अरुसित जे सुकै बोलौंला
प्रिय पाठक !
तपाईंसित म झूठो बोल्दिन
म
मेरो जीवन रक्षाको निमित्त
यो सहरमा आइपुगें
र
यहाँ यस्तो हल्ला फैलियो
कि मासुबजारमा बोको आइपुग्यो
मेरो निधारमा जयन्ती टीका लगाइयो,
मेरो घाँटीमा-
कथित् बोधिसत्वको रेशमी दाम्लो बाँधियो
र
मलाई डोर्याइयो-
विद्यालय र विश्वविद्यालयका कक्षाहरूमा
पढाउँदा पढाउँदै
मैले मेरो देशका कलिला र नौजवान
अनुहारहरूको केमिष्ट्री
जम्मै पढें
कान्तिबिहीन
र सुश्क प्राय: ती अनुहारहरूमा
कुनै सुन्दर कविता थिएन
बरु
नदीसँगै बगी जानेले
छेउको ढुंगामा छोडी गएको
चप्पलका उदास गीतहरू मात्रै थिए- ती
अनुहारहरूमा
प्रिय पाठक !
म आत्तिएँ,
म लर्बराएँ
मैले मेरा विद्यार्थीहरूको मनको पि. एच.
नाप्न सकिन
मैले तिनका सपनाहरूको सिस्मोग्राफ
बनाउन सकिन
र सोचें –
भोलि बिहानै
मुर्कट्टाहरूको कक्टेल’ पार्टीको निम्ति म
काटिइसकेको हुनेछु
र म काटिंदा नकाटिंदै
मेरा प्यारा सन्ततिहरू सबै
बेचिइसकेका हुनेछन् –
मासुबजारमा
