केदारजी साँझसाँझ पर्दा मात्र बल्ल आज घर पसे । यता उनकी पत्नीले भने उनको निकैतिर खबर गरिसकेकी थिइन् । अनि कतै पत्तो नलागेकोले तिलमिलाइरहेकी थिइन् ।
“काँ जानु भाको थियो दिउसो भरि ? एउटा फोनसम्म पनि नगरीकन यो के हो चाला ?”
“अफिसमै थिएँ त । यसो काम परेकोले अलिक ढिला भयो ।”
“मैले सबैतिर सोधिसक्या छु, मसँग झूट बोल्नु पर्दैन । कहाँ अफिसमा हुनुहुन्थ्यो हजुर ? मलाई छक्याउनु पर्दैन है । भन्नु, कोसँग छ अचेल तपाईंको…….. ?”
“लौ यो मान्छे ता के के पो भन्न थाली । अचानक उताबाट फोन आयो अनि तिमीलाई खबर नगरीकन म आमालाई लिन गा थें । यो कुरा भनिदिनुहै भनेर असिस्टेन्टलाई भनेको थिएँ भनेन तिमीलाई ? कस्तो रहेछ !”
“आमालाई ? लौ आमालाई पो लिन गएको अरे ? किन नि ल्याउनु पर्यो यहाँ आमालाई ? यो वृद्धाश्रम हो कि के हो हँ ? के ठान्नुभएको छ ? अरु अरु छोरा चैं मरे ? तिनले पाल्न सकेनन् र ल्याउनु पर्ने यहाँ ? जिउनीको भाग चाहिँ उनीहरू हसुर्ने अनि पाल्ने चैं हामीले ? लानुहोस् उतै पुर्याएर आउनुहोस् ।” वचन निकै नै कडा भएकोले केदारजीलाई अलिकति गल्ती पो गरिएछ कि भन्ने पनि लागिसक्यो ।
यसै बेला जिङ्ग्रिङ परेको सुखा कपालले टाउको ढाकिएकी, थोत्रा लुगा लगाएकी अनुहार मुजै मुजा परेकी, पुराना थोत्रा थाङ्ना भन्न सकिने कपडाले सबै अनुहार छोपेकी आमा पनि केदारजीका नजिकै आइपुगिन् । केदारपत्नीले औपचारिकतासम्मको पनि ख्यालै नगरी आमातिर हेर्दै नहेरी भनिरहिन्— “लौ अहिले नै आमालाई पुर्याइहाल्नुहोस् । घरभित्र पसिरहनु पर्दैन । दिउसो भरि कता जानु भएको भन्या ता आमालाई लिन पो रहेछ । भैगो पुर्याएर आइहाल्नुहोस् ।”
“आमा आमा बस्नुहोस् न । यो यस्तै हो । कराउँदै गर्छे नि !” केदारजीले आमाका हात समातेर घर भित्र लान खोजे ।
यसै बेला आमाले बडो आर्त पुकारा गरिन्— ‘भैगो ज्वाइँ साहेब । लो भैगो ज्वाइँ साहेब । म आफैं जान्छु । हजुरले दुःख गर्नु पर्दैन । म सारै अभागी रहिछु । मेरा छोरा मोराहरू ता काम लागेनन् छोरी ता गतिली होली भनेको धिक्कर । हजुरको लागि उपयुक्त पत्नीका रुपमा मैले छोरी दिन सकिनछु । सबै थोक सिकाएकी र संसार जान्ने बुज्ने बनाएर हजुरका हातमा छोरी सुम्पे भनेको ता एक कलङ्क पो भिराएँछु । ज्वाइँ साहेब मलाई माफ गर्नुहोस् । मलाई माफ गर्नुहोस्, म फिरें……..”
मनीषाको कानमा परिचित आवाज लाग्यो र यसो हेरेको ता आफ्नै आमा पो रहिछिन् । अनि भनिन्— “हजुर पनि कस्तो मान्छे । अघि भन्नु पर्दैन हजुरकी आमा नभई मेरी आमा हुन् भनेर ?”
“अब तिमीले आमासँग आफ्नो परिचय गराइहाल्यौ । आफै जे गर्नुपर्छ गर ।” केदारजीले भने । उनको मन पनि पत्नीको व्यवहारले अमिलो भयो ।
आमा यतिबेलासम्म घरबाट केही पर पुगिसकेकी थिइन् । मनीषाले गएर आमालाई फर्काउन खोजिन् उल्टै भए भरको शक्ति निकालेर मनीषाको गालामा आमाले एक झापड दिइन् र रुँदै रुँदै साँझसाँझको अन्धकारमा विलीन भइन् ।
2015-12-29 09:23:56 +0000
