Skip to content


घुम्दै जाँदा,
काठमाडौँमा,
सडकको कुनामा,
काँचा फालिएका दाउराहरू बटुलेर,
आगो फुक्दै,
पसिनाको घोका पोलेर,
बेचिरहेका देखेँ।
तिनै पसिनाको घोको,
किनेर खाएँ,
खाएपछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।१।।

डिस्को, दोहोरी र रोदिघर जाँदा,
रेष्टुरेण्ट, गेष्टहाउस र होटल छिर्दा,
नाङ्गा, शुकिला र कलिला,
युवतीहरू देखेँ,
तीनीहरू पनि आफैलाई बेचिराखेका देखेँ,
आफूले पनि किनेर उपभोग गरेँ,
उपभोग गरेपछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।२।।

ठूला र चिल्ला महलहरूका,
कुनामा फालिएका,
फोहोरको डँगुरमा,
प्लाष्टिक, शिसा तथा बोतल,
किताब, काँच तथा कागज,
छान्दै बटुल्नेहरू देखेँ,
एक पटक दुर्गन्धित फोहोरमा उभिएर हेरेँ,
उभिए पछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।३।।

बजार बजारमा,
चोक चोकमा,
फुटपाथमा,
थोरै ज्यालामा,
आफूभन्दा ठूला पसिनाको भारी,
एक ठाउँबाट अर्कोमा सार्दै,
आफू भोकै बसेर,
अरुलाई बचाई राखेको देखेँ,
एक पटक भोकै बसेर हेरेँ,
पसिनालाई बगाएर हेरेँ,
भोकै बसेपछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।४।।

आफूभन्दा हजारौँ गुणाको बस्तु,
आफू जहाँ थियो त्यहीँ रहेर,
यात्रुहरूलाई गन्तव्यसम्म पुग्न,
हरक्षण एक ठाउँबाट अर्को ठाँऊ,
सारिरहेका देखेँ,
एकपटक आफूलाई पनि दाँजेर हेरेँ,
दाँजेपछि अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।५।।

एक पटक सम्झिएँ,
मेरो गाउँ,
जहाँ,
हलोले चट्टान फोर्दै,
पसिनामा माटो भिजाँउछन्,
हिलो पार्छन्,
त्यही हिलोमा युवतीहरू,
आफ्ना बैँस र पसिना रोप्छन्,
लहलाँउछन्, फुलाँउछन्,
फलाँउछन् र झुलाँउछन् पनि।
यी सबैकुरा सम्झेर हेरेँ,
सम्झदा सम्झदै,
एक पटक अडकल लाएँ,
बास्तबमा तिनीहरूले नै देश,
बचाई राखेको पाएँ ।।६।।

२८-फाल्गुन २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *