देखेको थिएँ सपनामा
वायुपङ्खी घोडा चढेको
आकाशमा चरा जस्तै उडेको
जून र तारासँग अंगालो मारेको
अनि अन्तरिक्षमा घर बनाएर
दियाली मनाएको
महोदय त्यसैबेला
उस्को अमुर्त तस्बिरहरूले
छुटाएर तारा मण्डलको अंगालोबाट
लगेको थियो मेरो अोठभरिको खुसी
ब्यूँझदा न ऊ थियाे
न थियो जून र तारा ।।
–
यतिबेला यौटा पहाडको अोडारमा
छाती भरी फुलाएर आशाहरू
आँखाभरि सजाएर उसैको अनुहार
अँझै पनि पर्खिरहेको छु
एकदिन ऊ आउछ भनेर ।।
–
थाहा छैन ऊ कहाँ छ यतिबेला
त्यतिबेला बताएको थिएन आफ्नो घर
नाम सही भन्यो भनेन उसलाई थाहा छ
सबसब बिर्सिसकेको छु
महोदय यतिमात्र थाहा छ
त्यो मेरो लाग्ने हो भनेर ।।
–
उसलाई थाहा छ
बाँजो बारीलाई जोतेर तोरी लगाएको
त्यतिबेला ऊ
मभन्दा पनि चौगुणा साह्रै खुसी थियो
त्यही दिन हो तातो घाम
बादलले छोपिदिएको ।।
–
अदालतका माननीय सदस्यहरू
त्यतिबेला बाचा गरेका थियौं हामी दुवैले
माटो र सूर्यलाई साक्षी राखेर
हामी कहिल्यै छुट्ने छैनाैँ भनेर
सम्भोक गरेथ्यो त्यो रात
लोहोरी खेलेथ्यो स्वाँ स्वाँ गर्दै
त्यतिबेला
म पहिलो पटक नाङ्गिएको थिएँ
रोपेको थियो मेरो पाठेघरमा फल
अनि कसरी हैन भन्छ
यो विरुवा मैले रोपेको हैन भनेर ।।
–
महोदय
म यस्को बाउ चिन्छु
यो आफ्नो बाउ चिन्दैन
तर यस्ले आमा चिन्छ
गाउँ चिन्छ समाज चिन्छ
अनि आफ्नो देश चिन्छ
यही हो प्रमाण
यो नासोलाई नागरिकता दिने ।।
–
अदालतका माननीयहरू
भनेर मर्ने छु म भनेर आउनेलाई
यो सन्तान उसैको हो
त्यही लिङ्ग हो
जस्ले मेरो कुमारी यौनीलाई
लेकमा फुलेका रातो गुराँस सम्झेर
पत्रपत्र बनाएको थियो
खेलाएको थियो मेरो छाती
हावाले भरेको बेलुन समझेर
यही शरीर हो उस्ले परेड खेलेको
म परेड ग्राउन्ड बनेको त्यही बेला हो
यही अोठ हो उस्ले चुसेको
सम्झेको थियो ललिपप जस्तै गुलियो
त्यतिबेला
देखाएको थियो सपनाका फूलहरू
भनेको थियो आकाशमा फुलेका जून र ताराहरू
यही हातमा राखिदिन्छु भनेर ।।
–
महोदय
भनेर मर्ने छु समाजलाई
एकदिन पक्कै आउछ यस्को बाउ
खोज्दै अतितका पानाहरू
त्यतिबेला निकालेर दिनू सन्दुसबाट
उपहार स्वरूप मेरो अस्तु
अनि भनी दिनू यो नासो तिम्रै हो ।।
–
अदालतका माननीय सदस्यज्यू
यो नासो आउन सक्छ न्याय खोज्दै
के त्यतिबेला दिन सक्छौ
नेपाली नागरिक भएर बाँच्ने अधिकार ?
****
विक्रम पवन
बेथान-४- रामेछाप
रचना मिति – २०७२/०८/१२ गते गौर
