कलमले कोरेर नापेर
सीमाका धर्षाहरूले मात्र
लेखिन्न देश
देश
सीमांकनको भूगोल,
बर्ण विश्रामको रेखा होइन
त्यो त आँगन हुन्छ
तिम्रो र मेरो, उनको, तिनीको
खुल्ला आकाश हुन्छ
अङ्गेनाहरू धेरै हुन्छन
ओदानहरू थुप्रै हुन्छन
धुवाँ उठ्छ निभ्छ
देश भनेको त
मन भित्र हुन्छ
मुटुसँगै धडकन्छ
तिमी दुख्यौ भने मलाई दुख्छ
ठेलीहरू अभावका थुप्रै हुन्छन
एउटइ बाटोका ठेशहरू झेल्नु पर्छ
भूगोल नापेर मात्र देश हुन्न
सिंगो देशमा सिंगो मन हुनपर्छ
देश कतै उधृयो भने
कतै च्यातियो भने
सिउनु पर्छ
भावनाहरू बिचारहरू
नक्शा भएर
पीडाहरू
पिउनु पर्छ घुटुक्क
जिउनु पर्छ देश
एउटा बाटो भएर
अब
.धेरै दुखी सक्यो देश
.अब कुम्भकर्ण सुत्नु हुदैन देश भएर
. लमतन्न पल्टिएर
.अलमलिनु हुन्न
.दन्त्य कथाको
.स्फटिकको खम्बाबाट निस्किएको
.सेतो वायु पंखी होइन देश
.कथा छाँटेर ठट्टा मात्र हुन्न देश
.अनि एउटा भूगोल मात्र पनि होइन देश
.जो नक्शामा रंगी चंगी पोतिन्छ
.स्वतन्त्र आकाश अनि देश
.मन भित्र हुन्छ
.देश त चिमोट्यौ भने दुख्छ
.चिर्यो भने च्यातिन्छ
.अनि दुश्मनले कुल्च्यो भने पिरोल्छ
.ठुलो पीडा भएर दुख्छ
.एक्लो हुन्न देश
.तिमी म मात्र होइन
. भूगोल मात्र पनि होइन देश !!
———————-
तिहार भाइ टीका -२०७२
क्यालिफोर्निया
