Skip to content


आँखा स्वस्थ र स्वच्छ छन् तर यहाँ देख्नै नसक्ने भएँ,
हो यो सत्य भनेर तथ्य घटना लेख्नै नसक्ने भएँ ।
नाङ्गो देश छ लाज आज सजिलै ढाक्नै नसक्ने भएँ,
मीठो हैन सिधो पिठो पनि यहाँ चाख्नै नसक्ने भएँ ।।

केही काम लिई कतै पनि म ता धाउनै नसक्ने भएँ,
कुर्सी घुम्दछ आँ गरी फनफनी ख्वाउनै नसक्ने भएँ ।
अर्कालाई तिरेर अन्न घरमा हुल्नै नसक्ने भएँ,
गोजी शून्य छ साहुका नजिकमा डुल्नै नसक्ने भएँ ।।

खाऊँ दिन्भरिको सिकार तर यो खानै नसक्ने भएँ,
जाऊँ मन्दिर जान्छ देह मन ता लानै नसक्ने भएँ ।
आशा बन्धनभित्र राख्नु कसरी थाम्नै नसक्ने भएँ,
नेपालीहरूकै मुटू पनि यहाँ छाम्नै नसक्ने भएँ ।।

को ज्ञानी शठ को भनी सहजले बुझ्नै नसक्ने भएँ,
बाछो सानु म साँडका अघिसरी जुध्नै नसक्ने भएँ ।
अन्धाका पछि दौडँदै म त्यहाँ पुग्नै नसक्ने भएँ,
गोठालो हुँ तथापि गोठ कहिल्यै रुङ्नै नसक्ने भएँ ।।

उत्तर्दक्षिण पूर्व पश्चिम कतै भिड्नै नसक्ने भएँ,
माटाको महिमा बुझ्यो कि कसले चिन्नै नसक्ने भएँ ।
निस्वार्थी अनि स्वच्छ छन् कति यहाँ, जान्नै नसक्ने भएँ,
आफ्नै हार्दिक मित्रलाई पनि ता छान्नै नसक्ने भएँ ।।

स्वप्नामा पनि कानले शुभ कुरा सुन्नै नसक्ने भएँ,
आफ्नै रक्त गनाउदोछ अरु ता सुँघ्नै नसक्ने भएँ ।
उस्बेला बरु बोल्दथें अब त झन् बोल्नै नसक्ने भएँ,
निस्फिक्री मनका व्यथा त कहिल्यै खोल्नै नसक्ने भएँ ।।

सत्तामा अरु मित्र नै किन नहुन् हेर्नै नसक्ने भएँ,
सत्ता चुम्बक नै रहेछ कि कसो छुट्नै नसक्ने भएँ ।
अर्काका शिरको लिखा र त्यसको खुट्टा म देख्ने भएँ,
आफूभित्र अजङ्गका जखमले भैंसी नदेख्ने भएँ ।।

बोक्रे राष्ट्रियता सुगा रटनमा घोक्नै नसक्ने भएँ,
मेरा आत्मविरोधका स्वरहरू रोक्नै नसक्ने भएँ ।
मैले मात्र विदेशका ऋण सबै बोक्नै नसक्ने भएँ,
देशै शून्य गरी विदेसिइसके छेक्नै नसक्ने भएँ ।।

त्रासैत्रास भएर पीर मनको पोख्नै नसक्ने भएँ,
आफ्नै रक्षकलाई भित्र मनले जोख्नै नसक्ने भएँ ।
मेरा शैल हिमाल स्वच्छ कहिल्यै राख्नै नसक्ने भएँ,
किं कर्तव्य छु गुप्त अङ्ग अब ता ढाक्नै नसक्ने भएँ ।।

साँडे छन् अनगिन्ति, यो गडगडी रोक्नै नसक्ने भएँ ,
बाछी एक कठै ! बलात्कृत हुँदा छेक्नै नसक्ने भएँ ।
आँखा हेर्नु सिबाय क्यै अरु कुरा गर्नै नसक्ने भएँ,
यै चालासित तड्पिएर सजिलै मर्नै नसक्ने भएँ ।।

सुररुङ्गा, झापा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *