Skip to content


संसारै विचित्रको छ । सभ्यता यतिबिघ्न विकसित भैसक्यो कि मानिसहरू पुनः नाङ्गिने स्थितिमा आइपुगे । कोही फेसनलाई घटाउँदै नाङ्गिदै छन् भने कोहीचाहिँ जनावरका भुत्लाको व्यापारिक फेसनमा भएको कार्य प्रयोगका विरुद्धमा नाङ्गिदै गएका छन् । समाचारको दुनियाँलाई अपडेट गर्ने क्रममा मैले हालसालैको नयाँ पत्रिकाभन्ने अखबारमा बेलायतमा एकहुल मानिसहरू साइकलमा नाङ्गै सवार भएको देखेँ ।

अचम्मै छ । हाम्रो मुलुकमा अँझै चेपाङ, राउटे र कुसुन्डा जातिका मानिसहरू वनमा बसेर गिठ्ठाभ्याकुर खाँदै छन् । तिनीहरूका आँङमा भनेजस्तो लुगा छैन । वनमै बसेर दिनचर्या बिताइरहेका छन् । शिक्षा, स्वास्थ्य र मानवाधिकारका कुराहरू त तिनका लागि पल्लोफालका कुरा भए । नेपालमात्र कहाँ हो र ! संसारको ज्ञानलाई समेटेर भन्ने हो भने विशाल भारत र अफ्रिकाका केही मुलुकमा अँझै पनि मानिसहरू लुगा नलगाई हिँड्ने गर्छन् । अण्डोमाननिकोवर द्विप र केही आसामका भूभागमा मानिसहरू अँझै नाङ्गै बस्ने गर्छन् । विश्व संचारको सुविधा र विकासले एउटा सानो क्षेत्रजस्तो भैसकेको छ । यस्तो परिस्थितिमा पनि मानिसको यस्तो असमानुपातिक अवस्था मानव सभ्यतामै लागेको कलङ्क हो यद्यपि अवस्था यस्तो भए पनि संसार हाँक्ने भनेकै नाइँ भन्नेहरूले हो । ‘हो’ र ‘छ’ अनि सन्तुष्ट भई ‘पुग्यो’ भन्नेहरूले संसारमा कतै पनि तरक्की गरेका छ्रैनन् । न्यूटनले स्याउ खस्दा चुप लागेर टिपी नूनखोर्सानीसँग खाएको भए गुरुत्वाकर्षणको कालजयी सिद्धान्त नै आविष्कार हुने थिएन । न्यूटनमात्र होइनन् उन्नाइसौँ शताब्दीका सयौँ वैज्ञानिकहरूले संसारलाई जेजति दिएर गएका छन् ती सबै नाइँ भनेरै भएका परिणतिहरू हुन् । नुपुग्नेले नाइँ भन्छ जो नाइँ भन्छ ऊ क्रमशः अगाडि बढ्छ । हुन पनि हामी एकछिन ठन्डा दिमागले सोचौँ प्रश्न गर्ने विद्यार्थी चुपलागेर सुन्ने वा प्रश्नै नगर्नेभन्दा मेधावी हुन्छ । ‘प्रश्न नै आधा जवाफ हो’ भनेर एक विद्वान्ले भनेका पनि छन् । हो, संसारको कुनै पनि समस्याले आफ्नो पछिपछि समाधानलाई लिएर आएको हुन्छ । आवश्यकता नै आविष्कारकी जननी हुन् । खाँचो नभइकन कोही तात्दैन । भाग्यवादीहरू बरू उल्टोपट्टिबाट भावीलाई सकार्दै ‘तँ चिता म पुर्याउँदछु’ भन्छ भनेरै डिङ् हाँकून तर कर्मवादीहरू यो भनाइको विश्वास गर्न चाहन्नन् । समस्याले मानिसलाई संघर्षसँग पौँठेजोरी खेल्न सिकाउँछ र व्यवहारमा खरो उतार्दै खार्ने काम गर्छ ।

प्रश्नमा नाइँ छिपेको छ भने उत्तरमा चाहिँ हो, हुन्छ । समाजमा पनि त प्रश्न गर्नेहरू अगाडि छन् –अनि उत्तर दिनेचाहिँ पछाडि । रूसो हुन या भोल्तेयर, माक्र्स हुन कि मदर टेरेसा, गान्धी हुन् कि या गोर्की सबैले प्रश्न याने नाइँ भनेरै संसारमा ख्याती कमाए । जो माथि पुग्यो त्यसले आफ्नो समयमा कहींकतै अवश्यै नाइँ भनेकै थियो दृष्टान्त अनगिन्ती हुन सक्छन् । एउटा सानो बालकको प्रश्न गर्ने जिज्ञासालाई नै लिऊँ न, ऊ कति सपाट हुन्छ –प्रश्नमा । एकदिन एउटा बालकले मलाई जिज्ञासाका तीरले घोचेर हैरानै पार्यो । ‘अंकल आकाशमाथि के छ ?’ तारा – मैले भनेँ ।’ ऊ फेरि छचल्किन थाल्यो । ‘त्यसभन्दा माथि के छ नि ?’ मेरो जवाफ थियो–‘आकाशगंगा ।’ ऊ अब अनवरत बग्न पो थाल्यो –‘आकाशगंगामाथि चैँ के नि ? पसिना पुछेर मैले भनेँ –‘आजोन तह ।’ यति सुनेपछि मलाई लाग्या थ्यो फुच्चे अब चुप लाग्छ तर मेरो सोचमा त्यसबेला पहिरो गयो जब उसले फेरि मलाई नै तीर सोझ्यायो– ‘आजोन तह भनेको चैँ के होला ?’ म पानीपानी भएँ । मैले पढेखारेका दुईचार पुस्तकका पोथीका सार खिँचेर मैले भन्ने जमर्को गरेँ –‘त्यसपछि चाहिँ मलाई थाहाभएअनुसार अन्तरिक्ष ।’ ऊ साध्दै गयो म भन्दै गएँ –‘चन्द्रमा, बुध, शुक्र र बृहस्पति ।’

कतै पढेको थिएँ –‘अन्तरिक्ष वैज्ञानिकहरूले केटाकेटीहरूको भर्सन मिलाएर अनेकौं प्रकारका युद्धपोतको निर्माण गरेका हुन रे ! उनीहरूको चञ्चल दिमागलाई साकार रूप दिने कार्यमात्र वैज्ञानिकले गरे भने उनीहरू आविष्कारमा सफल भएका छन् रे ! जुनदिन मलाई बालकले प्रश्नका वाणले हिर्काएर हैरान पार्यो र म भीष्मपिताम्मह भएर वाणाशन भएँ त्यस दिनदेखि मलाई वयष्कहरूको प्रश्नभन्दा बालकका प्रश्नहरू बढी यक्षप्रश्न हुँदा रहेछन् भन्ने ज्ञान फुर्यो । हो पनि वयष्यका प्रश्नको एउटा न एउटा सीमा र मर्यादा हुन्छ अनि तिनीहरूका लागि उत्तर दिने मेसो पनि हुन्छन् तर अबोध बालकका प्रश्नहरू त कहाँ र कताबाट सुरू भई कहाँ गएर अन्त हुन्छन् भन्ने टुङ्गै हुँदैन । पुस्तक र पाठ्यक्रमबाट सोधिने प्रश्न बढी वस्तुपरक हुने भएकाले मलाई ती प्रश्नहरू फस्र्याउन त्यति हम्मेहम्मे पर्दैनन् तर जसका कुनै सरहद नै हुँदैनन् ती प्रश्नहरू बढी सरल हुने गर्दा रहेछन् । सरलता भित्रको क्लिष्टताले चाहिँ बढी समस्यामा पार्ने रहेछन् ।

अचेल असल शासनका क्षेत्रमा ‘किन संस्कृति ?’ चलनचल्तीमा छ । अंग्रेजीमा यसलाई ध्जथ ऋगतिगचभ ? भनेर भनिन्छ । किन ? कसरी ? कस्को ? कस्लाई ? कहाँ ? आदित्यादि प्रश्नले सेवाप्रदायक हैरानै हुन्छ र सपाट जवाफ दिन्छ । प्रश्न गर्ने हक सबै मानिसलाई छ तर सबै प्रश्न गर्दैनन् या प्रश्न गर्ने हैसियतका हुँदैनन् । समाजमा अर्को एउटा ठूलो तप्का पनि लुकेर बसेको छ, त्यो हो –‘मौन संस्कृति ।’ हुन त मौनताभित्र ठूलो कोलाहल हुन्छ तर त्यसलाई बुझ्ने र पर्गेल्ने खुबी चाहिन्छ । प्रश्न गर्नेलाई आजपर्यन्त कसैले पनि बतौरो भनेको सुनेको छैन । प्रश्न गर्ने व्यक्तिको सबैभन्दा ठूलो योग्यता भनेकै उसको तर्कशील प्रश्न हो । यो योग्यताको विपक्षमा आजसम्म अर्को कुनै शक्ति पौंठेजोरी खेल्न आएको छैन ।

हुन त विद्यालयमा वा विश्वविद्यालयमा पढाउने हामीजस्तै शिक्षक वा प्राध्यापकहरूले विद्यार्थीहरूको ल्याकत तथा योग्यता परीक्षणार्थ शिक्षकनिर्मित वा विशिष्टिकृत किसिमको परीक्षा लिने चलन छ । त्यस परिप्रेक्ष्यमा चाहिँ प्राश्निक धेरै जानेको र उत्तर दिने व्यक्ति परीक्षकभन्दा कम जानेको हुन्छ, भनिन्छ तर मलाई के लाग्छ भने शिक्षकभन्दा विद्यार्थी मात्रै एक घन्टा पछाडि हुन्छ । शिक्षकले जे जानेको हुन्छ विद्यार्थीले ऊभन्दा एक घन्टा पछि जानिहाल्छ, त्यो पनि गुरुकै हात वा मुखबाट । पश्चिममा एउटा मान्यता नै छ –‘धेरै जान्दछु भनेर घमन्ड नगर तिमी आफैँ आफ्नो ज्ञान एक घन्टा पछि सार्वजनिक गर्दै छौ ।’ त्यसलै हामीकहाँ एउटा उखानै छ –गुरु गुण चेला चिनी ।

नयाँ पात पलाउनुअघि नै पुरानो पात झरिसकेको हुन्छ ।

संसार भनेकै रिले दौड जस्तै हो । एउटैले कुनै क्षेत्र पनि पार लगाउँन सकिन्न । आयु, बुद्धि र सीप प्रत्येकलाई प्रकृतिले फरकफरकमात्रामा दिएको हुन्छ जतिसुकै तीक्ष्ण र मेधावीको पनि निश्चित यात्रा छ –यो संसारमा । एकपछि अर्कोगर्दै लहरा लहरिएझैँ पुस्ता दरपुस्तामा संसार चलेको छ । कोही पनि विकल्पहीन छैन, सबैको विकल्प छ । चराचर जगत् नै विकल्पमा फन्फनी घुम्दछ । प्रश्नैप्रश्नको सिकन्जामा मान्छे घेरिएको छ भन्छन् – डा.योगी विकासानन्द । उनले आफ्नो विचारमा उल्टो प्रश्नचिन्हको प्रयोग गरेका छन् । उनको तर्क छ – प्रश्नले घेरिएको मान्छे बेचैन छ, मान्छेले आफूभित्रको प्रश्नलाई जितेर हटाउँन सक्यो भने ऊ प्रश्नरहित सुखी बन्न सक्छ । प्रश्न बोक्ने मानिस कहिल्यै पनि सुखी हुन सक्दैन । डाक्टर विकासानन्दज्यूसँग आँशिक सहमतिमात्रै जाहेर गर्न सक्ने अवस्थामा छु, म अहिले किनभने जब मानिसमा प्रश्न नै हुँदैन ऊ शून्य हुन्छ । शून्य हुनु भनेको मृत्यु हो । अचेतावस्थामा मात्र मानिसमा प्रश्न हुँदैन अरूबेलामा त उसले केही न केही प्रश्न आफूमै गरिरहेको हुन्छ वा कसैलाई सोधिरहेको हुन्छ । हुन त वहाँको यसबारेमा आफ्नै किसिमको मौलिक तर्क होला ? असन्तोषका मानेमा वहाँले भन्न खोज्नुभएको होला तर मेरा कित्ताबाट हेर्ने हो भने जीव रहेसम्म प्रश्नको सिकन्जामा मानिस बाँधिन छोड्दैन, जेजस्ता प्रश्न र उपप्रश्नहरू हुन् –चाहे ती ।

समयले प्रश्न गर्ने र उत्तर पनि समयले नै दिने गरेको बुझेको छु –मैले । मानिस समयको उपज हो अनि निरन्तरता । त्यसैले यो दुनियाँमा एउटा मात्रै मानिस रह्यो भने पनि ऊ बाँकी सबै किन गए होलान् भनी आफैँमा प्रश्न गर्छ –स्वप्रश्न याने आफ्नै लागि गरिने प्रश्न । अतः हामी पनि प्रश्न गर्ने बानी छैन भने आजबाटै घोरिन थालौं र प्रश्नहरू उत्पादन गर्नपट्टि लागौं । कतै प्रश्नले हाम्रो जीवनलाई पनि सुखानुभूतितिर लैजान्छ कि ? दुनियाँमा जब आफू प्रश्न गर्ने होइन्छ त्यतिखेर आफूमा उत्तर दिने सामर्थ्य हुँदैन अनि जब आफ्नो पालो उत्तर दिनेमा आउँछ त्यसबेलामा आफू प्रश्न गर्न लायककै नरहन पनि सक्छ । चिकित्सा पेसामा लागेका डाक्टरहरू पनि रोगीलाई प्रश्न गरेरै बाँचेका हुन्छन् । रोगी पनि आफू बाँच्ने आशामा उत्तर दिन्छ भने डाक्टरचाहिँ आफू, आफ्ना जहानबच्चा र आफ्नो पेसालाई बचाउँन प्रश्नप्रतिप्रश्नहरू गरिरहन्छ । आहा ! कस्तो अपरम्पार छ हगि, प्रश्नसामर्थ्य । डाक्टरमात्र किन नि इन्जिनियर होस् या शिक्षक, सूचीकार होस् चाहे वकिल जो पनि आफू र आफ्ना जहानबच्चाको मुखमा माड लगाउँन कै लागि आ–आफ्ना मरिजलाई प्रश्नका छर्रा छोडिरहेका हुन्छन् । हिन्दीमा उखान पनि त छ –जहान है तो महान् हे ! सोझो हिसाबले भन्ने हो भने विद्यार्थीहरूको प्रश्नमा बाहेक अरू सबैका प्रश्नमा अर्थरूपि स्वार्थ लुकेको हुन्छ फेरि अर्को पाटो पनि छ प्रश्नको, विद्यार्थीचाहिँ प्रश्नबाट उत्तरको अपेक्षा गर्दछ भने अन्य सबै पक्षचाहिँ अर्थ(द्रव्य)को आशा गर्छन् । यहीँनेर कुरोको चुरो अडिएको छ –अन्य पक्षको दृष्टिमा प्रश्न बाँच्न मद्दत गर्ने बहना हो भने विद्यार्थीका हकमा भने छर्लङ्ग हुने जुक्ति ।

त्यसलै समय छँदै भरमार प्रश्न गरौं । नाइँ भनौँ । कतै हाम्रोतर्फबाट पनि यो सृष्टिलाई केही न केही राहत भै हाल्छ कि ? अनि सभ्यता अलिकति नै भए पनि घर्किन्छ कि ?

पेशल आचार्य
espeshal2023@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *