वीरबहादुरले गाउँमै पहिलोपटक विद्रोह सुरु गरेको थियो र ऊ बारम्बार भन्ने गर्थ्यो- ‘हामी जनताको निम्ति लड्नुपर्छ, समानताको निम्ति लड्नुपर्छ, विभेदको विरुद्धमा लड्नुपर्छ……. , सर्वहाराको सहभागिताको लागि लड्नुपर्छ ।’ हातहतियारसहित नै उसका पछिपछि केही युवाहरू पङक्तिबद्ध भएर हिँडेका थिए । उसलाई उसको बुबाले कैयौँपटक तँ यसरी नहिँड नभनेको पनि होइन । तर पनि कसैको कुरा नसुनी ऊ तानाशाहको विरुद्धमा ठाउँठाउँमा युद्ध गर्दै आˆनै बाटो हिँडिरहृयो । बेलाबेलामा उसले घरपरिवारका सदस्यहरूलाई भन्ने गथ्र्यो- ‘म कारणवशः मरे पनि मेरै नीतिका अग्रजहरूले, राष्ट्रले सम्मान गर्नेछ तपाईंहरूलाई अनि सुखका साथ राख्नेछन् ।’ वीरबहादुर यसैगरी हिँड्दाहिँड्दै एकदिन एउटा भिडन्तमा साँच्चिकै शाहदत प्राप्त गरे । नभन्दै उसका साथीहरू पनि हतियारलाई बन्द गरी वार्तामार्फत नै भए पनि सरकारमा गए । अनि ती सन्तान गुमाएका सहिदका परिवारलाई एकदिन ठूलो सहरको चोकमा बोलाएर कमरेड वीरबहादुरको सालिक अनावरण गरे । आजकल तिनै सहिद परिवारका सदस्यहरू सालिकको मुनितिर दिनभरि सामान फिँजाएर पसल गरिरहेका छन् ।
