साहित्यमा पनि क्रमभङ्गता !

  • by


क्रमभङ्ग गरौँ । कछुवाको जस्तो सुस्त चालले होइन कि उफ्राइ उफ्रौँ भ्यागुताको जस्तो । छलाङ्ग मारौँ । वर्तमान नेपालको राजनीतिक वृत्तमा थोरै हदसम्म मात्र भए पनि नेपाली साहित्यमा पनि यसको बहस, छलफल वा वाद विवाद चाल्नु आवश्यक भएको ठान्दछु । नेपाली साहित्यमा क्रमभङ्ग गर्ने क्रम नचलेको होइन, नेपाली भाषमा साहित्यको सिर्जना गरेर भानुभक्तले प्रथम चरणको क्रमभङ्ग गरे । संस्कृतको अब छिन्न जगजगी र दवदाव भएको उत्निखेर नेपाली भाषामा साहित्यको सिर्जना गर्नु कम महत्वको र दुष्कर कार्य थिएन नबनेको,कसैले नखनेको बाटो हिँडनु । परम्परागत लेखन क्षेत्रलाई यो एउटा धक्का थियो । जवर्दस्त धक्का । अवश्य खनिए होलान् भानुभक्तमाथि पुरातनवादी लेखक कविहरू । देवभाषाको अवहेलना गरे भनेर ।

लेखनाथले चिल्ला शब्दहरूको हलन्त नभएका प्रयोग गरेर नेपाली भाषामा योगदान दिए । एउटा इँटा थपे । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ”भाषा मासिन जान्छ भाषाहरूमा दौडेर कुद्दा अति” भन्दै भाषिक विद्रोह गरे, स्वभाषाको निर्माण गरे । पागलमा उनी त्यसै दरिएका होइनन् तत्कालीन ब्रुज्रुकहरूको आँखामा । गोपालप्रसाद रिमालले साहित्यको ट्रयाक नै बदले । साहित्यिक पुनर्जागरण ल्याएर नेपाली साहित्यलाई एउटा उचाइमा पुर्‍याए । छन्दोवद्ध कविताको निस्सासिने, साँगुरा गल्लीबाट गद्य कविताको फराकिलो र विशाल फाँटमा चराए । यो एउटा ऐतिहासिक फडको थियो, क्रमभङ्गता थियो विचार शैली दुवै क्षेत्रमा । जीवनको सम्पूर्णतालाई अबस्तर दिनु पर्छ भन्दै आयामेली साहित्यकारहरू ओर्लिए । पुरानो सोच, शैलीका उनीहरूले आक्रमण गरे ।

क्रमभङ्गता नेपाली साहित्यमा नौलो घटना होइन । समय समयमा घटित भइरहेकै घटना हो तसर्थ यसबाट आतिने र डराउनु पर्ने कुनै कुरा छैन । नयाँ शिशुको जन्म भयो, नयाँ जीवनले पाइला टेक्यो भनेर बरू खुसी मान्ने कुरा हो । स्वागत गर्ने कुरा हो ।

लामो समयदेखि हाम्रो साहित्य मस्तसँग सुतिरहेको छ अल्छी मान्दै । हरकत छैन, जोश जाँगर छैन, हिँडिरहेको छ तर सुस्त । जडता छाएको छ । नयाँ दृष्टिकोणको अभाव छ । नवीन भावलाई प्रकट गर्न निश्चित रूपमा नवीन शिल्प र प्रविधिको आवश्यकता पर्दछ । पुरानो प|mेम भित्र त्यो अटाउन सक्दैन । अन्तरिक्षको यात्रा गर्न द्रुतगामी रकेटकै आविष्कारको आवश्कयता पर्छ । ट्रेनले हुँदैन ।राजनीतिक बृत्तमा क्रमभङ्गताको थालनी भएपछि साहित्यले पुरानै ढाँचा भित्र अलमलिएर बस्नु अशोभनीय हो

आजको युग नयाँ युग हो । नयाँ समीकरण र नयाँ ध्रुवीकरणको । नयाँ युगको अन्तरसम्बन्ध र अन्तरद्वन्दलाई साहित्यकारहरूले बुझ्नु मनन गर्नु र आत्मसात गर्नु पर्दछ ।

संसारमा अहिले धेरै नयाँ रोगहरूलेे जन्म लिइरहेका छन् । जसको नाम हामीले पहिले कहिले सुनेकासम्म थिएनौँ । नयाँ रोगको निदानार्थ नयाँ औषधिको आविष्कार आवश्यक छ । धामी, झाँक्री लगाएर वा पुरानै विधिले त्यो सम्भव छैन । क्रमभङ्ग गर्ने साहस, उपि|mने साहस, नयाँ धरातल टेक्न साहसको आवश्यक हुन्छ । पुरानोको मोह गर्नेले पुरातनलाई काखी च्यापेर हिँडनुले परिवर्तनको अनिवार्यतालाई बुझ्न सक्दैन । परिवर्तित परिस्थितिले उसलाई पछाडि छोडिदिन्छ । क्रमभङ्गता भनेको सिर्जनाशीलता, उर्वरताकै पर्यायबाची हो, जो हरेक युगमा एकचोटि आउँछ । हाम्रो समाज अहिले नयाँ परिवेशमा सङ्क्रमित भएको छ । यस नयाँ परिवेशका आˆनै समस्या र अप्ठयाराहरू छन् । त्यो नयाँ परिवेशका बारमा कलम चलाउनु, त्यसका बारे भन्नु आजका साहित्यकारहरूका दायित्व हुन आएको छ ।

हरेक नयाँ विचारले प्रारम्भामा विरोध असहमती र याहाँसम्म कि आक्रमणसमेत खप्नु परेको छ । क्रमभङ्गतालाई सबैले सहज स्वीकार गर्दैनन् । यसले आˆनो औचित्यको पुष्टि गरेर देखाउनु सक्नुपर्छ । समाज जस्तो क्रमभङ्गताको अवस्थामा छ साहित्यमा त्यसको प्रतिविम्बन हुनु अपरिहार्य देखिन्छ । क्रमभङ्ग नगरी आफ्नो अस्तित्वको परिचय पनि हुँदैन । त्यसैले क्रमभङ्ग गरौँ-साहित्य, समाजमा, जीवनको हरेक क्षेत्रमा । क्रमभङ्गताको विकल्प छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *