Skip to content


बुढाबुढीमात्र छौं गाउँमा
छोराछोरीहरू छैनन्
सखारै
चराजस्तै चिर्बिराउने
नातिनातिनाहरू छैनन् ।

आँगनको डिलमा फूल छ
तर टिप्ने कलिला आँखाहरू छैनन्
त्यो अम्बाको बोट
जसमा चरासँगै झुत्ती खेल्दै हुर्किएथे
केटाकेटीहरू
त्यो पाक्दै खस्दै गर्न थालेको पनि वर्षौं भयो

बिहान जसरी रित्तो ब्यूँझन्छ
उस्तैगरी सुत्छ
रित्तो रित्तो साँझ

डाँडामै छाडेर डाँडामाथिको घाम
आफैं अनाथ भएका छन् शहरमा छोराछोरीहरू
आउँछन्,
अभावले चिथोरेको अनुहार देखाउँछन्, जान्छन्
एउटा कैदीजस्तै जिन्दगी दिन्छु,
हिँड् भन्छन्
वनै मग्मगाउने वनफूल गमलामा सजाउँला ठान्छन्
पिँजडाको लोभ देखाउँछन्
गाउँ ब्यूँझाएर कहिल्यै नथाक्ने चरालाई

यी डाँडापाखाहरू
टारी फाँटहरू
जंगल-चौतारीहरू
अनि बाँडेर कहिल्यै नरित्तिने मन
कसरी अटाऊँ
उनीहरूको साढे दुईआने शहरमा ?

बाँच्नुको दुःख बिल्कुलै छैन यता
पोथ्राको गुँड हेरेर पनि
जिन्दगी चलेकै छ
– बच्चा काढ्छन्
– मुखको गाँस खुवाउँछन्
– उडाउँछन् हाँगाहाँगा पछ्याउँदै
त्यही हाँगामा तुर्लुङ्ग झुन्ड्याइदिन्छन् अन्तिम श्वास
तथापि आश गर्दैनन् बच्चाहरूसँग ।

बूढीलाई
रातो लगाएरै मर्ने रहर छ
उसको जीवनको रङ खोसेर
उडिहाल्ने पो हुँ कि जस्तो हुन्छ कहिलेकहिले
उस्तै त्रास भक्कानो बाँधेर बर्बराइरहन्छु,
‘भित्रिएकी थिइस् तँ अघिअघि
बाहिरिने पालो मेरो अब’

जति बूढो भएनि नसुक्ने पसिनाको गन्ध उस्तै छ
जति हिउँद खेपेनि उर्लिरहने आँसुको भेल उस्तै छ
एकअर्काका ससाना दुःखहरूसँग
जिस्किरहन्छौं, झस्किरहन्छौं
तर, श्वास छउन्जेल
यो मन्दिर छाडेर कतै जाँदैनौं ।

यौटा पशुपति म उनको यतै छु
यौटी गुह्येश्वरी उनी मेरी यतै छिन् ।

मधुपर्क २०७२ कात्तिक
पूर्णाङ्क ५५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *