Skip to content

पुसको सिरेटोमा साहित्यमय मन्थली


मन्थली । जगदीश घिमिरे प्रतिष्ठान, रामेछापको आयोजनामा गएको पुस २५ गते मन्थलीमा ‘जगदीश घिमिरे स्मृति साहित्यिक समारोह’ विविध कार्यक्रमका साथ सम्पन्न भयो । राजधानीमा रहनु भएका एक दर्जन जति स्थापित स्रष्टा र करिब चालिसजना स्थानीय सर्जकको उपस्थितिमा भएको सो कार्यक्रममा विभिन्न स्तर र हाँचका लेखक, कवि, गजलकार र मुक्तककारहरूले आआफ्ना पृथक् धारका कलात्मक सिर्जनाहरू वाचन गर्दै साहित्यकार जगदीश घिमिरेलाई स्मरण गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा कवि डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो सिर्जनामय काव्य संगममा कवि विष्णुविभु घिमिरे, प्राज्ञ तथा समालोचक डा. ज्ञानु पाण्डे, प्राज्ञ मात्रिका पोखरेल, कवि तथा कथाकार किशोर पहाडी, गजलकार ज्ञानुवाकर पौडेल, कवि प्रह्लाद पोखरेल, कवि राजेन्द्र पराजुली, दुर्गा घिमिरे, पवन आलोक, राबत, माधव काफ्ले, पेशल आचार्य, कल्पना प्रकृति, त्रिपुरा पौडेल, डा. सुमन कर्माचार्य, लालबहादुर तामाङ, नवीन गाउँले, रामचन्द्र वियोगी, उद्धवप्रसाद घिमिरे, टीकाप्रसाद भट्ट, नवराज पथिक, बद्री नयाँघरे, कुमारी तामाङ, आङ लामु शेर्पालगायतले आफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो भने सोही कार्यक्रममा साहित्यकार जगदीश घिमिरेको ‘त्रिआयामिक व्यक्तित्वका बारे’मा चर्चित लेखक सुमित शर्मा समिर, लेखक राप्रउ पोखरेल, वरिष्ठ समाजसेवी समीर घिमिरेले भावमय रुपमा प्रकाश पार्नुभएको थियो ।

सोही कार्यक्रममा रचनाका सम्पादक रोचक घिमिरेले जगदीश घिमिरेका हस्ताक्षर सहित अप्रकाशित केही कविताहरू वाचन गर्दै नेपाली साहित्यमा जगदीश घिमिरेको योगदानको वृहत् चर्चा गर्नुभएको थियो । अर्का अभिव्यक्तिका पाका सम्पादक नगेन्द्रराज शर्माले ‘जगदीश आफ्नो भाइ मात्र नभएर साथी पनि भएको र उसको अवसान आफ्ना लागि असह्य घटना भए पनि नियतिलाई सहेर र यस्ता सिर्जनात्मक कार्य गरी जगदीशको सम्झना गर्न पाएकोमा सन्तोष व्यक्त गर्नुभयो ।’

कार्यक्रमको अन्त्यमा रामेछापको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेबापात स्थानीय महिला गणेशकुमारी भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो कार्यक्रममा तासेसका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठ, कान्तिपुर दैनिकका पत्रकार टीकाप्रसाद भट्ट र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले साहित्यकार तथा समाजसेवी जगदीशको बहुआयामिक व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

सोही साँझमा जगदीश घिमिरे प्रतिष्ठानको बैठकले साहित्यकार कमल दीक्षित, साहित्यिक पत्रकारद्वय रोचक घिमिरे, नगेन्द्रराज शर्मा र नेराप्रका उपकूलपति विष्णुविभु घिमिरेलाई सल्लाहकारमा मनोनित गरिएको थियो भने सदरमुकाम मन्थली सर्दा सरकारी अघिग्रहणमा परेको जगदीश घिमिरे जन्मेको घरलाई प्रकृया पुर्याई मन्थली नगर विकास समितिसँग खरिद गर्ने र सो घरमा साहित्यकार जगदीश घिमिरे स्मृति संग्रहालय निर्माण गर्ने सम्बन्धमा नविसलाई अनुरोध गर्ने निर्णय भएको समेत जानकारी सो संस्थाका उपाध्यक्ष गोविन्द घिमिरेले दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानले यहीवर्ष भित्र जगदीश घिमिरे प्रतिष्ठानसँग मिलेर एउटा राष्ट्रिय स्तरको साहित्यिक कार्यशाला गर्ने जानकारी पनि सोही कार्यक्रममा गराइएको थियो ।

रामेछाप जिल्लामा रहेर लामो समयदेखि साहित्यमा क्रियाशील साहित्यकार त्रय रामचन्द्र वियोगी, डा. सुमन कर्माचार्य र पेशल आचार्यले जगदीश घिमिरेको व्यक्तित्व र कृतित्वलाई देशव्यापी बनाउनु पर्ने तथ्यमाथि जोड दिनु भएको थियो । सोही कार्यक्रमको पूर्वसन्ध्या २४ गते साँझ र २५ गते साहित्यकार नगेन्द्रराज शर्मा र कथाकार किशोर पहाडीको उद्भाषणमा ‘दुई साँझे साहित्यिक रचना श्रवणका कार्यक्रमहरू’ राखिएका थिए । जहाँ सहभागी धेरै स्वदेशी र केही विदेशी चिकित्सकहरूले समेत आफ्ना गीत, मुक्तक, अनुभूति र चुटकिला सुनाएर क्याम्प फायरलाई तताएका थिए ।

यस्ता कार्यक्रमहरू गरेर जगदीश घिमिरे प्रतिष्ठानले रामेछापमा साहित्यिक माहोल बढाएको कुरा विस्तारमा तामाकोसी सेवा समितिका कार्यक्रम अधिकृत सुरेश श्रेष्ठ र मन्थली बचत तथा सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीले बताउनु भयो । कार्यक्रमले आफूलाई साहित्यिक ऊर्जा दिएको कुरा पहिलोपटक कविता वाचनमा सहभागी कवि मेनुका श्रेष्ठले बताएकी थिइन् ।

कार्यक्रमको कलात्मक उद्घोषण साहित्यकार तथा कवि पेशल आचार्यले गरेका थिए ।

२०७२-१०-०९ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *