साहित्यकार जगदीश घिमिरेका विविध सम्झनाहरू लेख्नका लागि ममा धेरै विषयहरू छन् । अँझ खासगरी जगदीश दाइसँगका बसाइहरूलाई कुनै लेपन नै गर्नु पर्दैन साहित्यिक लेखको गुत्थी दिन । जबजब जगदीश दाइ हिउँद्का चिसा दिनमा आफ्ना लेखनका कामहरू लिएर मन्थली आउनु हुन्थ्यो म वहाँलाई पछ्याइ हाल्थेँ । कहिले अलि कडा मिजासमा त कहिले अलि नरम मिजासमा मसँग वहाँ वार्ताका लागि सहज रूपमै प्रस्तुत हुनुहुन्थ्यो । मैले करिब आधा दर्जनपटक वहाँसँग भलाकुसारी अँझ साहित्यिक वार्ताहरू गरेको रहेछु । ती सबैजसो कुनै न कुनै पत्रिकामा छापिएका छन् ।
एकपटक आफ्नै ‘केनन ह्याण्डी क्यामरा’ले एउटा मुभी खिचेर वार्ता पनि गरेको छु । सायद् त्यो मेरो आफ्नो ल्यापटपमा अँझै सुरक्षित हुनुपर्छ । जुनबेला वहाँ ‘अन्तर्मनको यात्रा’ पछिको समीक्षात्मक पुस्तक ‘अन्तर्मन्थन’ को तयारी गर्दै हुनुहुन्थ्यो । त्यसैबेला मैले मेरो अप्रकाशित कविता सङ्ग्रहमा एउटा सानो भूमिका पनि लेखाउन भ्याएँ । जुन भूमिकाले मलाई सन्तोष दिलायो । मैले सो जतनसाथ आफैँमा राखेको छु ।
तर यतिखेरको विषय अलि फरक मेसोको छ । शीर्षक पनि पृथक् ।
शीर्षकका लागि रामेछापस्थित ‘कान्तिपुर’ सम्वाददता टीकाप्रसाद भट्टमा हार्दिक आभार । उपरोक्त शीर्षक मै ‘जगदीश घिमिरे स्मृति साहित्यिक समारोह’ को समाचार भोलिपल्ट (२०७२ पुस २६) को कान्तिपुर दैनिकमा प्रकाशित भएको छ । सधैंँ आफ्नै शीर्षकमा लेख्दालेख्दा लखतरान हुने म आज अलिक सहज महसुस गरिरहेको छु । साथीको समाचार शीर्षकको सापटी शीर्षक पाएर ।
विषयातिरेक भावोच्छलनमा मन तीव्र सुखानुभूतिको अनुभव गरिरहेछ ।
प्रसङ्गहरू अनेकानेक रूपले दिमागमा मुक्त नीलाकाशको खोजी गर्दै कावा खाइरहेछन् । कहाँबाट आरम्भ गरेर कहाँ पुर्याई सन्दर्भलाई बिट मारौं ? अन्यमनस्क भावमा छु ।
—
२०७२ पुसको निगल्दो अन्तिम साता । केही धपेडी र व्यस्तताका बीच साता आफैँमा बित्दो थियो । पुसको २५ गते मन्थलीमा साहित्यिक कार्यक्रम हुने समाचारले मन एक प्रकारले उत्फुल्ल नभएको पनि होइन ।
मन्थलीमा लगभग जाडो हराइसकेको छ । शिशिरका यी मिलिक्क जाने चिसा र छोटा दिनहरूमा राजधानीबाट दिनहूँ धेरै उद्देश्य बोकेर मानिसहरू मन्थली आउनेजाने गर्दा हूनन् । रातोदिन घडीको सुईझैँ व्यस्त भएर पढाउने पेसाले गर्दा हिजोआज त्यति थाहपत्तो पनि पाउन छोड्या छु । मन्थलीमा भएका केही साहित्यिक मनहरू कहिले अनलाइनमा त कहिले अफ लाइनमा भेट हुन्छन् । मैलाई झैँ अरूहरूलाई पनि दालरोटीको चाप र चक्करले गाँजेको हुनुपर्छ । कसैको खुटखबर थाहा हुँदैन । दिन धकेल्यो । केही लेख्यो । पोष्ट गर्यो । छापिएपछि पढ्यो । बस् ।
जिन्दगी आफ्नै तालमा तामाकोसी बगेझैँ अहर्निष र अविश्रान्त बगिरहेछ । कहिलेकाहीँ निबन्धकार माधव काफ्ले मन्थली आए भने फोन गर्छन् । दुईजना भेला भएर रातदिन नभनी साहित्यका कुराकन्था गर्छौं । यसरी हाम्रो साहित्यिक भोक मेटिने गरेको छ ।
चिकित्सकीय पेसामा धपेडीमय जीवन बाँचेका डा. सुमन कर्माचार्यसँग पनि कहिलेकाहीँ मात्र भेट हुन थाल्या छ । वहाँ आफ्नै धूनमा मस्त र व्यस्त मानिस हो । सधैंँ तीन न तेह्रका गफका फाँकी झिकेर बित्थामा झिँगल्न मन लाग्दैन । काम पर्दा भेट हुन्छ । फोनमा कुराकानी । साहित्यिक कार्यक्रम भयो भनेचाहिँ हामी बस्छौं । योजना र पूर्व तयारी गर्छौं । कार्यक्रममा भाग लिन्छौं । नत्र केही सय मीटरको फरकमा बसोबास गर्ने हामी दुईको पनि कहिले महिनौं भेट हुन्न । कथाकार माधव सयपत्री पहिले अलि बाक्लै मन्थली झर्नुहुन्थ्यो । मिठामिठा गफ चल्थे –हामीबीच । अचेल वहाँ पनि कमकम झर्न थाल्नुभयो । भूकम्पपछि वहाँ अलि निराशजस्तो बन्नु भा’को लाग्दैछ –मलाई ।
अहिले त गुल्जार भैरहेछ –मन्थली ।
परारै ‘लजाउँदिन मन्थली’ शीर्षकमा मैले कविता लेखेर स्थानीय पत्रिकामा प्रकाशित गर्दा निकै चर्चा पाएथ्यो । जसमा बद्लिएको मन्थलीका बारेमा विविध कोण प्रतिकोणहरूबाट प्रकाश पारिएको थियो ।
२०७२ पुसको २४ गते साँझ पर्नपर्न लाग्दैछ । अँ, …हामी देवकोटा चोकमा छौं । हामी भनेका निबन्धकार माधव काफ्ले र म । दुई सामान्य साहित्यिक प्राणी ।
मन्थलीको देवकोटा चोक । रामेछापको हेड क्वाटर । अनि मन्थलीको मुटु देवकोटा चोक । यो चोक र बजार सधैंँ घुमिन्छ । पत्रपत्रिका बोकेर साँझतिर डेरामा छिरिन्छ । हातमा ‘नयाँ पत्रिका’ र ‘नेपाल समाचारपत्र’का बिटा बोकेर साविकका दिनझैँ देवकोटा चोकमा लुखुरलुखुर गर्दै थिएँ । एक्कासि निबन्धकार माधव काफ्ले फ्याट्ट भेट हुनुभो । वहाँ र म मन्थलीस्थित नाम चलेको सामाजिक संस्था तामाकोसी सेवा समितिको गेष्ट हाउसतर्फ उक्लियौं ।
आज हाम्रो सहयात्राको मक्सद् थियो –गत पुस २५ गते मन्थलीमा आयोजना हुने जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको ‘जगदीश घिमिरे स्मृति साहित्यिक समारोह–२०७२’ । जुन कार्यक्रममा भागलिन आउनु भएका अतिथि तथा राजधानीका साहित्यकारहरूलाई स्वागत् गर्ने योजना । भेट्ने । बोल्ने । अनि पूर्ववत् सम्बन्धलाई अँझ न्यानो बनाउने चाहना । ऐकान्तिक साहित्यिक यात्रालाई थोरबहुत सार्वजनीकीकरण गर्ने लालसा ।
यो सन्दर्भचाहिँ पुस २४ गतेको ।
रिमरिम साँझ पर्दैछ । आफ्नो बिरानो नचिनिने बेला अलि भैसक्या पनि छैन । हामी दुईजना लेखक तासेसको गेष्ट हाउसमा उक्लिँदा राजधानीबाट आउनुभएका सबै अतिथि आइपुग्नुभएको रहेछ । एकएक गर्दै भेट भयो । अभिवादन साटासाट र नमस्कारको विनिमयपछि हामी लाग्यौं किशोर पहाडी, पवन आलोक र कवि रावतको विश्राम कोठातर्फ । किशोर दाइसँग सामान्य भलाकुसारी पछि कवि राबतसँग चिनाजान भयो ।सँगै रहनु भएका पवन आलोकसँग पनि किशोर दाइले नै परिचय गराइदिए पछि एकै छिन भा’पनि गफियौँ । अनि आफ्नो बिरानो नचिनिने साँझ त्यसपछि पो पर्यो ।
झमक्क गाढा साँझ हाम्रा आँखा अगाडि झर्दा नझर्दै सबै अतिथि र हामी स्थानीय साहित्यकारहरू गुरुरुरुरु तल आँगनमा झर्यौं ।
निबन्धकार माधव काफ्ले ‘अभिव्यक्ति’का सम्पादक नगेन्द्रराज शर्मा र ‘रचना’का सम्पादक रोचक घिमिरे दाइसँग गफिन अलि पर जानुभयो । हामीले किशोर दाइको क्यामेराबाट केही थान फोटा फटाफट खिँच्यौ । विगत् र वर्तमानका साहित्यिक भलाकुसारी भए । केही अनौपचारिक र केही औपचारिक । मलाई किन किन औपचारिकभन्दा अनौपचारिक गफमय भेट नै खँदिला र रसपरक लाग्छन् । अँझ त्यहाँ त मेरो हृदयले मन पराएका साहित्यिक सम्पादकद्वय हुनुहुन्थ्यो –नगेन्द्रराज शर्मा र रोचक घिमिरे ।
तल ओर्लंदा खुलासभा हलको आँगनमा क्याम्प फायरको तयारी भैसकेको रहेछ । महफिल क्रमश: जमिहाल्यो । अघिल्ला वर्षहरूमा जबजब जगदीश दाइरहनुहुन्थ्यो त्यो बेला वहाँकै नेतृत्वमा खाजापानी र बिजुलीसर्वत खाँदै कवि, लेखक र साहित्यकारहरू बेधड्क आआफ्ना तुक्का, अनुभव, मुहावरा र मुक्तक साथै कवितामा जम्न थालिहाल्थे । जसले हिन्दी उखान ‘सूर्य अस्त लेखक मस्त’ भन्ने मुहावरालाई तरोताजा गर्दै पुन:स्मरण गराउँथ्यो ।
आज पनि साविकझैँ एकथान उखान त थियो तर मेरा प्रिय जगदीश दाइ भने थिएनन् । मनले खोज्यो । चारैतिर । तब आउँछन् । अब आउछन् । घुम्लुङ्ग सिरकै बोकेर आएका थिए परारको पोहोर । याने अडसठ्ठी सालतिर । माने अँझ उनान्सत्तरी सालतिर । बिरामी भएकाले उनलाई सिरक सुहाएको थियो । हामीचाहिँ जिउ तताउन भित्री सिरकमा दिलचस्पी दिन्थ्यौं । पेग थप्न अराउँथे –उनी । हामी हच्कीहच्की भएपनि उनलाई भेउ नदिइकन दुईतीन र चार हुँदै पेगको उकालो उकालीन्थ्यौं । अनि कविताका सरिता बग्थे –क्याम्प फायरका वरिपरि । जसमा कोही उड्थे । कोही हिँड्थे । कोहीकोही भने घस्रन्थे ।
म केमा पर्थें । सो त्यहाँ हुने महफिलमा आधारित हुन्थ्यो ।
यसपटक त्यो उज्यालो कदको मानिस सायद् यस्तै अँध्यारो गर्तमा कतै हराएको थियो । टाठा आँखाले डिठ्याएर खोजे पनि उसलाई सशरीर र प्रतिछँयामा पनि नपाएपछि मनले मनलाई बुझाउँदा मैले आफूलाई एकथान प्लाष्टिकको कुर्सीमा बसाइसकेको पाएँ । जसको बाँयाँतिर कथाकार राजेन्द्र पराजुली र दाँयातिर कवि राबत थिए । यसो मुन्टो बटारेको त दुवै दोस्रो पेगमा पुगिसकेछन् । अब छचल्किन लाग्दै थिए ।
यस्तो माहौलमा म साहित्यिक खुराब दिन केही सङ्कोच मान्छु । बरू लिन मै सादन्दको अनुभूत गर्छु । जीवनमा लिँदा सुख कि दिँदा आनन्द अहिलेसम्म म रनभुल्लमा परिरहेको छु । खोजीको यात्रा जारी छ । गन्तव्यको मेसो पहिल्याउन सकेको छैन ।
—
तर यसपटक त्यसो भएन । भएनभन्दा जगदीश दाइले कुनै उद्घोषण गर्नु भएन । कसैलाई मृदु भावमा हपार्नु पनि भएन । अनि दिल्लगी गर्दै दिल खोलेर हाँस्नु पनि भएन । पछि फेरि यता मनले मनलाई बुझायो । वहाँ हामीलाई छाडेर २०७० कार्तिक १४ गते नै लामो यात्राका यात्री हुनु भएकाले वहाँका सहोदर दाइ तथा नेपालका जानेमाने पुराना साहित्यिक सम्पादक नगेन्द्रराज शर्माले वहाँकै शब्दमा ‘अराजक कवि गोष्ठी’ को उद्घोषण संभाषण गर्नुभयो ।
यो वर्षको संभाषण नगेन्द्र दाइको रह्यो । जसले जे सुनाए नि हुने तर मर्यादित र पालो मिच्न भने नपाइने । अराजकताभित्र पनि केही थान राजकताका फाँकीहरू । कास् ! त्यो महफिल टेपमा रेकर्ड भए त्यसलाई लेखनी गर्दा केही अगम्य गम्यताका विषयहरू हुन्थे । कसैको यसमा होश आएन । म पनि त्यसैमा परेँ ।
पछि म भावविभोर भएँ । हातमा खाजाको सेट छ । मलाई मेरो म भित्रको लेखकले भन्यो –‘हैन, यो उभिने मानिस नगेन्द्र नभएर जगदीश भए हुने नि एकछिनका लागि । किन कहिलेकाहीँ झुटो पनि साँचो बन्दैन ? जगदीशले यसरी भने कति आनन्द आउँथ्यो । हगि ।’ म यस्तो सोच्दो रहेछु । तर साँचो साँचो नै हो त्यो कहिल्यै झुटो हुँदैन । अनागत सत्यांशमा परिणत भैदियो त्यसबेला । मेराअघि हाम्राअघि अनि सबैका अघि ।
उता बोल्दाबोल्दै नगेन्द्र दाइका गला रसाए । उनी भन्दै थिए –‘जगदीशका बारेमा बोल्न मलाई गाह्रो हुने गर्छ । ऊ मेरो भाइ मात्र नभएर साथी पनि थियो ।’ विनोद रञ्जन विशेषणका धनी मेरा नगेन्द्र दाइका आँखा बाढी आएको तामाकोसीझैँ टिलपिलटिलपिल भएपछि मैले मेरो भागमा परेको झोल सुरुप्प पारेँ ।
शुरू भयो । पिउने र सुनाउने क्रम । नपिउनेहरू पनि धेरै हुनुहुन्थ्यो । जसले डिउ र कोकमा हामीलाई साथ दिनुभयो । साहित्यकार जगदीश घिमिरेकी धर्मपत्नी तथा वरिष्ठ समाजसेवी दुर्गा घिमिरे सो जमघटमा उपस्थित हुनु भएकाले साथै नेपालका स्वनामधन्य अन्य केही लेखक र कविहरूको सघन उपस्थिति समेत भएकाले हामी स्थानीय स्रष्टाहरू पनि सो क्याम्प फायरमा संलग्न भयौं । अदप राखेरै ।
निबन्धकार माधव काफ्ले नपिउने । म कथाकार राजेन्द्र पराजुली सँगैको आसनमा छु । अबचाहिँ साँच्चै शुरू भयो कवितात्मक महफिल । बीचबीचमा मलाई मन्थलीका युवा कथाकार प्रकाश परिष्कारको फोन आइरह्यो । उनले सो साँझ मलाई उनको आयोजनामा भएको खानामा बोलाएका थिए । त्यही दिन केही समय पहिले युवाकवि उद्धव आचार्य अविचलले पनि खाना खानै बोलाएका हुनाले म तीनतिरको मेहमान भएको थिएँ । अन्त्यमा मैले उद्धव अविचलको निमन्त्रणालाई कुनै दिनका लागि थाती राखे भने प्रकाशको निमन्त्रणालाई नाइँनास्ती गर्न सकिनँ । सो कुरा मैले राबतका कानमा खुसुक्क भन्न पनि भ्याएँ –‘लोकल खान जाने हो ? कविजी ?’ मुस्कानसाथ उनले टाउको हल्लाए । प्रत्युत्तरमा जति हल्लिनु पर्ने टाउको उनको हल्लिएन । बरू कपाल पो हल्लियो ।
अब भने क्याम्प फायरले ब्रोड गेज लिकमा कुदेको रेलको गति लियो । हामी भने टिकट नकाटी चढेका यात्रुझैँ थियौं । कुनै पनि बेला टिटीको दचकले उत्रिनु पर्नेजस्ता । हामी भनेको खासगरी –म । मलाई अलि हतारो थियो । फोनका फोन आइरहेथ्यो । अनि माधव काफ्ले र म उत्रियौं । उहाँ छोराको आवासतिर जानुभयो । म प्रकाशको मेहमान हुन होटल गएँ ।
अलि अघि । लगभग साढे आठ बजेसम्म हामी सो क्याम्प फायरमा सहभागी भयौं । सो समयसम्म गजलकार ज्ञानुवाकर पौडेलले तीन पेग बजाई सक्नुभएको थियो । वहाँका गजलमध्ये ‘कात्रोमा गोजी किन राख्छौ ?’ भन्ने गजल स्रोतामाझ आइसकेको थियो । बीचबीचमा छन्दकवि प्रह्लाद पोखरेलका छन्द कविता, सम्पादक रोचक घिमिरे दाइका पुरानो स्मरण (जो माष्टर रत्नदास प्रकाशका सन्दर्भमा थियो) सो पनि सुनियो । अनि राप्रउ पोखरेलका ऐतिहासिक स्मरण सुन्दै सो साँझ आफूले भने केही पनि सुनाउन पाइएन ।
नौ बजे तामाकोसी सहकारी अस्पतालका चिकित्सक डा. केशवसिँह धामीको अनुरोधलाई टार्न र हार्न नसकी म मोबाइलको बेट्री सिद्धिएकाले पहिले मेरो डेरा र पछि सो डेराबाट लघुकथाकार प्रकाश भाइको मेजमान खान गएँ । हामीले प्रकाश आयोजक भएको भोजमा नौ बजेदेखि पूरापूर दुई घन्टा तीनजनाका बीचमा महफिल जमायौं । आफ्नो सेड्युल अनुसार म एघार बजे आरामका लागि सुतेँ ।
—
अलार्मसँगै भोलिपल्टको दैनिकी मेरो चार बजे शुरू भयो । भोलि भनेको २५ गते थियो ।
बिहानी हिँडाइका लागि मन्थली स्कुलका पुराना गणित शिक्षक मित्र धर्मेन्द्र यादवसँग प्रात:कालीन हिँडाइ हुने क्रम त्यो दिनका लागि भने रोकियो । उहाँ सधैंँ मलाई चारबजे नै फोन गरेर उठाउनु हुन्थ्यो तर त्यो दिन म एक्लै भएँ । अचेल किनकिन मलाई एक्लै बस्न, एक्लै हिँड्न आनन्द आउँछ । न कसैलाई सोध्नु पर्ने । न कसैलाई भन्नु पर्ने । ‘जि चाहा चलो ।जी चाहा बसो ।’ कवि टेगोरको अभिव्यक्ति जस्तो ‘एकला चलो रे । एकला चलो रे । एकला चलो रे ।’
म मन्थली कुनाउरीतिरको बाटैबाटो करिब तीन किलोमीटर जति हिँडेपछि डेरामा आएँ । सोही दिन मन्थलीस्थित मेरो आफ्नै कार्यस्थल मन्थली उमाविको मिडिया हलमा नेपाल शिक्षक संघको जिल्ला प्रतिनिधि सभा आयोजना भएको थियो । जगदीश घिमिरेको स्मृतिमा भएको साहित्यिक समारोह र शिक्षकहरूको कार्यक्रम एकैदिन र एकैजसो समयमा परेकाले सो शिक्षकीय सभामा उपस्थित हुने अवस्था नदेखेपछि मैले बिहानको नुहाइधुवाइ आफ्नै स्कुलमा गरेँ । केहीछिन जिल्ला प्रतिनिधि सभामा आएका शिक्षक नवागन्तुकहरूसँग परिचय साटासाट पनि भयो । जिल्ला प्रतिनिधि सभा बिहान दसबजे उद्घाटन हुने र ‘जगदीश घिमिरे स्मृति साहित्यिक समारोह’ बिहानकै एघारबजे हुने भएकाले मलाई दुवैतिरको कार्यक्रममा उपस्थित हुन असजिलो भयो । मैले संघका जिल्ला अध्यक्ष नवराज घिमिरेसँगको सल्लाहमा जिल्ला प्रतिनिधि सभामा उपस्थिति जनाएर जगदीश घिमिरेको स्मृतिमा भएको कार्यक्रममा पूरा समय बिताउने राय मागेँ । म साहित्यिक कार्यक्रममा सहभागी भएँ । जहाँ दिनभरि रमाएँ । रौसिएँ ।
साहित्यसँगको मेरो ३५ वर्षभन्दा बढीको ‘वान्साइड लभ’ छ । म पढ्न, लेख्न र सुन्न औधी मन पराउँछु । उम्दा र रमाइला सामग्री पाएँ भने दिन बितेको पत्तो पाउँदिन । लेख्न पाएँ भने र कसैले झिँगलेन भने कैँयौं रात सुटुक्कै बित्ने गरेका छन् । अनि कर्णप्रिय सुन्न पाउँदा एक्टिभ स्रोता भएर कसैका मनोहारी र अन्तर्य भएका साहित्यिक ज्ञानमय सिर्जना भलिभाँती सुन्छु । यसरी मैले मेरो शरीरलाई दुई बीसा आठ वर्ष बूढ्याँइसकेँछु ।
अँझ यसरी नै भावी दिनहरू सुलुलुलुलु जाऊन भन्ने मेरो रहर छ ।
अघिल्लो दिन २४ गते नै साहित्य सम्पादनमा दम भएका तर दम्भ नभएका ऋषितुल्य नेपाली साहित्यका साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरे दाइलाई अभिभावकीय अभिवादनमय ढोगपछि क्रमश: छन्द कविताका पारखी प्रह्लाद पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कवि डा. विष्णुविभु घिमिरे, प्राज्ञ तथा समाचोलक डा. ज्ञानु पाण्डे, प्रतिष्ठानका गद्यविभाग प्रमुख तथा कवि मात्रिका पोखरेल, युवा पुस्ताका प्रखर कथाकार राजेन्द्र पराजुली, गजलकार ज्ञानुवाकर पौडेल, वहाँकी धर्मपत्नी त्रिपुरा पौडेल, लेखक राप्रउ पोखरेल, जगदीश घिमिरेका कान्छा भाइ समिर घिमिरे, उहाँका छोरा सुमित शर्मा समिर, नगेन्द्र दाइका छोरा प्रणयराज घिमिरे, अर्का ज्यूँदा युवाकवि राबत र प्रतिष्ठानकी अध्यक्ष तथा समाजसेवी दुर्गा घिमिरे सबैसँग कासन अनुसारको अभिवादन साटिएथ्यो ।
भोलिपल्ट २५ गतेको साँझको खानपिनकै कार्यक्रममा मैले नगेन्द्रराज शर्माका छोरा प्रणयराज घिमिरे (जो अत्यन्त रसिक पाराका र भद्र पनि हुनुहुँदो रहेछ ) र नगेन्द्रराज शर्माका कान्छा भाइ समाजसेवी समीर घिमिरेका छोरा तथा चर्चित लेखक सुमित शर्मा समिरको अदवीपना र रसिक शैलीको जमेर ऐकान्तिक प्रशंसा गरेको थिएँ । दुवैजना पिउनचाहिँ पिउने तर बाबुहरूको लहरमा बसेर होइन पछिल्लो लहरमा मौन अनि चुपचाप शैलीमा ।
वाचाल कला मलाई औधी मन पर्छ । म कहिले बाबुहरूसँग रसिक हुन्थे भने कहिले छोराहरूसँग गफैगफमा बत्तीन्थे । एकातिर इतिहास हुन लागेका बाबुहरूसँग केही सिक्नु थियो भने अर्कोतिर झर्झराउँदा वर्तमानसँग एकाकार गर्ने लालसा ममा पन्पिएको थियो ।
दिउँसो औपचारिक साहित्यिक कार्यक्रम भयो । जुन भव्य र सभ्य रूपमा भयो । मैले नै उद्घोषण गरेँ । धेरैले बोले । जतिले बोले सबैले राम्रो बोलेथे । यति राम्रो कार्यक्रम भयो भन्ने सुनियो कि राबत र पवन आलोक दाइले ‘तपाईं त रेडियोको एङ्कर हो ?’ भनेर मलाई जिस्क्याउने काम पनि भयो । मैले‘ होइन होइन’ भन्दै हाँसेर टारिदिएँ ।
त्यो पच्चीस गते साँझको क्याम्प फायरको ‘अराजक कवि गोष्ठी’को संभाषण अख्तियारीचाहिँ नगेन्द्र दाइले कथाकार किशोर पहाडी दाइलाई दिनुभयो । सबैले केही न केही सुनाए । एकजोडी फ्रेन्च डाक्टरले आफ्नो भाषाको गीत सुनाए । हामीले नबुझे पनि बुझेको भाव र भाषामा ताली लगायौं । गीतसंगीतको कुनै भाषा हुँदैन भन्ने कुरा पनि त्यहाँ फेरि एकपल्ट पुनरुक्ति भयो ।
कस्तो संयोग दुई पुस्तासँग बसेर पिइयो । मजाले आँत खोलेर । दिलबाटै बोलेर । त्यो संयोग जुराइदिने जगदीश घिमिेर प्रतिष्ठानलाई मुरीमुरी धन्यवाद ।
सो कार्यक्रममा विभिन्न लेखक, कवि, गजलकार र मुक्तककारहरूले आआफ्ना पृथक् धारका सिर्जनाहरू वाचन गर्दै साहित्यकार जगदीश घिमिरेलाई विविध कोण र प्रतिकोणबाट स्मरण गरेका थिए ।
सो माहौल हेर्दा यस्तो लाग्दथ्यो –‘जगदीशको गोहो पछ्याउँदैछ मन्थली’ । मैले जगदीश घिमिरेसँगका धेरै ऐकान्तिक क्षणपलहरू त्यही खुला सभाहल र उहाँको लेखन शिविर रहेको गेष्ट हाउसमा गरेको छु । करिब २०६८ सालतिरको एक हिउँद हुनुपर्छ । वहाँ ‘सकस’ को साफी लेखनका लागि मन्थली आउनु भएको थियो । मैले लामो र लिखित अन्तर्वार्ता गरेथेँ । मैले सो वार्ता वहाँको जीवनकालमा प्रकाशित गर्न पाइनँ । पछि वहाँ बित्नुभएको पर्सिपल्टको ‘कमाण्डर पोष्ट’ (२०७० कार्तिक १६ गते ) को शनिबासरीय अङ्कमा मित्र तथा साहित्यकार व्याकुल पाठकजीको सहयोगमा छापियो । फुल पेज अन्तर्वार्ताका लागि मैले जगदीश दाइलाई जसरी कर गरेको थिएँ त्यसैगरी व्याकुलजीले मलाई कर गरेर त्यो इमेलमार्फत् लिई छापेका थिए । मैले जगदीश दाइसँग लिएको सोही अन्तर्वार्ता नै मेरा लागि वहाँको पछिल्लो वार्ता रह्यो । जहाँ उहाँले धेरै गहिरा साहित्यिक गन्तव्यहरू पहिल्याउने जमर्को गर्नुभएको छ । सोही वार्ताको सम्पादित अंश केही समयपछि बेलायतबाट निस्कने वेभ साहित्यिक पत्रिका ‘समकालीन’मा निस्किएको थियो ।
—
२५ गतेको शनिबारको साहित्यिक कार्यक्रम भने नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा कवि डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएथ्यो । सो सिर्जनामय काव्य संगममा कवि विष्णुविभु घिमिरे, प्राज्ञ तथा समालोचक डा. ज्ञानु पाण्डे, प्राज्ञ मात्रिका पोखरेल, कवि तथा कथाकार किशोर पहाडी, गजलकार ज्ञानुवाकर पौडेल, कवि प्रह्लाद पोखरेल, कवि राजेन्द्र पराजुली, दुर्गा घिमिरे, पवन आलोक, राबत, माधव काफ्ले, पेशल आचार्य, कल्पना प्रकृति, त्रिपुरा पौडेल, डा. सुमन कर्माचार्य, लालबहादुर तामाङ, नवीन गाउँले, रामचन्द्र वियोगी, उद्धवप्रसाद घिमिरे, टीकाप्रसाद भट्ट, नवराज पथिक, बद्री नयाँघरे, कुमारी तामाङ, आङ लामु शेर्पालगायतले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए । सो कार्यक्रममा साहित्यकार जगदीश घिमिरेको ‘त्रिआयामिक व्यक्तित्वका बारे’मा चर्चित लेखक सुमित शर्मा समिर, लेखक राप्रउ पोखरेल, वरिष्ठ समाजसेवी समिर घिमिरेले भावमय रूपमा प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा ‘रचना’का सम्पादक रोचक घिमिरेले जगदीश घिमिरेका हस्ताक्षरसहित अप्रकाशित केही थान कविताहरू वाचन गर्दै नेपाली साहित्यमा जगदीश घिमिरेको योगदानको वृहत् चर्चा पनि गरे । ‘अभिव्यक्ति’का पाका सम्पादक नगेन्द्रराज शर्माले ‘जगदीश आफ्नो भाइ मात्र नभएर साथी पनि भएको र उसको अवसान आफ्ना लागि असह्य घटना भए पनि नियतिलाई सहेर र यस्ता सिर्जनात्मक कार्य गरी जगदीशको सम्झना गर्न पाएकोमा सन्तोष व्यक्त गर्नुभयो ।’
कार्यक्रम अन्त्यमा रामेछापको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेबापात स्थानीय महिला गणेशकुमारी भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो कार्यक्रममा तासेसका अध्यक्ष गुञ्जबहादुर श्रेष्ठ, कान्तिपुर दैनिकका पत्रकार टीकाप्रसाद भट्ट र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले साहित्यकार तथा समाजसेवी जगदीशको बहुआयामिक व्यक्तित्वका बारेमा प्रकाश पारे ।
सोही साँझमा जगदीश घिमिरे प्रतिष्ठानको बैठकले साहित्यकार कमल दीक्षित, साहित्यिक पत्रकारद्वय रोचक घिमिरे, नगेन्द्रराज शर्मा र नेप्रप्रका प्राज्ञ ज्ञानु पाण्डेलाई जगदीश घिमिरे प्रतिष्ठानको सल्लाहकारमा मनोनित गरिएको थियो । सदरमुकाम मन्थली सर्दा सरकारी अघिग्रहणमा परेको जगदीश घिमिरे जन्मेको घरलाई प्रकृया पुर्याई मन्थली नगर विकास समितिसँग खरिद गर्ने र सो घरमा साहित्यकार जगदीश घिमिरे स्मृति संग्रहालय निर्माण गर्ने सम्बन्धमा नगर विकास समितिलाई अनुरोध गर्ने निर्णय समेत भएको जानकारी सो संस्थाका उपाध्यक्ष गोविन्द घिमिरेले दिनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानले यहीवर्ष भित्र जगदीश घिमिरे प्रतिष्ठानसँग मिलेर एउटा राष्ट्रिय स्तरको साहित्यिक कार्यशाला गर्ने जानकारी पनि सोही कार्यक्रममा गराइएको थियो । रामेछाप जिल्लामा रहेर लामो समयदेखि साहित्यमा क्रियाशील साहित्यकारत्रय रामचन्द्र वियोगी, डा. सुमन कर्माचार्य र पेशल आचार्यले जगदीश घिमिरेको व्यक्तित्व र कृतित्वलाई देशव्यापी बनाउनु पर्ने तथ्यमा जोड दिएका थिए ।
यस्ता कार्यक्रमहरू गरेर जगीश घिमिरे प्रतिष्ठानले रामेछापमा साहित्यिक माहोल बढाएको कुरा विस्तारमा तामाकोसी सेवा समितिका कार्यक्रम अधिकृत सुरेश श्रेष्ठ र मन्थली बचत तथा सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीले बताउनु भयो । कार्यक्रमले आफूलाई ‘साहित्यिक ऊर्जा दिएको’ कुरा पहिलोपटक कविता वाचनमा सहभागी कवि मेनुका श्रेष्ठले बताइन् ।
पेशल आचार्य
महालक्ष्मी नपा –१०, टीकाथली, ललितपुर ।
हाल : मन्थली, रामेछाप ।
मोबाइल : ९८४४०४४०८३
