Skip to content

फर्किन्छु गाउँ फेरि


गाउँ घर उजाड भएछ कठै सबै शहर पसेपछि
घर छाना भित्ता घाँस पलाएछ छाडेर हिंडेपछि
गाई गोठ कडकुरो थर्कु याँहा सबै ढलिसकेछन्
घरको खाँबा डाँडा भाटाहरू सबै गलिसकेछन्

सुन्दर फूल फूल्ने बँगैचा आज बनमाराले ढाकेछ
पहेंलै तोरी फुल्ने पाटा भरी बुकी फुल्न थालेछ
कागती सुन्तला जुनार बोटमा ऐजेरू बास भएछ
पुर्खाले दुख गरी जोरेको सम्पत्ति यसै नाश भएछ

शिरूबारी खर्यान आज काँडाघारी हुन पुगेछ
टारी खेत जंगल अनि गैरी खेत बगर हुन पुगेछ
चौतारीको पिपल ढलेछ झोलंगेका खापा कुहेछन्
अनुपस्थितिमा मेरो गाउँ घर त्यहाँ रोइरहेछन्

अघिल्लो पुस्ता बृद्ध भयो पछिल्लो विरानो भएछ
आफ्नो पुस्ता गाउँ छाडेर कतै पलायन भै गएछ
कोही त चिन्न छाडिसके आफ्नै गाउँ जाँदा खेरी
दुख्यो मन बस्दिन शहरमा फर्किन्छु गाउँ फेरि

बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *