Skip to content

ह्याप्पी भ्यालेन्टाइन


मनहरू त सबै प्रेमिल छन्
सीमानाहरूमा जन्जीर बाँधिएको छ
टेक्ने बाटाहरूमा काँडा छरिएका छन्
धेरै सुन्तलीहरू बम्बै सजाएर बसेका छन्
यौन बेचेर विवशताको
कसरी भनौ म ह्याप्पी भ्यालेन्टाइन भनेर
दिने पिच्छे लाम लागेर प्रेमिलहरू
मायाको त्यान्द्रो तोडेर विवशताको
सीमा नाघ्दै छन्
अनि कसरी भनौ म ह्याप्पी भ्यालेन्टाइन भनेर

छोराहरू मरुभूमिबाट बाकसमा
दिने पिच्छे फर्कदै छन्
बुहारीको सिदुर पुछेर
कसरी भनौ म ह्याप्पी भ्यालेन्टाइन भनेर
आमा तिम्रो फुटेको गोडामा मलहम दलेर
एक जोर जुत्ता किन्न सकेको छैन
कसरी भनौ म ह्याप्पी भ्यालेन्टाइन भनेर
जाडोमा निमोनिआ लागेर खोकिरहेका बालाई
एक जोर न्यानो लुगा किन्न सकिन
कसरी भनौ म ह्याप्पी भ्यालेन्टाइन भनेर
टुसाएर मृत्युहरू दलिन छरिएका छन्
रगतका आहालहरूमा दिने पिच्छे
कसरी भनौ म ह्यापी भ्यालेन्टाइन भनेर
न्याय हराएर गोर्खाको डांड़ो पारि सरि सक्यो
मरेको लास उठ्दैन अस्पतालमा सुतेर
कसरी भनौ म ह्याप्पी भ्यालेन्टाइन भनेर
मनहरू त प्रेमिल छन्
विश्वासमा डढेलो लागेको छ
कसरी भनौ म ह्याप्पी भ्यालेन्टाइन भनेर
भर्खरै खुसीहरू पहिरोमा डुबेका छन्
थर थर हाल्लाएर सोतरसँगै
तातोमा घाम ताप्न
सिरेटोमा ओस ओढ्न बाँचेको यो शरीर
कसरी भनौ म ह्याप्पी भ्यालेन्टाइन भनेर
तैपनि कोशिस गर्दैछु सन्चै छ ?
सन्चै छ को भाकामा
ठिकै छ ? ठिकै छ को भाकामा
ह्याप्पी भ्यालेन्टाइन भनेर !!

दमक नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *