौटी;
पेटीकोट ; कुर्ता सुरुवाल
वा चौबन्दी चोली होस्
मैले नै सिलाएको हुँ
हेर त ?
अँझै डाम छ ती कपडाहरूमा
मेरो यी नै औँलाहरूको
सुँघ त?
तस्मा मेरो बास्ना आउन सक्छ ।।
-=-
अलिकति शिर झुकाएर हेर त
आफ्नो पैतालाको जुत्ता
पुछारका ठूले दाइले बनाएका हुन्
जुन दिनदेखि
तिम्रो पट्पट् फुटेका कुर्कुचाहरू
फुट्न छाडेका छन्
अनि घोच्न पाएका छैनन् नीलकाँडाले
र संचित हुन पाएका छन्
शरीर भित्र रगत ।।
-=-
त्यतिबेला
सग्लो कपडालाई
तिम्रो शरीर जस्तै आकार बनाउँदा
कैँचीले ठेला उठाएका छन्
औँला औँलामा
दुखाएका छन् उठेका फोकाहरूले
यौटा सानो सियोले
छिया छिया बनाएको छ
औँलामा कैद भएका भाग्यका चक्रहरू ।।
सायद
हामी नहुँदो हौँ त
तिम्रा कुर्कुचाहरू
र लाजका तस्बिरहरू
पक्कै पर्दा बाहिर हुने थियो ।।
-=-
तर
आज त्यही माया सियो बनेर
घोच्दै छ मलाई
छिया छिया पार्दै छ मुटु
सिन्काझैँ टुक्रिँदै छ हृदय ।।
-=-
मलाई थाहा थिएन त्यतिबेला
त्यो माया मेरै बिद्रोहमा उठ्छ भनेर ।।
-=-
तिमीले यो मुटु डाम्नु अघि
लाग्थयो कलिलो घाम बनेर उदायौ
र पस्यौ हृदयको ढोका खोलेर
त्यो दिन
मेरो विपक्षमा उठ्ने समयलाई
तातो बालुवामाथि पछारेछु जस्तो लाग्थ्यो
यो सिङ्गो आकाश मेरै जस्तो लाग्थ्यो
अनि चम्किला ताराहरू
मेरै हुन् जस्तो लाग्थ्यो
तिम्रो आगमन पछि ।।
-=-
केही वर्ष पछि
समय नाप्ने घडीका सुईहरू
मलाई घोच्दै हिँड्यो
धकेलेर पछार्यो समयले
तातो बालुवाको मैदानामा
म निर्जीव ढुङ्गा जस्तै पल्टिरहेँ
चिम्सा आँखा आकाशतिर फर्काएर
तर त्यो आकाश र मलाई हेरिरहने ढुझ्गाले
आँसु खसालेको देखिनँ ।।
-=-
सायद
यमराज पनि मेरो मृत्युमा खुसी छैन
त्सैले ढुङ्गालाई फुल अक्षता छर्केर
भगवान मान्न छाडिदिएको छु ।।
-=-
तिमीलाई के थाहा ?
रुपकी अप्सरा
म हार्न नजान्दा नजान्दै पनि
हारेको छु तिम्रो खुसीको लागि
नठान्नू मेरो हार देखेर ज्यँूदो लास
म त वीर योद्धा हूँ
हाम्रो विखण्डित मायाको ।।
-=-
तिमीलाई थाहा छ या छैन महारानी
सायद मैले नहार्देको भए
मेरो योगदान बिना जित्ने थिइनौँ
तिमीले जित्नुमा कस्को हात छ ?
-=-
फलाम खिए जस्तै
खिइँदै खिइँदै गएको छु
वर्षाले धर्ती गले जस्तै
गल्दै गल्दै गएको छ शरीर
फेर्न गार्हो भएको छ सास
टुक्रिदै टुक्रिदै गएका छन्
धमनी र सिराहरू
अब तिमी आफै भन त !
कतिन्जेल बाँचिएला यसरी ।।
-=-
यतिबेला यमराजलाई माफ माग्दै
मृत्युवरणको निर्णय लिएको छु
आफ्नै जिन्दगीको कठघरामा उभिएर ।।
यो पक्का हो काली
एकदिन धागोले बाँधेको चिठी
लिएर आउने छ तिम्रो घर चरा
यो मृत्यु बकसपत्र
तिम्रो हातमा राखेर
फर्केर आउने छ चखेवा
जो म जस्तै पीडित छ ।।
-=-
प्राण त्याग गर्नु अघि भन्नै पर्छ
घृणा नगर्नू मलाई जस्तै
किनकि तिमीले तरकारी काट्ने चुलेसी
खुकुरी पल्ला घरे माइला सुनारले
बनाए हुन् पसिनाले पाइन् हालेर
धार बनाएका हुन् घनले चुटेर
तर मजस्तै उनीहरू पनि चल्न सकेनन्
तिम्रो घर मठ मन्दिर र मस्जिदहरूमा ।।
-=-
महारानी !
माइलाले बन्चरो नबनाएको भए
काट्ने दिएन काठका मुडाहरू
बन्ने थिएनन् दाउराका टुक्राहरू
बल्ने थिएन अगेनामा आगो
पाक्ने थिएन कसौडीमा भात
र कराइमा तरकारी
गाइने दाइ नभैदिएको भए
सायद बज्ने थिएन सारङ्गी
वादी दाइ नभइदेको भए
बन्ने थिएन मादल ।।
-=-
ए अप्सरा ! तिमी रुपको घमन्ड नगर
महान नठान्नू आफुलाई
समयसँगै चाउरिदै जानेछ
तिम्रो सेतो छाला
अनि फुल्दै जानेछ केश
मधुरो हुँदै जानेछ चम्किलो आँखा ।।
-=-
जे होेस् मलाई विश्वास छ
मेरो मृत्यु पछि
कुनै दिन म आवश्यक हुनेछु
त्यतिबेला
मेरा धमिरा लागेका तस्बिरहरू
हेर्दै रुनेछ्यौ
आकाश पनि अँध्यारो लाग्नेछ
ताराहरू पनि मधुरो लाग्नेछ ।।
-=-
त्यतिबेला
तिमीले भन्ने छ्यौ
मलाई माफ गर कविज्यू
मबाट ठूलो गल्ती भो
त्यतिबेला
तिमीसँग भएका मेरा तस्बिरहरूले
माफ दिन सक्ने छैनन्
अनि बिस्तारै तिमीलाई
भार लाग्नेछ आफ्नै जिन्दगी ।।
-=-
यदि यमराज सहमत भयो भनेँ
अन्तिम पटक हेरूँला
आफ्नै चितामा उभिएर ।।
****
विक्रम पवन
बेथान -४- रामेछाप
हाल – उदयपुर
