साला यो प्रेम दिवसले पनि
पुराना घटनाहरूलाई बल्झाई दिन्छ
पढ् भनेर पल्टाई दिन्छ आँखै अगाडि
अतितका किरमिर पानाहरू
जस्ले
मलाई तातो बालुवामा छोडेर गएकी थिई ।।
****
यतिबेला फेरि पनि
मेरै हातले सिलाएको चौबन्दी
ब्लाउज र पेटिकोट लगाएर
ठिङ्ग उभिएर कसैलाई पर्खिरहेकी होलि
गुलाफको फूल बोकेर ।।
****
मिजार दाइले बनाएको हिल जुत्ता लगाएर
पट्पट् फुटेका कुर्कुचा छोप्दैमा
सोचेकी होली आफूलाई मोनालिषा
सायद यो उस्को निजी घमण्ड हुनसक्छ ।।
****
कुनै दिन म उनकै अंगालोमा थिएँ
जो आज दोबाटोमा अरू कसैको प्रतिक्षामा छे
यौटा रातो गुलाफ बोकेर ठिङ्ग उभिएकी छे
सायद धिकार्दै होलि आफ्नै जिन्दगीलाई ।।
*****
त्यतिबेला कसम खाएर भनी
ए हजुर मलाई माया गर्नुहोस्
मलाई केवल तपाईंको माया चाहिएको छ
यो हृदयमा तपाईंलाई सजाइसकेकी छु
विश्वास गर्नोस् नगर्नोस्
मेरो लागि तपाईं संसारकै ठूलो मान्छे हुनुहुन्छ
अकस्मात् गुलाफको फुल दिदै भनी
आइ लव यु विक्रम !
मेरो मौनता देखेर गहभरी आँसु पार्दै भनी
मेरो चोखो मायालाई स्वीकार गर्नोस् नगर्नोस्
फैसला अब मात्र तपाईंको हो
तर शंका नगर्नु ममाथि ।।
****
शंका नगरेरै माया गरेँ
मेरो कला निशुल्क उपभोग गरी
मोजमस्ति गरी मेरो परिश्रममा
नपत्याउदो पाराले लुट्दै गई मेरो जवानी
म नजिकिँदै गएँ ऊ टाडिँदै गई
म ऊ विना बाँच्नै नसक्ने भएँ
ऊ म बिना बाँच्न सक्ने भएर गई
भन्थी शुरू शुरूमा म नङ तिमी मासु
म दायाँ तिमी बायाँ, तिमी राम म सीता
खुब चिल्लो घस्ति त्यतिबेला
जबकि ऊ त्यो समयमा बेसहारा थिई
कोही थिएनन् माया गर्ने ।।
****
मलाई छोड्छु भनेर छोडिन
आँखाबाट हटाउछु भनेर हटाइन
मुटुबाट झिकेर ढुङ्गामा बजार्छु भनेर बजारिन
सायद यसरी जिउँदो लास बनाएर जानू अघि
मेरो लास उपहार मागेकी भए
हाँसीहाँसी गरिदन्थेँ मृत्युवरण ।।
****
आज फेरि प्रेम दिवस आएको छ
यही हो मेरो जोडि बनाई दिने
तर खुसी दिन सकेन प्रेम दिवसको मायाले
बरू मुटु चुडेर लगी दिएको छ यतिबेला
अनि कसरी मनाउन सक्छु म प्रेम दिवस
जस्ले ममाथि अन्याय गरेको छ
मलाई दलित भनेर घृणा गरेको छ
खाटै नबस्ने घाउ बनाएको छ ।।
****
यतिबेला होसियार हुनु माया गर्नेहरू
यौटा गुलाफको फूल दिँदैमा माया नगर्नू
हात माग्दैमा हात नदिनू तानेर लडाउन सक्छन्
साथ माग्दैमा साथ नदिनू
हुनसक्छ रंगमञ्चमा
कलाकारले गर्ने माया जस्तो
विश्वास नगर्नुस् यो युगले पढाएका मानिसको
बरू सक्नुहुन्छ मलाई पढेर पाठ सिक्नुहोस्
तपाईंहरूलाई बाँच्ने आधार मिल्ने छ ।।
****
हो मैले नै सिलाएको हो
आज उनीले लगाएको लेहेङ्गा
माझघरका सुनार दाइले बनाएका हुन् औँठी
क्या सुन्दर देखिएला बाहिरी सुन्दरता
तिमी पग्लिन सक्छौ नौनी घ्यू जस्तै
तर होसियार रहनू बुर्जुवाहरूसँग
जस्ले अछुत बनाएर गएकी छे ।।
****
मलाई दलित बनाउने साम्राज्यवादीहरू हुन्
मलाई अछुत बनाउने यी बुर्जुवाहरू हुन्
मान्छेमा जात छुट्याउने
तिमी जस्तै अमान्छेहरू हुन्
यी हेर त !
म तिमी जस्तै छु
रगत तिम्रो जस्तै रातो छ
ममा पनि सुद्द नेपालीपन छ
यौटै हारमा बसेर सयौं थुङ्गा फूलका हामी
गाइरहँदा यस्तो लाग्छ म मान्छे हुँ
कला भाषा संस्कृति भेष भुषा फरक होला
तर ए शासक हो
म बिल्कुल तिमी जस्तै मान्छे हुँ
मात्र तिमी जस्तै ।।
****
बिडम्बना या विवश्ता
कवि हो
ममा यो प्रेम दिवस मनाउने साहस छैन
आज म थलिएको छु पीडाले
घायल बनाई दिएको छ पापी मायाले
मलाई माफ गर्नुहोस्
म रातो गुलाफको विश्वास गर्दिनँ
किनकि मलाई यो फूल पत्थर जस्तो लाग्छ ।।
****
यो प्रेम दिवस गरिबहरूको लागि हैन
कसैलाई माया गर्ने अधिकार नभएको मान्छे
एकचोटि धोका खाएको मान्छे म
त्यसैले फेरि गल्ती दोहोर्याउदिनँ
मलाई यो समाजको भरोसा छैन
आज पनि उहीँ संस्कार छ
सबसब थाहा हुदाहुदै
पैसामा बिक्ने मायाको के भरोसा गरुँ ।।
****
ओ ! प्रेम दिवस
मलाई घृणा गर्नेहरूलाई माया कसरी गरुँ
म ढुङ्गालाई माया गर्छु
माटो खोला झारपातलाई माया गर्छु
मलाई यिनीहरूले कहिल्यै नछो भनेनन्
यो अशिक्षित समाजले जसरी ।।
****
मैले तिम्रै विश्वासमा
एक थुङ्गा फूल दिएर माया गरेँ
त्यो माया बालुवामा पानी जस्तै भयो
खोलाले किनार बनाएर गए जस्तो
बनाएर गएकी छे दूर धेरै दूर
कोही मरेर पनि बाँचिरहेका हुन्छन्
तर म यतिबेला बाँचेर पनि मरिरहेको छु
अब भन् त प्रेम दिवस
यस्तो स्थितिमा तेरो विश्वास कसरी गरौँ ?
*****
विक्रम पवन
बेथान -४- रामेछाप
