गाउँ घर उजाड भएछ कठै सबै शहर पसेपछि
घर छाना भित्ता घाँस पलाएछ छाडेर हिंडेपछि
गाई गोठ कडकुरो थर्कु याँहा सबै ढलिसकेछन्
घरको खाँबा डाँडा भाटाहरू सबै गलिसकेछन्
सुन्दर फूल फूल्ने बँगैचा आज बनमाराले ढाकेछ
पहेंलै तोरी फुल्ने पाटा भरी बुकी फुल्न थालेछ
कागती सुन्तला जुनार बोटमा ऐजेरू बास भएछ
पुर्खाले दुख गरी जोरेको सम्पत्ति यसै नाश भएछ
शिरूबारी खर्यान आज काँडाघारी हुन पुगेछ
टारी खेत जंगल अनि गैरी खेत बगर हुन पुगेछ
चौतारीको पिपल ढलेछ झोलंगेका खापा कुहेछन्
अनुपस्थितिमा मेरो गाउँ घर त्यहाँ रोइरहेछन्
अघिल्लो पुस्ता बृद्ध भयो पछिल्लो विरानो भएछ
आफ्नो पुस्ता गाउँ छाडेर कतै पलायन भै गएछ
कोही त चिन्न छाडिसके आफ्नै गाउँ जाँदा खेरी
दुख्यो मन बस्दिन शहरमा फर्किन्छु गाउँ फेरि
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
