काभ्रे जिल्लालाई साहित्यको उर्वर भूमि मानिन्छ । यही उर्वरभूमि कला, साहित्यको खेती हुने गर्दछ, र अनेकौ कृतिहरूको सिर्जना भएको छ । काभ्रेली भूमिमा बिजारोपण भएका कतिपय सामाजिक तथा साहित्यिक संघ संस्थाहरू विलय हुने गएका छन भने कतिपय विभिन्न आरोह अवरोहलाई पार गर्दै गन्तव्य पथमा निरन्तर लम्किरहेका छन । राष्ट्रवादी भावनाले ओतप्रोत ती सामाजिक संस्थाहरू सममाजका गहनाका रुपमा सावित भएका छन । जसको उदाहरणको रुपमा सयपत्री प्रतिष्ठान नेपाल, जनागाल काभेलाई लिन सकिन्छ । वि.स २०५१ सालमा युवा शक्ति नै समाजको बल हो भन्ने नारा लिएर काभ्रेली भूमिमा अंकुराए सयपत्री प्रतिष्ठान आफ्नो स्थापनाको २२ औं वर्ष यात्राहरूलाई पार गर्दै सबैमा सुवाष छर्न सफल भएको छ ।
नविन उमङ्ग, सयपत्री, मखमली र गोदावरी फुलको सुगन्धसँगै भित्रिने शरद ऋतु र यही शरद ऋतु उमङ्गमा रम्दै मनाइने हिन्दूहरूको दास्र्रो महान चार्ड तिहार जब नेपालीहरूको घर आँगनमा प्रवेश गर्दछ । तब नेपाली साहित्य जगत महान हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको समेत स्मरण गराउँदछ । वि.स १९६६ साल कार्तिक २७ गते लक्ष्मी पूजाका दिन जन्मिएका देवकोटा धनधान्यकी देवी लक्ष्मीको प्रसाद नभई सरस्वतीको प्रसाद बन्न पुगे । नेपाली साहित्य आकाशका चम्किला ताराका रुपमा परिचित देवकोटाको कलमले नछोएका साहित्यका कुनै विधा नै छैन। देवकोटाको स्मरणमा संधै काव्यसागर छछल्किरहन्थ्यो । गरिबीको रेखालाई कहिल्य नाघ्न नसेका देवकोटाले तत्कालीन अवस्थामा लोप हुन लागेको झ्याउरे भाका कृतिहरूको सिर्जना गरी नेपाली भाषा, साहित्यको विकासलाई सफलता तर्फ उन्मुख गरेका थिए । आधुनिक नेपाली साहित्यका क्षेत्रमा स्वाच्छन्दतावादी धाराका प्रर्वतकका रुपमा देवकोटाले प्रकृति, प्रेम, मानव जीवनका हृदयबिदारक विषयवस्तुलाई उत्थान गरी कलमका माध्यमबाट सामाजिक रुपान्तरण गर्न सफल भएका छन । त्यसैले नै होला देवकोटाका कृतिहरू अँझै पनि अमर छन, अजर रहेका छन ।
महाकवि देवकोटाको सम्झना गर्दै हरेक वर्ष साहित्यिक व्यक्तित्वहरूको सम्मान र कवि गोष्ठी कार्यक्रमको आयोजना गर्दै सयपत्री प्रतिष्ठानले देवकोटा जन्म जयन्ती मनाउँदै आएको छ । यस संस्थाले नेपाली साहित्य जगतमा अमूल्य योगदान पुर्याउने विशेष व्यक्तित्वहरूलाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मान गर्दै आएको छ । तिहारको रमझमसँगै देवकोटाको जन्मजयन्ती मुलुकभरका साहित्यिक संघ संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहँदा सयपत्री प्रतिष्ठान नेपालले भने विगत १७ वर्ष देखी विभिन्न साहित्यिक गतिविधिहरू संचालन गर्ने मात्र नभई नेपाली, भाषा, साहित्य र वाङ्मयका क्षेत्रमा जीवन समर्पित गरी नेपाली साहित्यको उत्थान, विकास र विस्तारमा कर्मशिल रही नेपाली साहित्य जगतको उन्नतीमा विशेष योगदान सष्ट्राहरूलाई महाकवि देवकोटाको सम्झनामा सम्मान गर्नु नेपाली साहित्यकै गौरवको कुरा हो । वि.स २०५१ सालमा उग्रतारा जनागालका स्थानीय युवाहरूको सक्रियतामा स्थापित सयपत्री प्रतिष्ठानले वि.स २०५५ सालदेखी सुरु गरेको कविगोष्ठी र वि.स २०५७ सालदेखी सुरु गरेको सयपत्री सम्मानको यो यात्राले पक्कै पनि महाकवि देवकोटाका पाईला पछ्याउने सष्ट्रा र सर्जकहरूका लागि मार्गदर्शक बन्न पुगेको छभन्दा फरक नपर्ला ।
दुवोको माला, सयपत्रीको माला, तिहारको भाइ मसला, प्राकृतिक कलात्मक मूर्तिबाट २ जोडी दम्पतीहरूलाई सम्मान गर्नु सयपत्री प्रतिष्ठानको विशेषता नै हो । साहित्य लेखनका क्षेत्रमा लामो यात्रा पार गरिसकेका वरिष्ठ साहित्यकारहरूलाई दुवो माला लगाई अभिनन्दन गर्दा त्यो क्षण वास्तवमै प्रशंसनीय छ । यसरी सम्मानित हुने व्यत्तित्वहरू एक आफ्नो जीवनका केही पलहरूलाई स्मरण गर्न पुग्दछन । कतिपयले आफ्नो पुनर्विवाह भएको अनुभूति प्रकट गर्ने गरेका छन भने कतिले सयपत्री प्रतिष्ठानसँग अविसमरणीय नाता गाँसिएको भाव प्रकट गर्ने गर्दछन ।
सामाजिक मूल्य मान्याता र नैतिकतालाई आतमसाथ गरी सामाजिक सेवामा जीवन आहुति गर्ने आदर्शवादी व्यक्तित्वहरूलाई एकातिर पन्छाएर सीमित स्वार्थका पूर्वाग्रही ढंगबाट चिनेजानेका र नातागोता भित्रका व्यक्तिहरूलाई विभिन्न उपाधि दिएर सम्मान गर्ने विकृतिको हावी भएको वर्तमान अवस्थामा ओझलमा परेका पत्रहरूको खोजी गरी उनीहरूको सामजसेवाको भावलाई थप उर्जा दिने हेतुले सयपत्रीले गर्ने गरेको यो सम्मान प्रति म आभार व्यक्त गर्दछु । सामाजको उन्नती, प्रगति र समुन्तीका लागि जस्तो सुकै विग्नबाधाहरू आई परे पनि सयपत्री प्रतिष्ठानले आफ्नो यात्रालाई सफलतातिर लम्काइरहोस । सयपत्रीका हरेक सुगन्धहरू सामाजिक विकृति, विसंगतिहरूलाई पन्छाउन सकोस । शुभकामना !
