हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी !

सायद, यही नै थियो उनको सुसाइड नोट । पोर्चुगीस भाषाबाट गुगलको सहायताले उल्था गरेँ र भाव बुझिने गरी अर्थ लगाएँ । बूढाबूढीका यौवन र जिन्दगीका अविस्मरणीय क्षण उनीहरूकै मुखबाट सुन्न म लालायित हुन्छु । यदि, ध्यानपूर्वक सुनिदिने कोही भइदिए उनीहरू पनि मनलाई नबिसाइ सुनाइदिन्छन् र फर्किन्छन् आफ्ना जवानीका दिनहरूमा । सायद, कल्पनैपुरमा भए पनि एकक्षण महसुस गर्दा हुन् यौवनिक उमेरको ।

ती पोर्चुगीस बूढीआमैले म बस्ने घरको पल्लोपट्टि ढोकाबाट सधैँझैँ ढकढकाउँथिन् । र, सोध्थिन्, “तिम्रो उठ्ने बेला भएन ?”

म भने रातभरि काम गरेर होला, लखतरान सुतिरहन्थेँ, उनको बिहानको करिब ८ बजेको समय सधैँजस्तो हुन्थ्यो मलाई बोलाउने । यो क्रम करिब दुई वर्षसम्म चलिरह्यो, पोर्चुगल सेतुबाल जिल्लाको अल्मदा भन्ने ठाउँमा, जहाँ म काम गर्थें र बस्थेँ ।

उमेरले ८० कटेकी बूढी हो ऊ । नाम भेरा सामिपियो । तीन सन्तानकी आमा । एक छोरी र एक छोरा । दुई छोरी अमेरिकामा पढ्दै गर्दा उतै विवाह गरी बसेका । छोरो ड्रग्सको कारोबारका कारण जेलमा छ । ऊ छोराको नामै लिन चाहन्ने ।

छोरीहरू दुवै व्यस्त छन् अमेरिकामा । त्यसैले यो सानो अपार्टमेन्टमा उनको एउटा मात्र साथी छ बिरालो । जसलाई, मैले करिब दुई वर्षदेखि देख्दै आइरहेको छु ।

प्रत्येक बिहान म उनको साथी हुँ, कफीका लागि । उनलाई थाहा छ म कफीको पारखी । मेरो जिस्कने बानी नै उनको मन पर्ने बानी रे ! यदि उनी बूढी नभएकी भए वा मेरै उमेरकी भए मसँगै विवाह गर्थिन् रे ! कुनै दिन ठट्टा गर्दा यस्तै भनेको याद छ ।

मलाई उनको अपार्टमेन्ट आफ्नै घरजस्तो लागिरहन्थ्यो किनभने उनले पुराना–पुराना चीज सजाएर राखेकी थिइन् मैलेजस्तै । मेरो गाउँको घरमा बुबाका किताब, फोटा र युनिभर्सिटीका प्रमाणपत्रहरू लगायत बुबाले सँगालेका रोचक तस्बिरहरू मैले सम्हालेझैँ । घरमा दुई–तीनओटा फोटाका एल्बम रहेछन् । आफ्ना पुराना फोटाका एल्बम भनेर मेरो छेउमा राखिदिइन् । मैले हेर्दै गएँ । बालापन, स्कुलका क्षण, पाना पल्टाउँदै गएँ । चुम्बन गरेको एउटा युवकलाई देखाएर भनी, “ऊ मेरो पहिलो ब्वाइफ्रेन्ड ।”

म एउटा फोटोमा त्यसै अडिएँ । उनी भन्दै गइन्, “लन्डनको किङ्स कलेजमा हामी सहपाठी । म त्यतिबेला १९ वर्षकी थिएँ होला, ऊ पनि त्यस्तै उमेरको । जब छुट्टी हुन्थ्यो, कहिले उसको रुममा त कहिले मेरो रुममा हामी समय बिताउँथ्यौँ । त्यो पलको सम्झना गर्‍यो भने म विचलित हुन्छु ।” उनी यसरी भावुक बनिन्, यादैयादले उनका आँखा रसाएजस्तो भयो । फेरि भनिन्, “हामी तीन वर्षसँगै भयौँ । छुट्टीमा रहर पुग्दो गरी हाम्रो शारीरिक सम्बन्ध हुन्थ्यो । मुड चल्नेबित्तिकै सुरु हुन्थ्यो हाम्रो सम्बन्ध । ” अलिकति उनी लजाइन्, यो उमेरमा त्यो उमेरको सम्झना गरेर ।

सेतो लत्रेको सारीमा एउटा पुरुषलाई चुम्बन गरेको फोटो देखाइन् र भनिन्, “ऊ मेरो पहिलो हजबेन्ड । ऊसँग करिब चार सालसँगै भयौँ र डिभोर्स भयो । ऊ जर्मनीको हो ।”

त्यसपछि पार्टीका केही तस्वीर देखाइन् । र, अन्त्यमा त्यस्तै उमेरको अर्को पुरुष देखाई भनिन्, “यी योचाहिँ पोर्चुगीस हो । रेल्वे टेक्निसियन । लरेन्जरसको पार्कमा भेटेको । स्विमिङ पुलमा दुवै जनाको चुम्बनको तस्वीर देखाई थाहा छ ! ऊ राम्रो पौडीबाज पनि हो ।” बूढीआमा यसै जोसिइन् ।

पुल, पार्क, गाडी, रेस्टुराँ, बगैँचा, आइफल टावर यत्रतत्र छरिएका तस्बिरमा किसका सिन उनले देखाउँदै वर्णन गर्दै गइन्, मानौँ, अहिले उनी उमेरले ३० वा ४० कि हुँदी हुन् ! एल्बमको अन्तिममा श्रीमान्को फोटो रहेछ । उनले त्यो फोटो देखाउँदै गर्दा दुई थोपा आँसु तप्प चुहिए, फोटोमाथि । करिब चार वर्ष भयो रे बूढा बितेका ।

त्यसपछि यो एपार्टमेन्टमा उनी एक्लै हो । बूढाले एउटा कुकुर पालेका थिए रे ! उमेरले दुई वर्षको फरक भए पनि स्वास्थ्यको हेक्का राख्थे रे ! बिहान कुकुरलाई र आफू मर्निङ वाकबाट आएपछि बूढीले एकाएक ब्रेडमा बटर हालेर टेबलमा राखिदिन्थिन् रे ! बूढाले ‘स्विटी’ भनेर बोलाउँथे रे ! ‘आऊसँगै खाऔँ’ भन्थे रे ! उनले टेबल देखाइन् र ‘अहिले यो टेबल देख्नेबित्तिकै उसकै याद आउँछ’ भनिन् ।

चाउरिएका गालामा खण्डखण्ड हुँदै आँसु चुहिए । अनुहारभरिका खाल्डाखुल्डी मानौँ खेतमा पानी लगाउने कुलोजस्तो छ, जुन आँसुले भरिएर मुखसम्म आइपुग्थ्यो । मैले नजिकै रहेको टेबलबाट टिस्यु पेपर उनको हातमा थमाएँ । काठको मूढो उचाले जसरी गह्रुँगो गरेर टिस्यु पेपर उठाएर आँसु पुछिन् । “छोरो भन्नु नै त्यस्तै भो, एउटी छोरीले कति भ्याउने ? उसका पनि छोराछोरी छन्, अफिसियल काम छ रसँगै उसको लोग्ने । फोन त गरिरहन्छे तर वर्षको एकपल्ट भेट्न आउँछे ।” छोरीको व्यथा सुनाइन् । उनलाई अमेरिका जान मन पर्दैन रे ! हुर्केको नै यही ठाउँ, बूढाको याद पनि यहीँ छ, त्यसैले । बर्बराइन् ।

अचेल नेपालमा छोराछोरी व्यस्त भए भने बाबुआमा घाँडो मान्छन् र कतिले वृद्धाश्रम लगेर छोडिदिन्छन् । मलाई नेपालको याद आयो । वृद्धाश्रममा त कमसेकम आफ्ना उमेरका सहपाठी भेट्छन् बूढाबूढीले र मन बहलाउँछन् । तर, युरोप र अमेरिकामा प्राय:जसो कोठामै एक्लै बस्ने हो, कुकुर वा बिरालोलाई काखमा च्यापेर ।

“बूढा बितेपछि कुकुरलाई बाहिर घुमाउन लानुपर्ने कारणले मैले कुकुर घरमा राख्न सकिनँ । एनिमल सर्भिसलाई कुकुर दिएँ र उसैले नै यो बिरालो ल्याइदियो,” उनले बिरालोलाई हल्का मुर्सादै बताइन् । “यो पनि यहाँ भएको दुई वर्ष भइसक्यो । यही नै मेरो साथी हो ।” बूढीले यसरी भनेकी थिइन् ।

उनी अति नै माया गर्छिन् बिरालोलाई । लाग्दो हो यो बिरालो उसको सम्पत्ति हो । प्रत्येक पल बिरालो काखमा बसेर भाग्यमानी सम्झँदो हो । मैले एकदिन सोधेँ, “किन यति धेरै यो बिरालोको माया ? मान्छेहरूको माया स्वार्थी हुन्छ रे ! यो उमेरसम्म आइपुग्दा धेरै मानिस देखेँ, भोगेँ, मान्छे र जनावरसँगको मायामा फरक छ । जनावरलाई आश्रय दियो भने कमसेकम टाउकोमा टेक्दैन ।” मलाई उनको भनाइ सार्थक लागिरह्यो, त्यसपछि बल्ल मैले पनि जनावर पाल्ने सोच बनाएँ ।

एकदिन एनिमल सर्भिसको गाडी आयो । एउटा टोकरीजस्तो पोकामा केही सामानहरू लिएर गएजस्तो लागेको थियो । मैले बूढी आमाको ढोका ढकढकाएँ, ढोका खुलेन । सधैँ मेरो रुममा आएर कफीको अफर गर्ने बूढी अचानक दुई दिनदेखि गायब छिन् । किन होला ? मलाई कौतूहल जागेको थियो ।

यति लामो समयसम्म बस्दा पनि मलाई उनको मोबाइल नम्बर थाहा थिएन । यी बूढीआमा किन पो आवश्यक पर्लिन् र आखिर घरमा त भेट भइहाल्छ क्यारे, मैले त्यति महत्त्व सोचिनँ । तर, केही दिन नदेख्दा अचानक बूढीप्रति माया स्नेहजस्तो भयो मलाई । उनलाई देख्न नपाएको दुई दिन भएको हुँदो हो । मेरो मन खिन्न र भारी भयो । सायद ‘ट्रेजेडी’ परेजस्तो, जसको सामना युवावस्थामा गरेको थिएँ मैले कुनै पलमा ।

मेरो घरको तलपट्टिको मासु बेच्ने टर्किससँग सोधेँ एक दिन । उसले भन्यो, “ल तिमीलाई थाहा छैन बूढीको बिरालो खै के कारणले हो मर्‍यो, त्यसै दिन बूढी विह्वल भएर चिच्याएकी थिइन्, त्यसको राती एम्बुलेन्स आएर बूढीलाई लगेको देखेको थिएँ मैले ।” म छाँगाबाट खसेजस्तै भएँ । मैले चिनेको एक जना प्रहरी अधिकृत थियो, प्राय:जसो म बस्ने घरबाट पाँच मिनेटको दूरीमा रहेको एउटा बियर क्याफेमा बेलुकी–बेलुकी ऊ आउँथ्यो र फुटबल हेर्दै एक–दुई क्यान बियर पिएर जान्थ्यो ।

संयोगले त्यस दिन पनि उसलाई त्यही रेस्टुराँमा भेटेँ र मैले बूढीका बारेमा सोधेँ । उसले सबै वृत्तान्त बतायो । र, भोलिपल्ट उसले बूढीले सुसाइड नोटमा लेखेको कुरा बतायो मलाई । त्यस नोटलाई मैले गुगलको सहायताले उल्था गरेँ । तर, उनले लेखेका ती दुई लाइन भने कसलाई लेखिन् ? आफ्नो पहिलाको ब्याइफ्रेन्ड, श्रीमान् या बिरालो ? यो अनुत्तरित प्रश्नले भने मेरो दिमाग खाइरह्यो ?

प्रकाशित: मंसिर १७, २०७२

महेन्द्र पौडेल
http://bit.ly/1XJJJdC

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *