Skip to content


‘माया,
ऊ त्यो पहाडको शिरैभरि हेर त,
हो,
त्यो शिरैभरि,
पालुवाहरू पलाउने समय,
गुराँस चकमन्न फुलेको समय,
तिनै गुराँसका थुङ्गा र पालुवाको कोकिल्लामा,
कोईलीले गाउने समय,
त्यो चौतारीमा,
गोठालाले बाँसुरीमा आफ्ना मायालुको गीत गाउने छन्।
कोईली र न्याउलीले,
आफ्ना प्रियतमसँग,
टाढिए देखिको बिरह गाउने छन्,
ती पवनहरू,
बैसाखको यौवनमा मातिदै,
छिल्लिदै,
प्रकृतिसँग म्वाई खानेछन्।
ठिक त्यही समय,
अर्थात,
वसन्त ऋतु,
हो त्यही ऋतुको,
आगमनसँगै म आउनेछु।
फुलेका गुराँसहरूमा मुस्कान भर्न,
हरेक रात आफ्ना मायालुको अँगालो नपाएर,
बिहानी सबेरै रोएका पातहरूका आँशु पुछ्न।
पलाएका पालुवाहरूमा यौवन भर्न।
म आउनेछु,
तिम्रा दिलको बाटो गरेर,
तिमीसम्म,
म आउनेछु।
म अवश्य आउनेछु।
साँच्चै प्रिय,
म अवश्य आउनेछु,
तिम्रो दिलको प्रकृतिको,
वसन्त बनेर,
म अवश्य आउनेछु।
प्रिय, म अवश्य आउनेछु।’
15-11-2072

Leave a Reply

Your email address will not be published. Required fields are marked *