Skip to content

ॐ अँगारे लेखोट भूतायः नमः


सबै जना मसानघाटबाट घर पुगे । भूत पक्राउ परेको जमिन मास्तिर खाली जमिनमा सानो थान बनाए । प्रतीकका रूपमा एउटा ठूलो ढुङ्गो गाडे । छेउछाउमा अन्य स–साना ढुङ्गा पनि गाडे । सबै ढुङ्गालाई सिन्दुर लगाउने र काँचो धागो बेर्ने काम गरे । फुयल धामी, बस्नेत धामी र आचार्य धामी गरी तीन जना धामी भेला पारिए ।

तीनै जना ढ्याङ्ग्रो ठोक्तै मन्त्रोच्चारण गर्न थाले । तिनीहरूका बेग्लाबेग्लै धुपाउरेहरू धुप हाल्दै थाल बजाउन थाले । धामीहरू आ–आफ्नो लय र तालमा नाच्न थाले । केही बेरको विश्राममा धामीहरूले आधा आधा बोतल सोमरस रित्याए । एक–एक चिलिम महादेवको प्रसाद सिध्याए । र, धामी नृत्य र प्रवचनलाई निरन्तरता दिँदा भए ।

सर्वसाधरणहरू परपरैबाट दर्शन गर्थे । थानभित्र पस्न त परै जाओस्, चियाएर समेत हेर्न डराउँथे । उनीहरूको मानसिकतामा थानभित्र भूत बसेकै छ । जोसँग बेखुशी हुन्छ, त्यसैलाई काँचै खाइदिन सक्छ । त्यसैले गर्दा उनीहरू हात जोड्न पनि पछि पर्दैनथे ।

धामीहरूले जोखाना हेर्दै फलाके– यस घरको सुदिनको दैलो उघ्रिसकेको छ । श्मसानवासी श्रीमहादेवको कृपादृष्टि परिसकेको छ । र, फलिफावै फलिफाव हुने निश्चित भएको छ । भूतजीलाई खुशी पार्न खतिरे बाजे स्वयम्ले ‘ॐ अँगारे लेखोट भूतायः नमः’ को मन्त्रोच्चारणसहित पूजापाठ गरी तीन जना लोकोपकारी सज्जनलाई दैनिक भोजन गराए सम्पूर्ण अनिष्ट नास भई फलीफाव हुने देखिन्छ ।

त्यस घरका मुलीलाई पुराना मानिसहरू खरिते नामले पनि पुकार्थे । एक समयमा ती बूढा गाईवस्तु खरिदबिक्री गर्न निकै माहिर थिए रे । तर, कहिल्यै दुई पैसा नाफा कमाउन नसकेपछि श्रीमतीको फोर्सले चटक्कै छाडेका रे । काम गर्दाको नाम नै कालान्तरसम्म रहेको मात्र हो ।

धामीको सङ्केत पाउना साथ उपस्थित सबैले हात जोडेर मन्त्रोच्चारण शुरु गरे– ॐ अँगारे लेखोट भूतायः नमः । उता माष्टर दाजु भने नरे माहिलाको खोजीमा यत्रतत्र भौतारिइरहेकै थिए ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *