Skip to content

तिम्रा संविधानले


एकातिर धान अर्कातिर संविधान
असरल्ल दाइँ
फरक मुद्रा र मुद्दामा
कुदेका कुद्यै
दयाँरूहरू/सभाषद्हरू,
एकातिर पानी नपरेर
वर्षे धानका पाँजामा पवटा
अर्कातिर बानी नसप्रेर
संविधानका दफादफामा बाझो
एकातिर मानो खाएर
मुरी फलाउने चिन्ता
अर्कातिर अर्काको मानो पचाएर
अर्काकै मुरी फलाइदिनु पर्ने पर्म
यो धानको छिरलो
त्यो संविधानको पिरलो कठै ! कहिलेसम्म ?
नेपालीले कहिल्यै अर्मल तिर्न नसक्ने,
वीउ छरेपछि रोप्ने, गोड्ने, काट्ने, झार्ने, बताउने
र गेडो तुल्याउने चटारो
संविधान जोखेपछि
आग्रह, पूर्वाग्रह र विग्रहका झ्वाँकहरू,
ए ! सभाषद्हरू हो,
तिम्रा संविधानको खरानीको विगुतले
सिकारी बेथाले जाजरकोट तिरका
हरियो छेरेका नानीको ओखती गर्न हुन्छ/हुँदैन ?
तिम्रा संविधानले
संघीयताको पाठ घोक्ने ताप्लेजुङतिरका अबोध शिशुको
च्याङ्लो कापीमा जिल्द हाल्न हुन्छ/हुँदैन ?
तिम्रा संविधानले
अरब लागेको युवाको पासपोर्टमा
फ्रि टिकेट र भिसा लाउन हुन्छ/हुँदैन ?
तिम्रा संविधानले
सुत्केरीलाई ज्वानाको झोल उमाल्न
आगो जोर्न हुन्छ /हुँदैन ?
तिम्रा संविधानले
स्कुलबाट फर्केको लुरे बालकलाई
मकै पोल्न भर्भराउँदो कोइला हुन्छ/हुँदैन ?
भन के चाहिँ हुन्छ त तिम्रा संविधानले ?
यो पनि हुँदैन /त्यो पनि हुँदैन
पायस बनाउने सातु हुन्छ ?
नमाज पढ्ने चटाही हुन्छ ?
पास्टरलाई दिइने प्रसाद हुन्छ ?
या पारुहाङलाई चढाउने बिलो हुन्छ ?
भन न के हुन्छ ?
तिम्रा संविधानले ?

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *