तिम्रो सामीप्यताका
हरेक पलहरूको हिसाब चाहन्छु म ।
नैतिकताहिन क्षुद्र नजरले
बज्रपात भएको मेरो भविष्य
लाचार र विवश भई
कसरी सहर्ष स्वीकार गर्नसक्छु?
मोडिए होलान् तिम्रा पाउहरू,
बदलिए होलान् तिम्रा विचारहरू,
अनि अर्कैको भावनामा
बनायौ होला आलिसान महल,
मैले दिएका चुरा, पोते अनि
सिंदुर र धागोको मूल्य बिर्सिएर,
फेरि फेर्न चाहन्छौ सिंदुर, पोते
त्यसैले
तिम्रो सामीप्यताका
हरेक पलहरूको हिसाब चाहन्छु म ।
हत्केलामा ठेला उठाएर
पिठ्युमा घाउ पकाएर,
दिएका खुसीहरू पनि त
मूल्यवान थिए होला?
खैर
म अचानो भएँ
तिमी खुकुरी भयौ,
समर्पण दुवैको थियो ।
पीडा मलाई भयो,
आज खुकुरी महलको भित्तामा
सजिएको छ ।
त्यसैले आज अचानो भन्दै छ,
खुकुरीसँग
तिम्रो सामीप्यताका
हरेक पलहरूको हिसाब चाहन्छु म ।
रामचन्द्र रम्तेल “देव”
